प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित दर्ता गरेको छ । उसले मंगलबारको खेलमा गण्डकी प्रदेशमाथि ५ विकेटको जित हात पारेको हो । गण्डकी दिएको २०५ रनको लक्ष्य कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
उसका लागि हिमांशु शाहीले अविजित ६८ रनको योगदान दिए । ६० बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । विपिन रावलले ४५ बलको साना गर्दै ४ चौका र ३ छक्काको मद्दतले ४९ रन बनाए । राज शाहले ३२ रनको योगदान दिए ।
गण्डकीका लागि कप्तान विपिन खत्रीले ४ र सुवास भण्डारीले १ विकेट हात पारे । खत्रीले १० ओभरमा ५५ र भण्डारीले ७ ओभरमा १ मेडनसहित ३२ रन खर्चिए ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल तयार पारेको थियो ।
उसका लागि राहुल उपाध्यायले अर्धशतकीय पारी खेले । २७.४ ओभरमा दिवान पुनको बलमा एलबिडब्ल्युको सिकार बनेका उनले ६४ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५३ रन प्रहार गरे ।
युवा ब्याट्सम्यान अर्जुन कुमालले पनि आजको खेलमा उत्कृष्ट प्रदर्शन गरे । कप्तान रविन्द्रजंग शाहीको बलका विकेटकिपर विपिन रावलको हातबाट क्याच हुनुअघि उनले १०६ बलमा ६ चौकाको मद्दतले ४६ रन बनाए । बिपिन खत्रीले ३२ रनको योगदान दिए ।
कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले समान २–२ विकेट लिए । रविन्द्रजंग शाहीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
अधिकारीले ६.३ ओभरमा २५, चुनाराले ७ ओभरमा १ मेडनसहित २५ समान १०–१० ओभर बलिङ गर्दै समान २–२ मेडन राखेका पुनले १४ र शाहीले ३८ रन खर्चिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।