प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली  नेपाल त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । उसले  आइतबारको खेलमा कर्णाली प्रदेशमाथि ८० रनको सहज जित हात पारेको हो ।

आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा ३३.३ ओभरमा सबै विकेट गुमाएको कर्णालीले ११५ रन मात्र जोड्न सक्यो ।

उसका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रनको योगदान दिए । २२.४ ओभरमा शाहब आलमबाट बोल्ड भएका उनले ४२ बलमा ६ चौका प्रहार गरे । हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन प्रहार गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीका लागि सुशन भारीले ४, शाहब आलमले ३, रोहित पौडेलले २ र हरि चौहानले १ विकेट हात पारे ।

भारीले ८.३ ओभरमा ३ मेडन राख्दै १९, आलमले १० ओभरमा १ मेडनसहित ४४, पौडेलले ५ ओभरमा १ मेडनसहित १८ र चौहानले ४ ओभरमा १७ रन खर्चिए । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो । 



अनिल मण्डल र कप्तान विनोद भण्डारीले चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेपछि आर्मीले यो योगफल तयार पारेको थियो ।

३३.१ ओभरमा दिवान पुनको बलमा एबिडब्ल्युको सिकार बनेका भण्डारीले ५५ बलमा ३ चौका र १ छक्काको मदतले ४१ रन प्रहार गरे ।



३८.२ ओभरमा युनिस सिंहबाट बोल्ड भएका मण्डलले ११४ बलको सामना गर्दै १४ चौकाको मदतमा सर्वाधिक ८९ रनको योगदान दिए ।

राजेश पुलामीमगरले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिवान पुन, राज शाह र दिनेश अधिकारीले समान २–२ विकेट हात पार्दा अनुज चुनारा, रविन्द्र शाही र युनिस सिंहले समान १–१ विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

समान १०–१० ओभर बलिङ गरेका पुनले १ मेडनसहित ३९ र शाहले १ मेडन सहित ४७ दिए । समान ७–७ ओभर बलिङ गरेका अधिकारीले २७ र सिंहले ३७ रन खर्चिए । चुनाराले ६ ओभरमा २ मेडनसहित २७ खर्चिदा शाहीले आफ्नो ओभरको पहिलो बलमै विकेट लिए ।

  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार १५:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया