राष्ट्रिय प्रसारण नपुगेको जुम्लामा यसकारण लोडसेडिङ तालिका
अब दैनिक साढे सात घण्टा बिजुली बल्ने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले जुम्लामा दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् दिने गरी नयाँ समय तालिका तय गरेको छ। राष्ट्रिय प्रसारण ग्रिड नपुगेको जुम्लामा यसअघि प्राधिकरणले  एक दिन बिराएर विद्युत् आपूर्ति गर्दै आएको थियो। अब दैनिक सातदेखि साढे सात घण्टासम्म विद्युत् उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एउटा समूहबाट दैनिक सात र अर्कोबाट साढे सात घण्टा विद्युत् आपूर्ति हुने गरी नयाँ तालिका तय गरेको हो। प्राधिकरणले ११०/११० किलोवाट क्षमताका दुईवटा युनिट रहेको लघु जलविद्युतबाट विद्युत् उत्पादन गरी जुम्ला सदरमुकाम र आसपासका क्षेत्रमा आपूर्ति गर्दै आएको छ। 

हिउँदमा खोलामा पानी घट्ने भएकाले अहिले आयोजनाबाट १३० देखि १४५ किलोवाटसम्म मात्रै विद्युत् उत्पादन हुन्छ। विद्युत माग र आपूर्तिको सन्तुलन मिलाई उपभोक्ताले दैनिक विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका  कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।

‘प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो होइन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै थियो। अब दैनिक विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो', उनले भने, 'यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौं। कर्णालीका कालिकोट, हुम्ला र मुगुमा चालु आर्थिक वर्षभित्रमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने कोसिस गरिरहेका छौं।’

जुम्लामा राति २ बजेदेखि बिहान ५ बजेसम्म विद्युत उत्पादन बन्द गरी पानी जम्मा गरिन्छ। त्यसरी जम्मा भएको पानीबाट बिहान विद्युतगृह सञ्चालन गरी विद्युत् आपूर्ति गरिन्छ। फेरि बिहान ८ बजेदेखि १० बजेसम्म विद्युत गृह बन्द गरिन्छ। 



जम्मा भएको पानीबाट १० बजेपछि ४ बजेसम्म विद्युत् उत्पादन गरी आपूर्ति गरिन्छ। साँझ विद्युत आपूर्तिका लागि विद्युत गृह फेरि दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म बन्द गरिन्छ। ६ बजेपछि विद्युतगृह सञ्चालन गरी राति २ बजेसम्म विद्युत् आपूर्तिको व्यवस्था गरिएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगुमा राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत पुर्‍याउन दैलेखबाट कालिकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन अवस्थामा रहेको शाक्यले बताएका छन्। 



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १८:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया