दाहाल-नेपालको सभा : उपत्यकामा सुरक्षा निकाय ‘हाई अलर्ट’
​ड्रोन क्यामेरादेखि पानीको फोहोरासमेत प्रयोग गरिँदै

काठमाडौं : सरकारविरुद्ध नेकपा दाहाल–नेपाल समूहले पुस ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएपछि प्रहरीले सुरक्षा तयारी तीव्र बनाएको छ। दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै भाषामा  टाउको फुटाउने तयारीसहित कार्यक्रम गर्न लागिएपछि प्रहरी उच्च तयारी थालेको हो। 

झडप हुने चिन्ता 

प्रचण्डले आइतवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन युवाहरुलाई निर्देशन दिइसकेका छन्। साकाहारी आन्दोलनले मात्रै नहुने बताउँदै उनले अब हिंसात्मक झडपसम्म हुने संकेत गरिसकेका छन्। 

यही माघ ४ गते उनले केन्द्रीय कार्यालय पेरिस डाँडामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै  साकाहारी आन्दोलनले केही नहुने मात्रै भनेनन् कार्यकर्तालाई आक्रमक भएर उत्रिन आग्रह समेत गरे।

९ पुसमा हुने भनिएको आन्दोलनलाई लक्षित गर्दै दाहालले केही अप्ठ्यारा शब्द पनि बोलेका थिए। ‘खै ! मलाई आजभोलि के भएको हो? के चिलाएको हो? टाउको फुटाउन मन छ’, दाहालले भनेका थिए, ‘उहिले गिरिजाबाबुले रत्नपार्कमा उत्रिएर टाउको फुटाउनु भएको थियो। अब उहाँ जस्तै म आन्दोलनको अगाडि जान्छु। यसपटक लाठी खान मन छ। तपाईँहरूको रक्षाका लागि मेरो टाउको फुटाउन तयार छु।’ 

सुरक्षा निकाय ‘हाई अलर्ट’



यी शब्द प्रचण्डले भनिसकेपछि सुरक्षा निकायले संवेदनशील रुपमा लिएको छ। ९ पुसमा काठमाडौं केन्द्रित हुने विरोध सभालाई लिएर सुरक्षानिकाय ‘हाइ अलर्ट’ मा छन्। नेकपा अध्यक्ष ‘प्रचण्ड’ को अभिव्यक्तिले देशभर तनाव उत्पन्न हुने सम्भावना रहेको  विश्लेषण गर्दै चारवटा सुरक्षा निकाय उच्च सतर्कता अपनाउने तयारीमा जुटेका छन्। 



अहिलेसम्म औपचारिकरुपमा दाहाल–नेपालको कार्यक्रमस्थल तय भइसकेको छैन। तर विरोध कार्यक्रमहरु हुँदै आएका सम्भावित स्थलको अनुगमन तथा निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ। 

थप प्रहरी तैनाथ 

सामान्य अवस्थाको सुरक्षाभन्दा ९ पुसमा कडा बनाइने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले अहिलेको भन्दा धेरै संख्यामा प्रहरी खटाउने तयारी भइरहेको बताए। प्रहरी हेडक्वार्टर तथा महानगरीय प्रहरी कार्यालयबाट समेत संख्या थपेर प्रहरी खटाउने तयारी भएको उनले बताए।

दाहाल–नेपाल समूहले विरोधसभामा २ लाख मान्छे ल्याउने धम्की दिएपछि सुरक्षा निकायले पनि त्यही अनुसारको रणनीति तय गरेको छ। विरोधसभा स्थलको औपचारिक जानकारी नआए पनि सम्भावित ठाउँमा अहिलेदेखि नै निगरानी बढाइएको छ। कार्यक्रमका दिन उपत्यकाका प्रहरीसँग भएको सबै स्रोतसाधन प्रयोग गर्ने रणनीतिमा प्रहरी रहेको स्रोतले जनाएको छ। 

यस्तो छ तयारी

प्रहरीले अहिलेदेखि नै सूचना संकलनका लागि सादा पोसाकमा टोली परिचालन गरिसकेको छ। विरोध कार्यक्रमको निगरानीका लागि प्रहरीले ड्रोन क्यामेरा पनि प्रयोगमा ल्याउने भएको छ।

यसका साथै अश्रु ग्यास, पानीको फोहरा हान्ने गाडीसहितका सामाग्री तयारी अवस्थामा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। भीड व्यवस्थापनमा दक्ष प्रहरी अधिकारीलाई कार्यक्रमस्थलमा खटाएर मर्यादित भएर सुरक्षा व्यवस्थापन गर्ने प्रहरीको तयारी छ। 

गृहको निर्देशन

यता गृह मन्त्रालयले नेकपा दाहाल–नेपाल समूहको जुलुसमा हुलदंगा हुनसक्ने भन्दै सबै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ रहन निर्देशन दिएको छ। प्रदर्शनका क्रममा हुन सक्ने तोडफोडलाई मध्यनजर गरी सशस्त्र प्रहरी र नेपाली सेनाले समेत मातहतका सबै इकाइहरुलाई उच्च सतर्कता साथ रहन निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी भीड व्यवस्थापनमा खट्नेछन्। अर्कातिर राष्ट्रिय अनुसन्धान विभागले निगरानी गर्ने भएको छ। परबाट निगरानीका लागि सेनाको विशेष टोली पनि सादा पोसाकमा राख्ने तयारी गरिएको स्रोतले दाबी गरेको छ।

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार ७:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया