गरिबको त चमेली कोही छैन... !
ठेला खोसिएकी मञ्‍जुको संघर्षपूर्ण जीवनकथा
फरकधार / १ माघ, २०७७

काठमाडौं : हिजोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा नगर प्रहरीहरु सडकबाट जवरजस्ती केही रित्ता ठेला र फलफूल बोकेको साइकल उठाएर गाडीमा हालिरहेको देख्न सकिन्छ। त्यही भिडियोमा केही मानिसहरु नगर प्रहरीको व्यवहारलाई लिएर आक्रोश पोखिरहेको हेर्न सकिन्छ। उनीहरु भनिरहेका छन्, 'छाडिदिनुस् एक चोटिलाई, उनीहरुको सामान किन समातेको? गरिबलाई गरिखान नदिने है?' 

नगर प्रहरीले पेट पाल्ने साथी आफ्नो ठेला खोसेर लगेपछि त्यही भिडियोमा एकजना महिला गहभरि आँसु पार्दै गरेको देखिन्छिन्। गहका आँसु पुछ्दै उनी नगर प्रहरीसँग बिलौना गरिरहेकी हुन्छिन्। तर उनको आँसु र रुवाइले नगर प्रहरीलाई छुँदैन। जबरजस्ती उनको ठेलासहितका सामान नगर प्रहरीले मिनी ट्रकमा हालेर लैजान्छन्। 

हेर्दा हेर्दै गरिखाने भाँडो लुटिएपछि ती महिला भक्कानिँदै केही भन्न खोज्छिन्, तर उनको बोली फुट्दैन अनि दुई हातले आँसु पुछ्न थाल्छिन्। ‘यस्तो पनि हुन्छ, हामी हिँड्या भए, बेच्या भए एउटा कुरा ! घरमा राखेको ठेला पनि किन समातेको?’ उनले बोलेको यति मात्रै बुझिन्छ।

ठेला खोसिएपछि रोइरहेकी ती महिलालाई कसैले ढाडस दिएको सुनिन्छ, 'दिइहाल्छन् आमा, नरुनुस्।' 

सुकेधाराको त्यो घटना

यो भिडियो सुकेधारा चोकमा कैद गरिएको हो।  मंगलबार दिउँसो ३ बजेतिर पुगेका नगर प्रहरीले ती महिलासहित सडकमै आफ्नो जीविका चलाउनेहरूमाथि बाघले बाख्रो झम्टिएको शैलीमा झम्टिन्छ। नगर प्रहरी सामु निरीह बाख्रो जस्तै बनेर बिलौना गर्ने महिला हुन्, ६० वर्षीया मञ्जु कुँवर थापा। ठेला खोसिँदा बिलौना गरिरहेकी मञ्जुलई कसैले भनेका थिए, नगर प्रहरीले ठेला दिइहाल्छ, अब नरुनुस्।  

नगर प्रहरीले लगेको ठेला खोजी गर्दै उनी बुधबार सुनधारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय पुगिन्। ठेला पाउने आशमा महानगरको कार्यालय पुगेकी उनले  त्यहाँ पनि कर्मचारीको अपमान सहनुपर्यो। उनले  त्यहाँ बरु जरिवाना तिर्छु, मेरो गरिखाने ठेला दिनुस् भनेर कयौँ पटक बिन्ती बिसाइन् तर कर्मचारीहरुले उनको कुरा सुन्न त परको कुरा अनुहारै हेर्न चाहेनन्। 

‘जरिवाना तिरेर भए पनि ठेला फिर्ता पाउने सोचेर ऋण काढेर महानगरको कार्यालयमा पुगेकी थिएँ,’ फरकधारसँगको सम्पर्कमा उनले भनिन्, ‘फोन चलाइरहेका कर्मचारीहरुले मेरो कुरै सुनेनन्, हुन्‍न, मिल्दै, मिल्दैन भनेर मलाई फर्काइदिए।’ अनेक बिलौना गर्दा पनि उनी खाली हात झन् निराश भएर घर फर्किइन्।

मञ्जुको आफ्नो भन्‍नु नै त्यही  ठेला थियो, जसले केही आम्दानी गरिदिएर पेट पाल्न सघाएको थियो। त्यही ठेला किनेर व्यापार गर्न थालेको पनि धेरै भएको थिएन। काठमाडौंमा पेट पाल्नै गाह्रो भएपछि दशैँअघि नौ हजार रुपैयाँमा त्यो ठेला जोडेकी थिइन्। उनले त्यही ठेलामा बिहान–बेलुका सागसब्जी बेचेर जीविका चलाइरहेकी थिइन्। ठेला नै खोसिएपछि अब उनीसँग केही बाँकी छैन। आशा भरोसा दुवै भएको ठेला नै खोसिएपछि उनीसँग अब दुई छाक टार्ने चिन्ताको पहाड मात्रै बाँकी छ।

०००

भक्तपुरमा २०१६ सालमा जन्मिएकी थिइन् मञ्‍जु। उनले जीवनमा धेरै उतारचढाव र अनेक हन्डर खेपेकी छन्। जीवनको उत्तरार्द्धसम्म आइपुग्दा उनको जीवनले कयौँ कहाली लाग्दा र कठिन मोड-घुम्तीहरू छिचोलेको छ। कुनै मोडमा त उनलाई अब त्यहाँ भन्दा अघि बढ्न सक्दिनँ भन्‍ने पनि लाग्थ्यो। तर, उनले त्यस्ता कयौँ घुम्ती छिचोलिन्, मरि जाँदा दुनियाँ हाँस्छ त्यसैले बाँच्नुको पनि त विकल्प थिएन। 

मञ्जु २३ वर्षकी हुँदा उनको जीवनको पहिलो मोड सुखद खबर लिएर आयो। यो मोडमा उनले एकजना युवक भेटिन्, उनैले सपनाको सुन्दर संसार देखाए। मञ्जुलाई उनले देखाएको संसार निकै सुन्दर लाग्यो। एक दिन तिनै युवकले प्रस्ताव राखे-मेरो संसारको रानी बनाउँछु, के तिमी रानी बन्न तयार छौ? उनले निर्धक्क हुन्छ मात्रै भनिनन्, ती युवकसँगै जीवन बिताउने कसम पनि खाइन्। उनले सोचिन्, 'अब म यो संसारमा खुसी हुनेछु, मेरा सपना पनि पूरा हुनेछन्।'
 
वाचा अनुसार ती युवकले मञ्जुलाई उनको संसारमा खुसी दिने कोसिस गरे। उनले पनि रमाउने प्रयास गरिन्। जीवन संघर्षमय भए पनि उनीहरु खुसी थिए। उनीहरुको समागमबाट तीन सन्तान जन्मिए। सन्तान आएसँगै  उनीहरुको संसार अझै सुन्दर भयो।

सन्तानको पनि आगमनपछि रमाइरहेकी मञ्जुको जीवनमा २१ वर्षअघि दु:खको कालो बादल मडारियो। श्रीमान् उनीसहित आफ्ना छोराछोरीलाई अलपत्र पारेर अर्कै संसार बनाउनतिर लागे। बुझ्दै जाँदा उनले थाहा पाइन्, आफूलाई सुन्दर संसारको सपना देखाउने त्यही मान्छेले अर्को बिहे पो गरेका रहेछन्।

त्यो घटनाले उनी विक्षिप्त, उनको मन मुटु टुट्यो। तर, जति नै चोट लागे पनि मान्छेसँग बाँच्नुको विकल्प पनि त छैन। जीवनमा छुटेर गइसकेको कुराको हिसाब गरेर फाइदा पनि त छैन नि। हाम्रा जीवनका हिसाबकिताब कहिल्यै मिल्दैनन्, उनलाई यस्तै लाग्यो। ‘मेरो नियति नै यस्तै रहेछ भन्ने सोचेर जीवनको बाँकी बाटो एक्लै हिँडे,’ उनी सुँक्कसुँक्क गर्न थालिन्। 

०००

आफूलाई सुन्दर संसार देखाउने मान्छे अन्तै लागेपछि तीन छोराको लालनपालनमा उनले कठोर संघर्ष र मिहिनेत गरिन्। उनले आजसम्म पनि संघर्ष गर्न छाडेकी छैनन्। जीवनको उकाली चढ्दै गर्दा कहिले अरुको खेतमा काम गरिन् त कहिले घर निर्माणस्थलमा मजदुरी। पछिल्लो डेढ वर्षयता त्यही काम पनि पाउन छाडेको थियो। काम पाए पनि बुढ्यौलीले गाँजेको उनको शरीरले धान्न छाडेको थियो।

तीन छोरामध्ये दुईजना बिहे गरेर आफ्नो गृहस्थी गरिरहेका छन्। अहिले उनीसँग एकजना छोरा छन्। कोभिड-१९ महामारी बन्नुअघिसम्म उनी होटलमा काम गर्थे। कोभिड-१९ संकट चुलिएसँगै उनले पनि जागिर गुमाए। छोराको पनि जागिर गएपछि उनलाई जीविकोपार्जन गर्न गाह्रो भएको थियो। 

'त्यसपछि बाँच्न त केही त गर्नै पर्ने थियो,’उनले सुनाइन्, ‘धेरै सोचेपछि एउटा ठेला किनेर बिहान बेलुका सागपात बेच्ने जुक्ति लगाएँ।’पाँच महिनायता त्यही ठेला सडकमा गुडाउँदै तरकारी बेचिरहेकी थिइन्। तरकारी किन्‍न उनी बिहान २ बजे नै कालिमाटी तरकारी बजार पुग्थिन्। तरकारी किनेर फर्किसकेपछि बिहान ९ बजेसम्म त्यसलाई बेच्न थालेकी थिइन्।
 
दिउँसोको समयमा उनी घरमै आराम गर्थिन् तर बेलुका भएपछि उनी चोकमा राखिएको त्यही ठेलासँग मितेरी लगाउँदै सडकमा निस्किन्थिन्। यसरी बिहान–बेलुका तरकारी बेच्दा उनलाई केही पैसा नाफा बच्थ्यो। उनी र छोराको जीवन सहारा नै  त्यही ठेला थियो।

बिहान तरकारी बेचिसकेपछि त्यो ठेला उनले सडक छेउमा राख्थिन् भने बेलुका साथीको घरमा। मंगलबार पनि उनले ठेला सुकेधारा चोक नजिकै आफ्नो ‘छाप्रो’अगाडिको सडकछेउमा राखेकी थिइन्। ‘मेरो ठेलाले सवारी आउन जान बाधा पुर्‍याएको पनि थिएन,’ उनले भनिन्, ‘तर प्रहरीहरूले झम्टिँदै गाडीमा हालेर लगिगए।’ 

उनले ठेला गुडाउँदा सडकमा गाडीलाई अवरोध भए नभएको ख्याल गर्ने सुनाइन्। भन्छिन्- म सधैँ सजग भएर व्यापार गर्थेँ, सडकमा गाडीहरुलाई अवरोध हुन नदिन सचेत थिएँ।' आफ्नो गल्ली नहुँदा पनि महानगरले ठेलागाडा खोसेकोमा उनको चित्त दुखेको छ म फाटेको छ। तर अझै पनि उनले आफ्नो गरिखाने भाँडो फर्किने आश मारेकी छैनन्

यसो भन्छ महानगर

काठमाडौं महानगरपालिकाको कार्यालयले भने मञ्जुले लगाएको आरोपलाई निराधार भनेर खण्डन गरेको छ। काठमाडौं महानगर प्रहरी प्रमुख धनपति सापकोटाले सार्वजनिक ठाउँमा राखिएका सवारीसाधन र ठेलागाडा मात्रै नियन्त्रणमा लिइएको बताएका छन्।

‘हामीले सार्वजनिक ठाउँमा राखिएका सवारीसाधन र ठेलागाडा मात्रै नियन्त्रणमा लिन्छौं। सुकेधारामा पनि त्यही गरिएको हो। उहाँको घरैमा गएर गाडा जफत गरेको होइन,' उनले सुनाए। महानगरको चेतावनीलाई नमानेपछि उनलाई कारवाही गर्न बाध्य भएको सापकोटाले बताए। 

तर मञ्जु भने बुढेसकालमा गाडा ठेल्दै व्यापार गर्नु आफ्नो बाध्यता भएको बताउँछिन्। ‘सरकारले काम दिएको भए यो उमेरमा गाडा ठेल्ने रहर मलाई कहाँ हुन्थ्यो र?,’ मञ्जुले भनिन्,‘सरकार काम पनि दिँदैन, केही गर्न खोज्दा पनि रोजीरोटीको साधन नै खोसेर लैजान्छ।'

जीविका चलाउने त्यही एउटा ठेला पनि खोसिएपछि निकै पिर परेको छ, मञ्जुलाई। अब के गरेर, कसरी जीवन चलाउने भन्ने सुर्ताले थिचिरहेको छ, उनलाई। ‘गरिबलाई सबैले हेप्दा रहेछन्', उनले भावुक बनेर सुनाइन्, 'गरिबको त सरकार नहुने रहेछ।’

भिडियो

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:२०:४,   अन्तिम अपडेट : माघ १, २०७७ बिहीबार १९:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया