दाहाल-नेपालविरुद्ध प्रतिरोध गर्न तयार हुनुहोस् : महेश बस्नेत
देउवाको प्रशंसा गर्दै भने : उहाँ स्पष्ट वक्ता

विराटनगर : नेकपा ओली समूहका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले विरोधीको प्रतिरोधका लागि तयार भएर बस्न कार्यकर्तालाई आग्रह गरेका छन्। युवा संघ नेपालका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले लोकतन्त्रमा अधिकतम तहसम्म विरोधका कार्यक्रम गर्न दिइनुपर्ने बताउँदै हद पार गरे सशक्त प्रतिरोध गर्न पनि तयार भएर बस्न आग्रह गरेका हुन् ।

विराटनगरमा बिहीबार युवा संघ नेपालले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘अवस्था त्यस्तो नआउला तर हाम्रा विचार, कार्यालय र नेताहरूमाथि आक्रमण हुन थाले प्रतिकार गर्नुपर्ने हुन्छ, त्यसका लागि तयार रहनुहोस् ।’

प्रचण्ड-माधव माउसुलीले छाडेका पुच्छर

पूर्वमन्त्री बस्नेतले नेकपा प्रचण्ड-माधव समूहलाई माउसुलीले छाडेको पुच्छरको संज्ञा दिए । त्यो समूह माउसुलीले छाडेको पुच्छर झैँ केहीबेर छट्पटिएपछि शान्त हुने बताएका छन्। 'अहिले पनि कतिपय साथीहरू चुँडिएको पुच्छर जोड्न सकिन्छ कि भनेर लागेका छन्', उनले भने, 'तर हामी त्यो अवस्थाबाट अघि बढिसकेका छौं।'

माउसुलीले नयाँ पुच्छर जन्माउने पनि उनले बताए। ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढिसक्यौँ, माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ', उनले थपे,'छुट्टिएको पुच्छर एकछिन छट्पटिन्छ, तर एकछिन पछि त्यो पनि सकिन्छ ।’

प्रचण्ड–माधव समूहका गतिविधिले मुलुक राजनीति विकृतिको बाटोमा हिँड्ने उनले जिकिर गरे। दाहाल-नेपाल समूहले एकपछि अर्को दलका नेताहरूलाई फकाउन खोजे पनि वास्तविकता बुझ्दै गएपछि उनीहरूको साथ छाड्दै गएको नेता बस्नेतले दाबी गरे। 



अधिनायकवाद लाद्ने र सत्ता कब्जासम्मको सपना देखेर अघि बढेका प्रचण्डको सपना पूरा नहुने तर्क उनले गरे। कम्युनिस्ट आन्दोलनले टुटफुट र विकृतिलाई निमर्मतापूर्वक साथ नदिने तर्क उनको थियो। पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा संसद् सचिवालयमा दर्ता गरिएको भन्दै उनले बहुमतको स्याल हुइँय्या पिटे पनि बहुमत नभएपछि त्यसो गरिएको टिप्पणी गरे । 

आफैंभित्र अल्पमतमा परेको प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुहारेको पनि उनले बताए । कांग्रेस सभापतिले स्पष्टसँग केपी ओलीलाई हटाएर प्रचण्डलाई ल्याउने अभियानमा हामी लाग्दैनौँ भनेपछि रामचन्द्र पौडेलमार्फत सभापतिलाई फकाउने अभियानमा थालिएको पनि उनले दाबी गरे।



देउवा स्पष्ट वक्ता

समकालीन राजनीतिमा धेरै कम नेताले मात्रै शेरबहादुर देउवाले जस्तो स्पष्ट बोल्ने गरेको भन्दै पूर्वमन्त्री बस्नेतले प्रशंसा गरे। देउवाले आन्दोलन र निर्वाचनमा संयुक्त नजाने, अदालतको फैसला स्वीकार्ने, जनता नै असली न्यायाधीश हुन् भन्ने जवाफ दिएपछि दाहाल-नेपाल छटपटिन थालेको आरोप बस्नेतले लगाए।

त्यो समूहले महन्थ ठाकुर र राजेन्द्र महतोलाई कन्भिन्स गर्न खोजे पनि असफल भएको उनले बताए। तर महतोले जनकपुरको भाषणमा केपी ओली अपराधी हुन् भने प्रचण्ड हजार वर्ष जेल राख्नुपर्ने अपराधी हुन् भन्दिएपछि उनीहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवकहाँ पुगेको तर्क उनले गरे।

सूर्य होइन, आड खोजे

प्रचण्डले निर्वाचन आयोगमा सूर्य चिह्नको झण्डा बोकेर निर्वाचनको प्रकृया रोक्न आग्रह गर्ने, सूर्य चिह्न हाम्रै हुन्छ भनेर दाबी गर्ने भनेको हिजोको एमालेसँग लिगेसी जोडिएको चिह्नको आड खोज्नु मात्रै रहेको उनले बताए । 'प्रचण्डलाई सूर्य चिह्नको माया होइन, आड खोजेको मात्रै खोजेका हुन्,’ नेता बस्नेतले भने।

पछिल्लो समयका आन्दोलनलाई ग्राउन्डमा कार्यकर्ता नहुनुको परिणतिमा रुपमा टिप्पणी गर्दै उनले भने, 'जनता साथ नभएपछि उल्टो जुलुस, बयलगाडा र लालटिन जुलुस जस्ता नयाँ उपाय अपनाउनुपर्छ, जुन पहिले हामीले अपनाएकै विधि हो।' ग्राउन्डमा कार्यकर्ता नभएकै कारण दाहाल-नेपाल निर्वाचनबाट डराइरहेको बस्नेतले टिप्पणी गरे। 'निर्वाचनसँग डराउने र लोकतन्त्र नचाहनेले मात्रै विरोध गरिरहेका छन्', बस्नेतले अगाडि भने।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गरेका कामबाट आत्तिएर प्रचण्ड–माधव समूह हतास बनेको टिप्पणी उनको थियो।  बस्नेतले प्रधानमन्त्रीले गरेका कामको प्रशंसा गरेका छन्।

यस्तै अब 'साइबर सेना'ले अब नियोजित रूपमा फैलाइएका भ्रम चिर्न खटिने बस्नेतले बताए। पूर्वमन्त्री बस्नेतले हल्ला गरे जस्तै साइबर सेना ब्यारेकमा नबस्ने स्पष्ट पारे। ‘नियोजित रूपमा फैलाइने भ्रमलाई प्रविधिका माध्यमबाट सही सूचना प्रवाह गर्न यसले काम गर्नेछ', उनले भने। 

  • प्रकाशित मिति : माघ १, २०७७ बिहीबार १८:४३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया