देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक : अध्यक्ष लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् ।

‘देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक भएको छ । शासन जनताले गर्ने, बेलायत, क्यानाडा, नर्वेमा जस्तो अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ,’ राप्रपा मोरङले आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो ।’
 
भागभण्डाका कारण प्रशासनयन्त्रमा आठपहरिया प्रवृत्ति चलिरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे । ‘एक वर्षमा तीन–तीनपटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो ?’ उनको प्रश्न थियो । 

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले देश अस्थिर बनेको र संंवैधानिक संकट खडा भएको बताए । नेता श्याम तिमल्सिनाले राप्रपा विकल्प दिन एक भएको र त्यसैअनुरुप देश र जनताको हितमा विकल्प दिने बताए ।

राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दु राष्ट्र पुनस्थापना हुनुपर्छ भन्ने युवाहरुको मागबमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए । नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नुपर्ने बताए । 

विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा विश्वमोहन थापा, राजु लोहनी, दिनेश साह, आरती गेलाल, दुर्गाबहादुर अधिकारी, माधव आचार्यलगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार १७:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया