अर्धभूमिगत भएका लक्ष्मण थारूले भने, ‘अब निर्णायक विद्रोह हुन्छ’

टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारूले अन्तिम विद्रोहको चेतावनी दिएका छन् । विद्रोहको तयारीस्वरुप थरुहट मोर्चाले ३ बुँदे निर्णय गरेको उनले जानकारी दिए । 

विद्रोहमा जाने तयारीबारे पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हामी विभिन्न पक्षसँग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारी गर्दै छौँ ।’ कानुनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पनि जाने र सडकमार्फत पनि विद्रोह गर्ने उनले बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखर उच्च अदालत पठाएको आरोप लगाउँदै उनले भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गरिनुपर्छ ।’ संसद विघटन गरेर ओलीले बेइमानी गरेको थारूको आरोप थियो । 

उनले सर्तसहित सरकारसँग वार्ता नगर्ने बताए । ‘हामीले पहिलो निर्णयको रुपमा थरुहट आन्दोलनबारे सरकारले सुनोस्, सामाजिक न्यायको लागि गम्भीर बनोस् भनेर आग्रह गरेका छौँ’, उनले भने, ‘दोस्रो निर्णयको रुपमा अब निर्णायक विद्रोहको तयारीमा छाँै । हतियार र बमविनाको विद्रोह, मारकाटविनाको विद्रोहको तयारीमा छौँ ।’

विद्रोह तयारीका लागि मोर्चाको केन्द्रीय समितिका प्रवक्ता मीनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन समितिसमेत गठन गरेको उनले जानकारी दिए ।


‘तेस्रो निर्णयअन्तर्गत ०७७ फागुन १५ र १६ गते थरुहट युवा शक्ति, थरुहट महिला मोर्चा, थरुहट विद्यार्थीहरुको राष्ट्रिय विशेष सम्मेलन धनगढीमा गर्दै छौँ,’ उनले अगाडि भने, ‘ड्रेससहित ५० हजारको संख्यामा धनगढी बजारमा जनप्रदर्शनसहित सम्मेलन गर्दै छौँ । सम्मेलनपछि विद्रोहमा जान्छौँ ।’



उच्च अदालतको फैसलापछि सरकारले आफूहरुलाई वार्ताका लागि बोलाउन थालेको थरुहट नेताहरुले खुलाएका छन् । नेता थारूले भने, ‘आन्तरिक रुपमा वार्ताका लागि सरकारले हामीलाई बोलाएको छ । तर, हामी विनातुकको वार्तामा जाँदैनौँ ।’

यसैबीच, पुस २४ गते धनगढीमा आयोजित जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाबारे दिएको अभिव्यक्तिबारे पनि नेता थारूले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले एक साताअघि धनगढीमा पुगेर भनेका थिए–नक्कली मान्छेले टीकापुर घटना घटाए ।’ 



‘तपाईंहरुले पनि सुन्नुभयो । आखिर को हो त्यो घटना घटाउने ? हामीले पनि जान्न पाउनुपर्यो । नक्कली मान्छेले घटना घटाउने, तर थारूहरुलाई जेल हाल्दिने ?’ पत्रकार सम्मेलनमा नेता थारूले प्रश्न गरे, ‘थारूहरुलाई वारेन्टेट गरिदिने, यो भएन नि ! आखिर त्यो घटनामा को अपराधी हो ? कसले घटना घटायो भन्नेबारे प्रधानमन्त्रीलाई त जानकारी सबै रहेछ । प्लिज प्रधानमन्त्रीज्यू, यसको जानकारी संसारलाई गराइदिनोस् ।’

जिल्ला अदालत कैलालीको आदेशपछि तीन वर्ष कैद भुक्तान गरेर रिहा भएका थारू उच्च अदालत दीपायलले जन्मकैदको फैसला सुनाएपछि फरार छन् ।

पत्रकार सम्मेलनमा लक्ष्मण थारूलगायत नेता । 

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १९:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया