देउवाको  अडान : अदालतलाई दबाब नदिऊँ, पौडेल भन्छन् : आन्दोलनको आवाज सर्वोच्चले सुनोस्
अलमबीच एक्लै आन्दोलनमा कांग्रेस

काठमाडौं : पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस बिलखबन्दमा परेको छ। प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा दुई चिरामा परेको अवस्थामा कांग्रेस पनि अनिर्णयको बन्दी बनेको छ। 

प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर कांग्रेसले यसअघि दुई चरणको आन्दोलन गरिसकेको छ। सुरुमा १६५ वटा निर्वाचन क्षेत्रमा आन्दोलनका कार्यक्रम गरेको कांग्रेसले त्यसपछि  प्रदेश निर्वाचन क्षेत्रमा पनि सभासहितका विरोध कार्यक्रम गरिसकेको छ। 

भोलि शनिबार कांग्रेसले नगरपालिका र गाउँपालिकाको केन्द्रमा विरोध कार्यक्रमलाई केन्द्रित गर्ने भएको छ। तर कांग्रेसको यो आन्दोलनलाई राजनीतिक विश्लेषकहरुले 'फेस सेभिङ' का रुपमा व्याख्या गरेका छन्। उनीहरुको बुझाइमा कांग्रेस चुनावमै जाने मुडमा छ  तर जनताबीच जाने बहानाका रुपमा कांग्रेसले यो आन्दोलनलाई उपयोग गरिरहेको छ। 

देउवा र पौडेलको मिलेन कुरो

प्रतिनिधिसभा विघटनपछि तत्कालै आन्दोलनमा जानुपर्ने अडानमा थिए वरिष्ठ नेता रामचन्द्र पौडेल तर सभापति देउवा भने त्यस पक्षमा तयार थिएनन्। उनी प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट परिसकेकाले तत्कालै आन्दोलनमा जाने मुडमा थिएनन्। 



प्रतिनिधिसभा विघटनपछि बसेको केन्द्रीय समिति बैठकमा पौडेल पक्ष आन्दोलनको मुडमा थियो भने देउवा पक्ष वैशाख १७ र २७ गतेका लागि चुनाव घोषणा भइसकेकाले त्यसकै तयारीमा होमिनुपर्ने अडानमा थियो। तर पौडेल पक्षको चर्को दबाबपछि देउवा पनि आन्दोलनमा जान तयार भए तर एक्लै। कांग्रेसले यसबीचमा एक्लै दुई चरणका आन्दोलन गरिसकेको छ भने अब भोलि तेस्रो चरण सडकमा आउँदैछ।

आन्दोलन र निर्वाचन एउटा रोज्न नसकेको अवस्थामा सभापति देउवा भने सर्वोच्चमा विचाराधनी मुद्दालाई लिएर दबाब बढाउन नहुने पक्षमा छन्। उनले सार्वजनिक मञ्चहरुबाटै सर्वोच्चलाई निष्पक्ष रुपमा निर्णय लिन दिनुपर्ने बताउँदै आएका छन्। 



बुधबार साँझ मात्रै बूढानीलकण्ठ पुगेका नेकपाको एउटा समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि देउवाले यही जवाफ दिएर फर्काइ दिएका छन्। कांग्रेस नेता रमेश लेखकका अनुसार देउवाले ओलीको कदम असंवैधानिक भए पनि विचाराधीन मुद्दालाई लिएर अदालतमा दबाब बढाउन कुनै पनि कार्यक्रम गर्न नसकिने मत राखेका थिए।

'सभापतिजीले आन्दोलनका नाममा अदालतमा कुनै किसिमको दबाब दिनु उचित नहुने मत सुरुदेखि नै राख्नु भएको छ। ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलित भइरहँदा अदालतलाई लक्षित गर्न नहुने उहाँको मत हो', लेखकले भने, 'संसद पुन:स्थापनबाट भन्दा जनमत गएर कांग्रेसले बहुमतसहित सरकारमा जानुपर्ने उहाँको कुरा हो। तर ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध खबरदारी भने गर्न छाड्नु हुँदैन।'

तर पौडेल भन्छन् : अदालतमा दबाब बढाऊँ

उता वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाहरु कुनै पनि हालतमा प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा उभिएका छन्। ओलीलाई सच्याउन पनि प्रतिनिधिसभा पुन:स्थापनालाई कांग्रेसले एजेन्डा बनाउनुपर्ने मत उनीहरुको छ। दुवै जना नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट सभापति पदमा पुग्ने योजनामा छन्। 

वरिष्ठ नेता पौडेलले शुक्रबार मात्रै आन्दोलनबाट जनताको कुरा सर्वोच्च अदालतलाई सुनाउनै पर्ने अभिमत दिएका छन्। उनले प्रतिनिधिसभा विघटनको निर्णय नसच्चिए देशमा अनर्थ हुने बताएका छन्। 'नेपालका सबै गाउँपालिका र नगरपालिकामा शनिबार जम्मा भएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध हामी सबै देशभरीका नागरिक आन्दोलित हुनुपर्छ', उनले भनेका छन्, 'यो अवैधानिक कार्यको सबैले विरोध गरौँ। संसद विघटनको लोकतन्त्रविरोधी कदमविरुद्ध हामीले देशभर प्रदर्शन गर्नुपर्छ।'

पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध सबै शक्तिले आन्दोलन चर्काएर अघि बढ्नुपर्ने बताइरहेका छन्। 'यो असंवैधानिक कार्यको हामीले तीव्र विरोध गरौँ', उनले भने, 'यसले संविधानमा क्षति ठूलो पुगेको छ। ७० वर्ष लगाएर तयार पारेको संविधान र व्यवस्थाको टुंगो लागेका बेला त्यसैमाथि प्रहार भएको छ।'

पौडेलले प्रष्ट शब्दमा शुक्रबार आन्दोलनबाट प्रतिनिधिसभा पुन:स्थापनाको आवाज सर्वोच्चमा पुर्‍याउनै पर्ने बताए। 'देशभर आन्दोलन गरेर प्रतिनिधिसभा पुन:स्थापनको पक्षमा उठेको हाम्रो आवाज सर्वोच्चमा पुर्‍याउनुपर्छ, दबाब दिनुपर्छ', उनले प्रष्टसँग भने, 'संसद विघटनको निर्णय नसच्चिए देशमा अनर्थ हुन्छ। सबैतिर जुटेर यसविरुद्ध सशक्त आवाज दिनुपर्ने आवश्यकता छ। भोलि गाउँ गाउँबाट जुटेर विरोध गरौँ, अदालतलाई दबाब दिऊँ।'

एक्लै आन्दोलन

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सशक्त हुन नसकेपछि नेकपा दाहाल-नेपाल समूहलाई नैतिक संकट परेको छ। बुधबार प्रज्ञा भवनमा भएको कार्यक्रममा दाहाल-नेपाल समूहकी बागमती इन्चार्ज अष्टलक्ष्मी शाक्यले काठमाडौं नतातेको भन्दै गुनासो गरिन्। त्यहाँ सम्बोधनका क्रममा अध्यक्ष पुष्पकमल दाहालले पनि त्यही कुरा राखे।

प्रज्ञा भवनमा कार्यक्रम सकेपछि दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल देउवालाई भेट्न बूढानीलकण्ठ गएका थिए। जहाँ उनीहरुले देउवालाई ओलीविरुद्ध आन्दोलन सशक्त बनाउन मिलेर जानुपर्ने प्रस्ताव राखे।  तर देउवाले अहिले नेकपाका दुवै समूहसँग मिल्न नसकिने भन्दै आफैँ एक्लै आन्दोलनमा होमिने उल्लेख गरे।

'अहिले तपाईंहरुका दुवै समूहसँग मिलेर जानेमा कांग्रेसले कुनै निर्णय लिएको छैन। तपाईंहरुसँग  आन्दोलनमा सहकार्य गर्न पनि मैले पार्टीमा सल्लाह गर्नुपर्छ', देउवाको भनाइ उद्धृत गर्दै नेता रमेश लेखकले भने, 'हामीले एक्लै दुई चरणको आन्दोलन पूरा गरिसकेका छौै। त्यसैले अबको आन्दोलन पनि कांग्रेस एक्लैले गर्नेछ। अहिलेलाई कांग्रेसले कसैसँग सहकार्यको नीति लिएको छैन।'

भिडियो

  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १४:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया