बाग्मती प्रदेशमा अविश्वास प्रस्तावबारे छलफलका लागि कार्यविधि मस्यौदा समिति गठन
कालो मास्क लगाएर संसद भवनभित्र छिर्न निषेध

बागमती प्रदेश सभाको सातौँ अधिवेशन बुधबार ३ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिले भोलि ३ बजेका लागि सम्भावित कार्यसूची तयार गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । तीन घण्टाभन्दा लामो समय बसेको कार्यव्यवस्था परामर्श समितिमा अविश्वासको प्रस्तावबारे निर्णय गर्ने कार्यविधिको छलफलमा रस्साकस्सी परेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

उनका अनुसार माधव–प्रचण्ड समूहका प्रदेश सांसद राजेन्द्र पाण्डेले प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई सीधै संसद बैठकमा पक्ष र विपक्ष गर्नुपर्ने माग राखेका थिए । पाण्डेले बुधबार नै प्रस्ताव माथि छलफल भएर बुधबार नै निर्णय हुनुपर्ने बताएका थिए । पाण्डेका कुरा सुनेपछि बैठकमा सहभागी ओली पक्षका सदस्यहरुले अविश्वासको प्रस्ताव कि सूचना ? भन्दै प्रश्न गरेका थिए । 
 
पाण्डेले राखेको मागबारे आफ्नो पार्टीको धारणा राख्दै नेपाली कांग्रेसका सचेतक छिरिङ दोेर्जे लामाले विधिअनुसार गर्नुपर्ने बताएका थिए । आवेश र झोकमा निर्णय गर्न नहुने उनको सुझाव थियो । 
 
अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति गठन

सांसद राजेन्द्र पाण्डेको कुरामा सहमति हुन नसकेपछि मुख्यमन्त्री डोरमणि पौडेलमाथि परेको अविश्वासको प्रस्तावबारे निर्णय गर्न कार्यविधि समिति गठन भएको छ । समितिलाई बुधबार नै प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ । जसका लागि बुधबार बिहानै बैठक बस्ने सहमति भएको कार्यव्यवस्था परामर्श समितिकी सदस्य रिना गुरुङले बताइन् । उनका अनुसार प्रस्तावबारेको मत विभाजनका लागि कार्यविधि बनाउन ‘अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समिति’ गठन गर्ने निर्णय भएको हो ।

बैठकले नेकपाका मुख्य सचेतक केशव पाण्डे, सचेतक बुद्धिमान माझी, नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामा, सांसद राजेन्द्र पाण्डे, गणेश दुलाल, रिता माझी, रिना गुरुङ, शोभा शाक्य र प्रदेशसभाका सचिव कृष्णहरि खड्का रहेको समिति गठन गरेको छ । समितिले दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि बनाउने छ । उक्त कार्यविधि संसद बैठकमा स्वीकृत भएपछि मात्रै प्रस्तावमाथि छलफल हुनेछ । 
 
बुधबारको बैठकमा औपचारिक कार्यतालिका धेरै हुने देखिएको छ । सो बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, प्रदेश प्रमुखले कार्यभार तोकेको पत्र पढेर सुनाउने, सातौँ अधिवेशनको अवसरमा प्रत्येक दलका नेताले शुभकामना दिने कार्यसूचीमा सहमति भएको परामर्श समितिका सदस्य समेत रहेका नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिङदोर्जे लामाले बताए ।

बाग्मती प्रदेशसभामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । संसद भवनभित्र छिर्नेहरुले कालो मास्कसमेत लगाउन नदिने गरी मर्यादापालक र प्रहरीलाई निर्देशन दिइएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार २०:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया