नेपालमा भेटिएको कोरोनाको नयाँ प्रजाति कति खतरनाक?
पहिलो पटक तीनजनामा संक्रमण पुष्टि

काठमाडौं : बेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ। केही दिनअघि बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ३२ वर्षीय र ६७ वर्षीय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिनअघि फर्किएकालाई निगरानीमा राखी नुमना परीक्षण गर्न पठाइएको थियो। जसमध्ये ३ वटा नमुना नेगेटिभ देखिएपछि नयाँ प्रजातिको संक्रमण पुष्टि गर्न पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो ।

प्रवक्ता गौतमले प्रयोगशालाबाट ३ जनामा नयाँ प्रजातिको संक्रमण भएको पुष्टि भएको जानकारी आजै प्राप्त भएको जानकारी दिए। संक्रमण पुष्टि भएका तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आइसकेको छ। तर ६७ वर्षीय पुरुष पोजेटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता गौतमले बताए। 

उनले नेपालमा भ्याक्सिन उपलब्ध नहुञ्जेल उच्च सावधानी अपनाउन आग्रह गरे। सकेसम्म भीडमा नजाने, जानुपरे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न उनले सुझाव दिएका छन्। 

जोखिम कति ? 

बेलायतमा गत पुस पहिलो साता नयाँ प्रजातिको भेटिएपछि त्यहाँका कयौँ स्थानमा लकडाउन गरिएको छ। यो भाइरस भेटिएसँगै नेपालले पनि बेलायतसँगको हवाई उडान बन्द गरिसकेको छ। बेलायतमा धेरै नेपाली रहेकाले त्यहाँबाट आउनेहरूमा उक्त भाइरस पनि सर्ने अनुमानसहित सरकारले सतर्कता बढाएको थियो। अर्को



फैलिने दर ७० प्रतिशतभन्दा धेरै भए पनि नयाँ प्रजाति कोभिड–१९ भाइरसको पुरानो स्वरूपभन्दा धेरै खतरनाक भने नभएको विज्ञहरुले बताएका  छन्। भाइरसहरू स्थान परिवर्तन गर्दै जाँदा, एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेर रुप फेर्ने तर्क जानकारहरुले गरेका छन्। 



पुरानो भन्दा संक्रामक

बेलायतमा देखिएको नयाँ भाइरस रुप भनेको कोभिड–१९ भाइरसको स्पाइक प्रोटिनमा देखिएको परिवर्तनपछिको रुप भएको सरुवा रोग विशेषज्ञ डा.अनुप बाँस्तोला बताउँछन्। भाइरसले श्वास–प्रश्वास प्रणालीको कोषिकामा छिर्न खोज्ने स्पाइक प्रोटिनमा परिवर्तन आएको बाँस्तोलाले जानकारी दिए। यो प्रकारको भाइरस अहिलेको कोरोनाभन्दा निकै बढी संक्रामक रहेको अहिलेसम्मको अध्ययनले देखिएको बाँस्तोलाले बताए। 

बाँस्तोलाका अनुसार भाइरसले मानव शरीरको श्वास-प्रश्वास नली र श्वास-प्रश्वास प्रणालीमा रहेका कोषिकामा प्रवेश गर्ने क्षमता बढाएको हो। ‘यो अहिले रहेको भाइरस भन्दा निकै छिटो फैलिने हैसियत राख्छ', डा.बाँस्तोलाले भने, ‘समुदायमा धेरै फैलिने भएपछि वृद्धवृद्धा दीर्घ रोगीहरुमा पुग्ने सम्भावना पनि बढी भयो, त्यो कोणबाट यसको जोखिम मूल्यांकन गर्नुपर्छ।’

नयाँ स्वरूपको भाइरसमा सिकिस्त बिरामी पार्न सक्ने क्षमताबारे कुनै नयाँ अध्ययन भइनसकेको बाँस्तोलाले बताए। अहिलेको भन्दा बढी संक्रामक रहेको तथ्य बाहिर आएकाले नेपालमा पनि यो प्रकारको भाइरस देखिने सम्भावना धेरै रहेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बताउँछन्। 

‘संक्रमितलाई यसले सिकिस्त कति बनाउँछ? मृत्युदरमा कति असर पार्छ ? अहिले अहिले आएका भ्याक्सिनले काम गर्छ कि गर्दैन ? अहिलेको परीक्षण यो पत्ता लगाउन उपयुक्त छकि छैन ? यी सबै विषय अनुसन्धानकै चरणमा छन्’, डा. पाण्डेले भने।

‘जसरी इन्फ्लुएन्जाका विभिन्‍न प्रकारहरू देखिँदै गए त्यस्तै कोभिडका पनि थप घातक प्रकार देखिन सक्छन्’ डा. पाण्डे भन्छन्, ‘त्यस अनुसारको सतर्कता र तयारीको जरुरी छ।’कोभिड–१९ संक्रमण भएर शरीरमा तयार भएको एन्टीबडीले अहिले देखिएको नयाँ स्वरूपको भाइरस प्रतिरक्षा गर्ने डा.बाँस्तोलाको भनाइ छ। अहिले तयार भएका भ्याक्सिन पनि नयाँ प्रकृतिको भाइरसका लागि प्रभावकारी हुने आँकलन उनको छ। 

‘शरीरमा भाइरसविरुद्ध एन्टीबडी बन्दा एकै खालको मात्रै नभएर फरक क्षेत्रमा एन्टीबडी निर्माण भएको हुन्छ,’ डा बाँस्तोला भन्छन्, ‘एउटै भाइरसले केही प्रकृति बदल्दैमा त्यसविरुद्ध काम नगर्ने भन्ने हुँदैन।’

भ्याक्सिन विकासका क्रममा पनि यस्ता पक्षलाई विचार गरिने भएकाले अहिलेकै भ्याक्सिनले काम गर्ने दावी बाँस्तोलाले गरे। नेपालमा अहिले कोभिड–१९ संक्रमणको अवस्थाबारे नै अध्ययन अनुसन्धान नभएकाले नयाँ भाइरसबारे सोच्नै अवस्था नै नरहेको बाँस्तोला बताउँछन्। 

‘हामीसँग भएको भाइरसको नै अध्ययन हुन सकेको छैन। कुन रुपमा छ ? कस्तो प्रक्रिया भइरहेको छ ? त्यो नै थाहा छैन,’ बाँस्तोला भन्छन्, ‘पहिलाको संक्रमणकै कालमा हामी अल्झि रहेका छौँ। नयाँ को  कुरा त कता हो कता ?’ 

नयाँ स्वरूपको भाइरस नेपाल आउन नदिन सतर्कता अपनाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.पाण्डेले जानकारी दिए। विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनको नियम लागु गरिएको डा. पाण्डेले बताए। 

स्वास्थ्य सतर्कता पनि ध्यान दिन डा.पाण्डेको सुझाव छ। ‘म बलियो छु। मलाई केही हुँदैन। यसले धेरै जनाको मृत्यु पनि भएन भन्ने अहिलेको जुन बुझाइ छ त्यो गलत यो हामीले बुझ्न, बुझाउन नसकेको हौँ,' उनी भन्छन्। 

७० प्रतिशत छिटो फैलिँदै

पछिल्लो समय बेलायत र दक्षिण अफ्रिका हुँदै विश्वभर पुगेको यो भाइरस पहिलेको भन्दा कयौँ गुणा घातक र खतरनाक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। नयाँ प्रजातिको कोरोना भाइरस यसअघिको कोरोना भाइरसभन्दा ७० प्रतिशत छिटो फैलिन सक्ने स्वास्थ्य विज्ञले बताएका छन्। बेलायत हुँदै विश्‍वभर यो भाइरस देखिएपछि उच्च सर्तकता र लकडाउन समेत गर्न थालिएको छ।

दक्षिण अफ्रिका सरकारले जनाए अनुसार त्यहाँ पाइएको कोरोनाको प्रजाति बेलायतमा भेटिएको भन्दा फरक छ। बेलायतका वैज्ञानिकहरु कोरोनाविरुद्धको नयाँ औषधिमा काम गरिरहेका छन्। उनीहरुको दाबी अनुसार यसको प्रयोगले कोरोना संक्रमण रोक्न सकिन्छ। ‘द हेल्थ’ म्यागेजिनले आफ्नो एक रिपोर्टमा यो औषधिलाई संक्रमण सरिसकेका व्यक्तिको उपचारमा प्रयोग  गरिने जनाएको छ। बेलायत सरकार र स्वास्थ्य विभागले यस औषधिबारे औपचारिक बयान दिएका छैनन्। समाचार अनुसार यो औषधिमाथि अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले रिसर्च गरिरहेका छन्। 

बेलायत हुँदै विश्वभर

सन् २०१८ डिसेम्बरमा लागेको कोरोना भाइरस (कोभिड–१९) ले पूरै विश्वलाई आक्रान्त बनाइरहेको छ। यस भाइरस संक्रमणका कारण विश्वभर साढे १७ लाखभन्दा धेरैको ज्यान गइसकेको छ। लामो खोज, अनुसन्धानपछि कोभिड–१९ विरुद्धको खोप विभिन्न देशले तयार गरेका छन्। 

थुप्रै देशले यसको प्रयोग पनि सुरु गरेका छन्। कोभिड–१९ को त्रासबाट कहिले मुक्ति पाइएला? अझै विश्व समुदायमा अन्योलमा छ। खोपको उत्पादन र प्रयोगले  केही आशा सञ्चार गराइरहेको छ। तर त्यो खोप क–कसले पाउने, सर्वसाधारणसम्म कहिले आइपुग्ने, गरिब देशको पहुँचमा कहिले आउने? अझै टुंगो छैन। 

कोभिडविरुद्धको खोप उत्पादन र प्रयोग सुरु भइरहेकै बेला युरोपका केही देशमा कोरोना भाइरस नयाँ रुपमा देखा परेको छ। सुरुमा बेलायतमा पहिचान भएको यो भाइरस अहिले स्पेन, स्विट्जरल्यान्ड, स्वीडेन, फ्रान्स लगायत युरोपेली मुलुकसँगै र जापान, क्यानडा हुँदै संसारभर पुग्न थालेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो नयाँ स्वरूपको कोरोना भाइरस नोभेम्बरमा बेलायतमा फेला परेको थियो। अब बिस्तारै विश्वभर फैलिरहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। थुप्रै देशहरुले बेलायत हुने आवतजावतलाई बन्द र कडाइ गरिसकेका छन्। 

  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १४:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया