प्रधानमन्त्रीलाई योगेशको जवाफ : पदीय मर्यादा ख्याल गर्नू, होस गुमाएर नबोल्नू
झापा र एमाले आठौँ महाधिवेशनको हार सम्झिन आग्रह

काठमाडौं : नेकपा (दाहाल-नेपाल) समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई होस नगुमाइ अभिव्यक्ति दिन आग्रह गरेका छन्। आफूलाई पटक पटक केटोको संज्ञा दिँदै सार्वजनिक रुपमा बोलेपछि पूर्व पर्यटन मन्त्रीसमेत रहेका भट्टराईले पदीय मर्यादा ख्याल गरेर बोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्। 

'उहाँले मेरो नाम नलिइ लाक्षणिक हिसाबले मलाई केटोको संज्ञा दिँदै बोल्नु भएको सुनेँ। प्रधानमन्त्रीलाई म सम्यम् भएर, सीमाभित्र बसेर बोल्नुस् भन्छु', नेता भट्टराईले फरकधारसँगको कुराकानीमा भने, 'तपाईं (प्रधानमन्त्री) को पद, उमेर, जिम्मेवारी र आफ्नो गरिमालाई कायम राख्नुहोस्। त्यो सबै उलंघन गर्यो भने तपाईंमाथि मलाई दया मात्रै लाग्छ।'

ताप्लेजुङको प्रसंग 

प्रधानमन्त्रीले आफूले भाषण गरेर ताप्लेजुङमा २०७४ को  प्रतिनिधिसभा निर्वाचनमा जिताएको बताइरहँदा योगेशले भने त्यसमा आपत्ति जनाएका छन्।

'ताप्लेजुङको चुनाव र प्रधनमन्त्रीको भाषणको प्रसंगलाई लिएर उहाँका सहयोगी र गुटका मान्छेले सामाजिक सञ्जलमा मेरोबारे जथाभावी लेखिरहेको हेर्दैछु, यसमा म अहिले केही भन्दिनँ', उनले भने, 'प्रधानमन्त्री ताप्लेजुङको चुनावी सभामा जानुभयो, मलाई (नेकपा उम्मेदवार) जिताउन आग्रहसहित भोट माग्दै भाषण गर्नुभयो। उत्साहित हुँदै मेरो प्रशंसा पनि गर्नुभयो। मन्त्री पनि बनाउँछु भन्नुभयो। मलाई त्यसले सहयोग नै पुगेको हो। त्यसमा मैले उहाँप्रति धन्यवाद भनेकै छु। तर मलाई गरेको त्यो सहयोग व्यक्तिगत थिएन, उहाँले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएको हो।'

प्रधानमन्त्रीले आज (शनिबार) प्रदेश १ का ओली पक्षीय नेकपाको काठमाडौंमा गरिएको कार्यकर्ता भेलामा पनि त्यही प्रसंग निकालेपछि योगेशले त्यसमा धेरै टिप्पणी गरिरहनु आवश्यक नभएको बताए।



'आज पनि त्यो कुरा उठाउनु भएछ। ताप्लेजुङको चुनावी सभामा तपाईँ (प्रधानमन्त्री) मेरो व्यक्तिगत साथीका रुपमा जानु भएको हो कि पार्टी अधयक्ष वा प्रस्तावित प्रधानमन्त्रीका रुपमा जानु भएको हो?', योगेशले सोधेका छन्, 'उहाँले पार्टीको संस्थागत दायित्व पूरा गरेको हो कि व्यक्तिगत गुण लाउनुभएको हो? उहाँ त देशव्यापी चुनावी अभियानमा जाँदा मेरो क्षेत्रमा पनि पुग्नु भएको थियो।चुनावी अभियानमा पुगेको कुरालाई व्यक्तिगत गुण लगाए जसरी बारम्बार उछालिरहनु उचित कुरा होइन।'

मन्त्री बनाउने आश्‍वासन 



प्रधानमन्त्री ओली २०७४ को चुनावका क्रममा देशमा ५० भन्दा धेरै निर्वाचन क्षेत्रमा भाषण गर्न पुगेको सम्झिन्छन् योगेश। त्यसबेला ओलीले मतदातामाझ नेकपाका उम्मेदवारलाई जिताएर पठाएमा मन्त्री बनाउने जिम्मा आफ्नो भएको बताएका थिए। ताप्लेजुङमा पनि ओलीले योगेशलाई जिताए मन्त्री बनाउने जिम्मा आफ्नो भन्दै भाषण दिएका थिए। तर योगेशले चुनाव जित्नेबित्तिकै उनले मन्त्री बनाएनन्।  

'उहाँले त्यसबेला अधिकांश ठाउँमा गएर चुनाव जिताएर पठाएमा मन्त्री बनाउँछु भन्दै भाषण गर्नु भएको थियो। काठमाडौं-४ मा गएर डा. राजन भट्टराईलाई जिताए मन्त्री बनाउँछु भन्नुभयो। तनहुँमा रामचन्द्र पौडेलविरुद्ध किसन श्रेष्ठलाई जिताए मन्त्री बनाउँछु भनेकै हो', उनले भने, ललितपुरमाा नवराज सिलवालाई जिताएमा गृहमनत्री बनाउँछु भनेर भाषण दिनुभयो। उहाँले एउटा पार्टीको नेताका रुपमा जिम्मेवारी र दायतित्व पूरा गरेको हो, कसैलाई व्यक्तिगत गुण लगाएको होइन यो।'

ताप्लेजुङमा सधैँ एमाले

प्रधानमन्त्री ओलीले ताप्लेजुङमा गएर चुनाव  जिताएको भनिरहँदा नेता योगेशले भने त्यहाँ सधैँ एमालेले जितिरहेको स्मरण गराए। 

'केपी ओली नगइदिएको भए जित्दैन थिएँ भन्ने होइन, उहाँका कारण मलाई चुनाव जित्न थप बल मिलेकै हो', उनले भने, 'तर ताप्लेजुङमा २०४८ सालदेखि लगातार नेकपा एमालेले जितिररहेको थियो। देशभरी लगातार त्यसरी चुनाव जित्ने क्षेत्र ताप्लेजुङ पनि एउटा थियो। प्रधानमन्त्री नजाँदा पनि त्यहाँ पार्टी संगठन बलियो थियो। जनाधार पनि बलियो थियो। तर पनि उहाँ  गएर भाषण गर्दा मलाई सहयोग मिलेको हो, पार्टी नेताका रुपमा उहाँको त्यो दायित्व थियो।'

ओलीलाई प्रश्न : किन हार्नु भयो?

आफूलाई चुनाव जिताउन व्यक्तिगण गुण लगाए जसरी ओलीले चर्चा गरिरहेपछि योगेशले ओलीले झापामा २०६४ सालमा चुनाव हारेको प्रसंग निकाले। 'उहाँले आफू कहिल्यै हार्दै हार्दिनँ भन्ने अहमता पाल्नु भएको छ। तर अस्ति भर्खर हारेको कुरा भुल्नु हुन्छ। केपी ओलीको इतिहास जहिल्यै जितको इतिहास हो भन्‍नु हुन्छ। तर देशभरको सुरक्षित क्षेत्र मानिने झापामा २०६४ सालमा किन हार्नुभयो? २०५६ सालको उपनिर्वाचनमा त्यही क्षेत्रबाट उहाँका निकट सहयोगीले पनि चुनाव हारेका थिए। आखिर किन उहाँलाई जिताउन सक्नु भएन?'

ओलीले भाषण गर्दैमा चुनाव जित्ने तर्कलाई उनले खारेज गरिदिए। 'केपी ओली गएपछि माटो पनि सुन भइ जान्छ भन्छन्। त्यसो हो भने बर्दियामा गएर उहाँले भाषण गर्दा वामदेव गौतम किन हार्नुभयो? राजन भट्टराईलाई मन्त्री बनाउँछु भन्दा पनि किन हारे?', योगेशले प्रश्न गरे, 'वामदेवले चुनाव हारेपछि मलाई अध्यक्ष (केपी ओली) का गुटका मान्छेले हराए भन्नु भयो। वामदेव हारेको नैतिक जिम्मेवारी केपी ओलीले किन लिन सक्नु भएन?'

ओलीलाई जिताउने लागेँ 

नेता भट्टराईले पार्टीलाई चुनाव जिताउन सबैजना अभियानमा लागेको कुरालाई व्यक्तिगत रुपमा व्याख्या नगर्न ओलीलाई आग्रह गरे। 'पार्टीको चुनावी अभियानलाई लिएर कसैले पनि व्यक्तिगत गुण लगाए जसरी कुरा नगरौँ। पहिलो चरणमा ताप्लेजुङमा चुनाव भएपछि म आफैं नेकपा उम्मेवार जिताउन धनकुटा, तेह्रथुम, सुनसरी र झापा गएर भाषण गरेको छु', उनले अगाडि भने, 'झापास्थित केपी ओलीको क्षेत्रमा पहाडबाट झरेका थुप्रै चिनजानका मान्छे छन्। ती सबैलाई मैले (उहाँ)लाई भोट हाल्न अपिल गरेको थिएँ। ओलीलाई जिताउन भाषण गरेको थिएँ। त्यो कुरालाई मैले व्यक्तिगत गुण लाएको भन्नु हुँदैन। पार्टी अध्यक्ष नै उम्मेदवार भएकाले म पनि जिताउन हिँडेको हुँ। अब मैले पनि मेरो कारणले जित्नुभयो भन्दै हिँड्नु?'

केटोको कुरा

भट्टराईले आफूलाई केटो भनेकोमा पनि ओलीलाई के बोल्दैछु भन्ने सम्झिन आग्रह गरे। 'मलाई केटो भनेको सुनेँ। उहाँलाई त मैले १८ वर्षको हुँदा २०४३ जेलमा भेटेको हो। २०४३ सालको उमेरमै केटो भनेको भए म १८ वर्षको थिएँ, ठीकै थियो', उनले अगाडि भने, 'उहाँसँगको उमेरको फरक त्यही १५/२० वर्ष मात्रै हो। कम्युनिष्ट पार्टीका नेताहरुलाई आफ्ना कार्यकर्तालाई के भन्‍ने भनेर सिकाउनुपर्दा दु:ख लाग्छ।'

उन्तमत्त साँढे नहुनु

योगेशले प्रधानमन्त्रीलाई अहिले पनि उत्तिकै सम्मान गर्ने बताए। उनले ओलीलाई जथाभावी नबोल्न सुझाए। 'प्रधानमन्त्री जस्तो मान्छेले उन्मत्त साँढे जस्तो बोल्नु भएन। अहिले पनि उहाँलाई उत्तिकै सम्मान गर्छु। देशको प्रधानमन्त्रीलाई गाली गर्नु आफैंलाई गाली गर्नु जस्तै हो। तर उहाँले मानव जातिको सभ्यता नभत्काए हुने थियो। मानिस मानिसबीच विद्वेष नफैल्याउनु राम्रो हुन्छ। उहाँमा हीनताबोधका कारण यस्ता कुरा आइरहेको मैले ठानेको छु।'

मन्त्री मागेको होइन

प्रधानमन्त्रीले आफ्नो निगाहमा मन्त्री बनाए जसरी बोलिरहेपछि नेता भट्टराईले आफूले चुनाव जितेर आएदेखि कहिल्यै पनि मन्त्री पद नमागेको दाबी गरे। 'मन्त्रीको कुरामा चुनौतीका साथ भन्छु, जितेर आएपछि मलाई मन्त्री बनाइदिनु भनेको भए, प्रधानमन्त्रीले प्रमाण ल्याएमा सजाय भोग्न तयार छु। मैले कहिल्यै पनि मलाई यो जिम्मेवारी दिनुस् भनेको पनि छैन', उनले अगाडि भने, 'पार्टीको केन्द्रीय कमिटी बैठकमा बरु सामूहिक रुपमा साथीहरुका लागि लडेको थिएँ तर आफ्ना लागि मन्त्री पद कहिले मागिनँ।'

सांसदको टिकट पनि ओली या अरु कुनै  नेताले नदिएको तर्क उनले गरे। 'मलाई ताप्लेजुङ जिल्ला कमिटीले सर्वसम्मत टिकट दिएको हो। पार्टीभित्रको आन्तरिक चुनावमा त उहाँलाई हामीले र मलाई पनि उहाँले हराउन नसकेकै  हो', उनले थपे, 'तर प्रधानमन्त्रीले झापामा हारेको सम्झिनुपर्यो। पार्टीको आठौँ महाधिवेशनमा आन्तरिक चुनावका क्रममा पनि हारेको कुरा उहाँले बिर्सिनु भएन।'

ओलीका  अवगुण

प्रधानमन्त्री केपी ओली पराजयलाई स्वीकार्न नसक्ने समस्याका कारण देश बर्बादीतर्फ गएको निचोड योगेशको छ। 'उहाँको सबैभन्दा अवगुण हारलाई स्वीकार्न नसक्ने छ। हारलाई पनि स्वीकार्न सक्नुपर्छ। कृष्णप्रसाद भट्टराईले मदन भण्डारी र विद्या भण्डारीसँग काठमाडौंमा चुनाव हार्दा सहर्ष स्वीकार्नु भयो, बहुलाएर हिँड्नु भएन', उनले भने, 'तर उहाँ (ओली) मा जितलाई मात्रै आफ्नो ठान्‍ने प्रवृत्ति छ। मलाई लाग्छ, त्यस्तो मान्छे कुनै न कुनै बेला भाँचिने, टुट्ने सम्भावना हुन्छ। जुन निक्कै दु:खद र पीडादायी हुनेछ।'

होस नगुमाउनु 

प्रधानमन्त्री ओलीप्रति आफूसँग कुनै रिस र गुनासो नरहेको  योगेशले बताए। उनले प्रधानमन्त्रीले संसद विघटन गरेपछि मन्त्री पद छाड्दा पनि राम्रै भलाकुसारी गरेको सुनाए। 'संसद विघटनपछि हामीले उहाँलाई प्रतिगामी असंवैधानिक र अलोकतानत्रिक कदम चालेकाले तपाईंसँग सँगै हिँड्न सक्दैनौँ, साथमा रहन सक्दैनौँ भनेर हाँसी हाँसी हिँडेका हौँ', उनले सुनाए, 'आज पनि जे भनेका छौं, उहाँको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदमको मात्रै विरोध गरिरहेका छौं। मैले उहाँप्रति कुनै व्यक्तिगत टिप्पणी कहीँ पनि गरेको छैन।'

ओलीले पदीय मर्यादा भुल्दै तल्लोस्तरमा झरेर बोल्ने गरेको बताउँदै भट्टराईले त्यसले उनलाई नै अफ्ठ्यारो पार्ने बताए। 'उहाँले तल्लो स्तरमा झरेर गरेको टिप्पणीलाई सधैँ सहन सक्ने अवस्था हुँदैन। आममानिसले पनि उहाँमाथि आक्रमण गर्न थालेका दिन बोल्न सक्ने अवस्था हुने छैन', योगेशले अन्त्यमा भने, 'प्रधानमन्त्री जस्तो मान्छेले होस गुमाउनु भएन, बोल्दा सम्यमता अपनाउनु जरुरी छ।'

  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार २१:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया