जुवाखालबाट बरामद रकम प्रहरी हाकिमको खल्तीमा

गोरखामा जुवाको खालबाट बरामद गरिएको रकम राजस्वमा दाखिला नगरी प्रहरीका हाकिम आफैँले खर्च गरेको खुल्न आएको छ । 

दसैँ–तिहारमा जुवाखालबाट बरामद भएको एक लाख रुपैयाँभन्दा बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैँले राखेको खुलेको हो । प्रहरी प्रमुख एसपी गुरुङले पनि हालसम्म त्यो रकम राजस्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । 

इलाका प्रहरी कार्यालय जौवारीले बरामद गरी पठाएको करिब ६९ हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालयमा पठाएको तर उक्त रकम हालसम्म पनि राजस्वमा दाखिला नभएको देखिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर, दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।

जुवाको खालबाट बरामद रकम जतिसक्दो चाँडो राजस्वमा दाखिला गर्नुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल बताउँछन् । बरामद रकम तुरुन्त राजस्मा दाखिला गरेर जुवाडेलाई मुद्दा चलाउनुपर्नेमा त्यसो नहुँदा प्रहरी अधिकारीको बदनियत देखिएको उनको भनाइ छ । यसमा कारबाही अघि बढाउने अर्यालले प्रतिबद्धता जनाएका छन् । 

असोज १ गतेदेखि मंसिर मसान्तसम्म गोरखा जिप्रकामा जुवाका तीनवटा मात्र मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, यी दुवै क्षेत्रबाट पक्राउ परेका जुवाडेविरुद्ध मुद्दा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद रकम पनि हालसम्म राजस्वमा दाखिला भएको छैन । 



जिल्ला प्रहरी प्रमुख एसपी गुरुङले बरामद भएको उक्त रकम अब राजस्वमा दाखिला गर्ने बताएका छन् । 



  • प्रकाशित मिति : माघ ४, २०७७ आइतबार २१:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया