मंगल थापा पनि अब दाहाल-नेपाल नेकपाको नेता
ओलीको प्रशंसा गरेको एक महिनामै फेरिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भोलिपल्ट समर्थनमा उत्रिएका एकजना विवादित पात्र मंगल थापालाई नेकपा दाहाल-नेपाल समूहले भित्र्याएको छ। आफ्नो चर्को भाषण र बोलीबाट चर्चा कमाएका उनलाई मंगलबार दाहाल-नेपाल समूहका नेताहरुले आफ्नो समूहमा भित्र्याएका हुन्। 

थापाले पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन र मध्यावधि चुनाव घोषणाका लागि चालेको कदम संवैधानिक र लोकतान्त्रिक भएको बताएका थिए। तर त्यसको ठ्याक्कै एक महिनापछि उनी ओलीलाई छाडेर दाहाल-नेपालतिर लागेका हुन्। 

उनलाई नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता योगेश भट्टराई, अनेरास्ववियुका रञ्जीत तामाङसहितले स्वागत गरेका छन्। उनलाई यसअघि ओली समूहले अनेरास्ववियुको केन्द्रीय सदस्यसमेत बनाएको थियो।

उनले पुस ६ गते रिपोर्टर्स क्लबमा बोल्दै संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक नभएको जिकिर गरेका थिए।  ‘संसद विघटन प्रधानमन्त्री ओलीको रहर नभएर बाध्यात्मक परिस्थितिले चाल्नु परेको कदम हो’, उनले भनेका थिए। थापाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको समेत बताएका थिए।

थापाले पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपालले सत्ता र शक्तिको लोभमा पार्टीलाई कमजोर बनाउने खेलमा आरोप पनि लगाएका थिए। प्रधानमन्त्रीले मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान खोज्दा आफ्नै पार्टीका नेताहरुले बाधा पुर्याएकोले संसद विघटनको बाध्यात्मक बाटो प्रधानमन्त्रीले रोजेको बताए।

प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरु पुनः चुनावको सामना गर्न डराएको उनले बताएका थिए। ‘सत्ता र शक्तिको प्रलोभनमा प्रचण्ड र माधव कुमार नेपालले पार्टीको मर्म, सिद्धान्त र भावना विपरित गृहकार्य गरिरहनुभएको छ,’ उनले  भनेका थिए।  





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १६:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया