प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेको छ । उसले मंगलबारको खेलमा प्रदेश–२ माथि ७७ रनको जित हात पारेको हो ।
लुम्बिनीले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा ४२.४ ओभरमा सबै विकेट गुमाएको प्रदेश–२ मात्र १८० रनमा समेटियो ।
प्रदेश–२ का लागि विवेक यादवले अर्धशतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । ४२.४ ओभरमा विक्रम भुसालको बलमा प्रकाश केसीबाट क्याच भएका उनले ४९ बलको सामना गर्दै समान ३–३ चौका र छक्काको मद्दतले ५१ रन प्रहार गरे । सुधीर चौधरीले ४२, महबुब आलमले ३१ र हरिशंकर शाहले २२ रनको योगदान दिए ।
लुम्बिनीका लागि अनिल खरेलले ४, देवेन्द्र रावत र विक्रमले समान २–२ कप्तान कृष्ण कार्की र अमित तामाङले समान १–१ विकेट हात पारे ।
खरेलले ४ ओभरमा २ मेडन राख्दै २९, रावतले ७ ओभरमा २९, विक्रमले ६.४ ओभरमा ३१, कार्कीले ९ ओभरमा १ मेडन राख्दै ३५ र तामाङले ५ ओभरमा ३० रन खर्चिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रनको योगफल तयार पारेको थियो ।
उसका लागि सन्दीप रजाली र सौरभ खनालले उत्कृष्ट प्रदर्शन गरे । रजालीलाई ४०.४ ओभरमा कुमार थापाले आफ्नै बलमा क्याच गराएका थिए । १०७ बलको सामना गरेका उनले ११ चौकाको मदतले ८३ रन प्रहार गरे ।
२६.४ ओभरमा हरिशंकर शाहको बलमा विशाल सुस्लिङको हातबाट क्याच हुनुअघि उनले बलमा ५ चौका र ३ छक्काको मद्दतले ५६ रन बनाए । विक्रम भुसालले ३६ रनको योगदान दिए ।
प्रदेश–२ का लागि हरिशंकर शाहले ३, दिव्यांशु मल्लिकले २, सैफुल्लाह अन्सारी, विशाल शुस्लिङ र कुमार थापाले समान १–१ विकेट हात पारे । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
समान १०–१० ओभर बलिङ गरेका शाहले ४८, मल्लिकले १ मेडनसहित ४५, अन्सारीले १ मेडनसहित ४९,थापाले ८ ओभरमा ४१, सुस्लिङले ३ ओभरमा १४ रन खर्चिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।