प्रतिनिधिसभा विघटनको मुद्दामा प्रतिपक्षी दल कांग्रेसभित्रै एकमत नरहेको भन्दै राजनीतिक वृत्तमा चर्चा चलिरहँदा सो पार्टीका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग यस विषयमा छलफल गरेका छन् । पौडेलकै निवास बोहराटार पुगेर देउवाले पार्टीको एउटै धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका छन् ।
दिउँसो ४ बजे पौडेलनिवास पुगेका देउवाले उनीसँग करिब डेढ घण्टा छलफल गरेका थिए । छलफलका क्रममा देउवाले प्रतिनिधिसभा विघटनको विषयमा पार्टीभित्र साझा धारणा नरहेको सन्देश बाहिर जाँदा अप्ठ्यारो परेको भन्दै एउटै मत बनाएर जान प्रस्ताव गरेका थिए ।
जवाफमा पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानलाई धरापमा पारेको भन्दै कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्ने बताए । विधि रक्षाका लागि कांग्रेस छ भन्ने भरोसा जनतालाई दिनुपर्ने उनको अडान थियो ।
पछिल्लो राजनीतिक घटनाक्रममा वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा छन् भने सभापति देउवाले चुनावमा जान उपयुक्त हुने भन्दै कार्यकर्तालाई सोहीअनुरुप लाग्न भनेका छन् । सो विषयमा अदालतले गर्ने निर्णय कांग्रेसलाई मान्य हुने देउवा पक्षले बताउँदै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।