जग्गा धनीलाई थाहा नै नदिई बिक्री : मुख्य योजनाकार खोज्दै प्रहरी
मालपोत कार्यालय सुर्खेत ।

वीरेन्द्रनगर–६ का सौगात रावतले आफ्नो जग्गा अर्कैको नाममा नामसारी भएको झण्डै ७ महिनापछि थाहा पाए । वीरेन्द्रनगर–१२ मा रहेको साढे ६ कट्ठा क्षेत्रफलको जग्गामध्ये करिब साढे ३ कट्ठा उनले थाहा नै नपाई अर्कैको नाममा नामसारी भएको खुलेको हो । पुस २९ गते नापी कार्यालय सुर्खेतमा जग्गाको ट्रेस नक्सा निकाल्न खोज्दा कित्ता काट गरी अर्कैको नाममा नामसारी गरिएको पत्ता लागेको उनले बताए ।

रावतको कित्ता नम्बर ३१११ को जग्गा ०७७ असार ८ गते वीरेन्द्रनगर–१ निवासी सहवीर कार्कीको नाम हुँदै असार १० गते अन्य ६ जनाको अंशबन्डामा नामसारी समेत भइसकेको खुलेको छ ।

जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा किन्ने व्यक्ति र धनीबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले नामसारी गर्दछ । तर, मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा रावतको जग्गा कित्ताकाट गरिएको पाइएको हो ।

जग्गा खरिद बिक्री गर्दा सामान्यतया सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिनुपर्छ । वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले वडा कार्यालयबाट सबै प्रक्रिया पूरा भएपछि मात्र आफूले सिफारिस गरेको बताएका छन् ।

यसरी आफूले थाहा नै नपाई अर्कैको नाममा गएको थाहा पाएपछि रावतले सो दिन (पास भएको दिन) रजिस्ट्रेसन फाँटमा मालपोत कार्यालयका कर्मचारी (नायबसुब्बा) विश्वरुप साउदको इन्ट्री भएको थाहा पाएपछि कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका थिए । रावतले पुस २९ गते नै दिएको निवेदनका आधारमा माघ १ गते कर्मचारी साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

साउद पक्राउ परेसँगै त्यसमा जग्गा व्यवसायी सन्तोष ठाकुरको समेत संलग्नता रहेको खुलेको छ । सावदले जग्गा नामसारी गर्ने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेलीमा बस्दै आएका ३२ वर्षीय सन्तोष ठाकुर रहेको बयान दिएको बताइएको छ ।



ठाकुर हाल फरार छन् । उनी सहित त्यसमा संलग्न अन्य फरार अभियुक्तको खोजी तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले अनुसन्धानबाट जो जो संलग्न भएको पाइन्छ त्यसलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

‘पीडितले दिएको निवेदनका आधारमा अहिले फरारको खोजी भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानबाट थप कुरा खुल्दै गएका छन् । जसको आधारमा हामी अघि बढिरहेका छौँ ।’



मालपोतको काम ठप्प पार्ने चेतावनी

कार्यालयका कर्मचारी (नायब सुब्बा) विश्वरुप सावदलाई तत्काल रिहाइको माग गर्दै मालपोत कार्यालय सुर्खेतका कर्मचारीले कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार संयुक्त हस्ताक्षरसहित निकालिएको विज्ञप्तिमा कर्मचारीहरूले केही व्यापारी र प्रहरी प्रशासनको मिलेमतोमा कार्यालय प्रति नकारात्मक र घृणित सोच भएका युवाहरूले राष्ट्रसेवक कर्मचारीको मनोबल र इज्जतमाथि नै खेलवाड भएको बताएका छन् ।

कर्मचारीलाई बिना जानकारी प्रहरीको नियन्त्रणमा लिई अनेकन प्रलोभन, डर, धम्की दिई बिना आधार प्रमाण अपहरण शैलीमा राखिएकाले बिनासर्त रिहाइको माग गरेका छन् ।

  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १७:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया