आउँदै आठ बीमा कम्पनीको आइपिओ
५ अर्ब बढीको सेयर निस्कासन हुँदै

पछिल्लो समय आइपिओमा आकर्षण बढ्दै गएको छ । सर्वसाधारणसमेत कुन कम्पनीको आइपिओ आउने तयारीमा छ भनी चासो दिँदै प्रतीक्षामा बस्ने गरेका छन् । 
आमसर्वसाधारणको चासोमा रहेको आठ वटा बीमा कम्पनी प्राथमिक सेयर (आइपिओ) निष्कासनको तयारीमा छन् ।

सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ, रिलायबल लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ५ अर्ब रुपैयाँभन्दा बढीको आइपिओ निष्कासन गर्न लागेका हुन् ।

पछिल्लो समय व्यवसाय सुरु गरेका १० नयाँ जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले भने सर्वसाधारणमा सेयर निष्कासन गरिसकेका छन् । रिलायन्स लाइफले ६३ करोड रुपैयाँ र प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गरेका हुन् । कम्पनीको सेयर अहिले दोस्रो बजारमा कारोबार भइरहेको छ ।

आइपिओ निष्कासन गर्न बाँकी रहेका आठ कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको सेयर निष्कासन गर्नेछन् । बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्न नयाँ बीमा कम्पनीले चालू आर्थिक वर्षमा आइपिओ जारी गर्नुपर्ने बाध्यता छ ।

ज्योति पुग्यो बोर्डमा

आइपिओ निष्कासनका लागि ज्योति लाइफले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ भने केहीले बिक्री प्रबन्धक नियुक्त गरी रेटिङको काम गरिरहेका छन् ।
हाल एक अर्ब २० करोड रुपैयाँ पूँजी चुक्ता रहेको ज्योति लाइफले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । कम्पनीले सबै प्रक्रिया पूरा गरी मंसिर २४ गते नै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 



सिटिजनको ७५ लाख कित्ता 

नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । सिटिजनको आइपिओलाई इक्रा नेपालले इक्राएनपी–आइआर (त्रिपल बी) रेटिङ प्रदान गरेको छ ।



आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

युनियन लाइफको ६४ लाख ५० हजार कित्ता

युनियन लाइफले पनि ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने तयारी गरिरहेको छ । संस्थापकबाट एक अर्ब ५० करोड ५० लाख रुपैयाँ संकलन गरी सकेको युनियन लाइफले जारी पूँजीको ३० प्रतिशत आइपिओ निष्कासनपश्चात् दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

युनियन लाइफले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी आइपिओ ग्रेड ४ प्लस प्रदान गरेको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको भन्ने जनाउँछ । कम्पनीले एसबिआई मर्चेन्ट बैंकिङलाई आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

तयारीमा अरु कम्पनी

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ इन्स्योरेन्स गरी चारवटै कम्पनी ६० करोड रुपैयाँका दरले कुल २ अर्ब ४० करोड रुपैयाँको आइपिओ निष्कासन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

हाल यी कम्पनीले संस्थापकबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन् । प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आइपिओ​ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ ।

नयाँ बीमा कम्पनीमा तीन निर्जीवन बीमा र दुई जीवन बीमा कम्पनीले आइपिओ निष्कासन गरिसकेका छन् । आइपिओ निष्कासन गर्नेमा निर्जीवन बीमातर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स नेपाल रहेका छन् । 

  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार ७:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया