सामाजिक सुरक्षा कोषबाट ऋण सुविधा पाइने

सामाजिक सुरक्षा कोषबाट ऋण सुविधा लिन सकिने भएको छ । कोषका योगदानकर्ताले अब कोषबाट विभिन्न शीर्षकमा कर्जा लिन पाउने भएका हुन् ।  
कोषले लगानी कार्यविधि कार्यान्वयनमा गरी ऋण सुविधा प्रदान गर्ने तयारी थालेको बताएको छ ।

सरकारले केही समयअघि सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन कार्यविधि ल्याएको थियो । लगानी कार्यविधिअनुसार योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी तथा सामाजिक कार्य शीर्षकमा कर्जा लिन पाउने उल्लेख छ ।

सञ्चालक समितिले बनाएको मार्गदर्शन आगामी बोर्ड बैठकमा पेश गर्ने तयारी कोषको छ । मार्गदर्शन पारित भएपछि योगदानकर्तालाई ऋण प्रवाह गर्न र लगानी गर्नसमेत बाटो खुल्नेछ ।

कर्जा लिँदा योगदानकर्ताले कुल लगानीको १५ प्रतिशतसम्म सापटी पाउने कोषले जनाएको छ । सरकारले ल्याएको कार्यविधिअनुसार योगदानकर्ताले घर सापटीअन्तर्गत ७५ लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । योगदानकर्ताले उच्च शिक्षा अध्ययनका लागि ३५ लाख रुपैयाँसम्म सापटी पनि पाउने व्यवस्था गरिएको छ ।

कोषमा हालसम्म १३ हजार ८९ रोजगारदाता तथा १ लाख ८५ हजारभन्दा बढी श्रमिक सूचीकृत छन् । योगदानकर्ताको ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भइसकेको छ ।

त्यस्तै, कोषमा जम्मा भएको रकम पनि विभिन्न क्षेत्रमा लगानी गर्ने बाटो खुलेको छ । अहिलेसम्म योगदानकर्ताको रकम बैंकमा रहँदै आएको छ । यसले गर्दा कोषको आम्दानी बैंकबाट प्राप्त हुने ब्याजमा सीमित रहँदै आएको छ । 



बैँकबाहेक विभिन्न क्षेत्रमा लगानी गर्दा कोषको आम्दानी वृद्धि भई लगानीकर्ताको सुविधा वृद्धि हुने अपेक्षा गरिएको छ । कोषले सहकारी ऋण पत्र, मुद्दती, शेयर, डिवेन्चर, म्युचुअल फन्ड तथा स्थिर सम्पत्तिमा लगानी गर्न सक्ने बाटोसमेत कार्यविधिले खुलाइसकेको छ ।



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १४:१५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया