विश्वका थुप्रै मुलुकमा अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । नेपालको दक्षिणी छिमेकी देश भारतमा पनि कोरोना खोप अभियान सुरु भएको ४ दिन भइसकेको छ ।
सरकारले नेपालमा कोरोना खोप भित्र्याउन लागि परिरहेको जानकारी दिन थालेको निकै भइसक्यो । यसैबीच बुधबार नेपालका भारतबाट कोरोना खोप आउने भनेर चर्चा चलिरहेको छ । विभिन्न स्रोतको हवला दिँदै थुप्रै मिडियाहरूले यसबारे समाचार पनि प्रकाशन गरिरहेका छन् ।
केही भारतीय अनलाइनहरुले पनि भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, म्यानमार लगायत छिमेकी देशमा बुधबार कोरोना खोप पठाउन लागेको भनी खबर दिएका छन् ।
चर्चा भएअनुसार नेपालमा बुधबार कोरोना खोप नआउने स्वास्थ्य मन्त्रालय स्रोतले स्पष्ट पारेको छ । नेपालको कोरोना खोप कहिले ल्याउने कसरी ल्याउने अन्तिम टुंगो लगाउन बुधबार स्वास्थ्य मन्त्रालयमा बैठक बस्दैछ ।
मन्त्रालय स्रोतका अनुसार आजको बैठकपछि पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी छ ।
कोरोना खोपकै तयारीका लागि मंगलबार बेलुकासम्म स्वास्थ्य मन्त्रालयमा बैठक बसेको स्रोतले जानकारी दिएको छ । बैठकमा नेपालका कोरोना खोप भित्र्याउने जिम्मा पाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण मशाखाशाका अधिकारीहरु, स्वास्थ्य सेवा विभाग इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका अधिकारी र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।
नेपालका खोप आउनेबित्तिकै वितरणका लागि सबै तयारी भइसके पनि खोप आउने दिनको टुंगो लागि नसकेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
'जतिसक्दो छिटो ल्याउने तयारी छ, अहिलेसम्म दिन नै चाँही तोकिएको छैन' स्रोत भन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।