नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालत र निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका छन् । उनले यी निकाय प्रधानमन्त्री केपी ओली पक्षको सेटिङमा चलेको आरोप लगाएका हुन् ।
नेपाल बुद्धिजीवी संगठनले राजधानीमा आयोजना गरेको ‘प्रतिनिधि सभा विघटन ः प्रतिगामी कदम’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसलामा ढिलाई गरेको प्रति संकेत गर्दै उनले भने, ‘अदालतले संविधानलाई व्याख्या गर्ने काम गर्दछ । प्रतिनिधि सभा विघटनको व्याख्या गर्न कुनै जटिलता छैन ।’
प्रतिगमनलाई रोक्न सके संविधान कायम रहने र संविधान कायम रहँदा संसद पुनर्स्थापना हुने तर्क गर्दै उनले भने, ‘संविधानलाई यो प्रतिगमनले खाइदिन्छ कि भन्ने डर छ ।’
सत्ताधारीहरूले अदालत र निर्वाचन आयोग दुवैतिर सेटिङ गरी प्रभाव पार्न खोजेको आशंका व्यक्त गरे । संवैधानिक अंगले नडराई स्वतन्त्र ढंगले निर्णय गर्ने हिम्मत जुटाउनुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।