बहस लम्बिएपछि प्रधानन्यायाधीशले वकिलका लागि तोके समय

काठमाडौं :  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा सहभागी वकिलहरूले अब ३० मिनेट मात्रै बहस गर्न पाउने भएका छन्। एकैजना वकिलले दिनभरी बहस गर्न थालेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वकिलहरूका लागि समय तोकेका हुन्। 

बहसका लागि वकालतनामा लेखाएका वकिलहरूको संख्या नै तीन सय हाराहारी छ। यस्तोमा एकजना वकिलले नै बहसमा पूरै दिन समय बिताउन थालेपछि प्रधानन्यायाधीश जबराले समय निर्धारण  गरेका हुन्। अब एकजना वकिलले ३० मिनेटभित्र आफ्नो बहस सक्नुपर्ने भएको छ। 

यही आइतबारदेखि संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दा बल्ल मूल विषयमा प्रवेश गरेको थियो। आइतबार डा. भिमार्जुन आचार्य, सन्तोष भण्डारी, बद्रीराज भट्ट र सुनिल पोखरेलले बहस गरेका थिए। भिमार्जुन आचार्यले एक्लैले तीन घण्टा बढी बहस गरेका थिए। सोमबार दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले समय लिएर बहस गरे। सोमबार पोखरेलले पनि ३ घण्टा बढी समय लिएका थिए।

बहस गर्ने अधिवक्ताको संख्या धेरै र बहस लामो हुँदा प्रधानन्यायाधीशले समेत चासो लिएका थिए। सुनुवाइ गर्दागर्दै चुनाव मितिसम्म पुग्ने स्थिति आउने जनाउँदै न्यायाधीश अनिलकुमार सिन्हाले भनेका थिए, ‘झारखण्डको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको र जनता मतदानका लागि जागिसकेकाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला, त्यसैले यहाँहरूले समयलाई म्यानेज गर्नुस्।’

यो मुद्दामा बहस गर्ने अधिवक्ताहरूको संख्या बढ्दै गएको छ। यो मुद्दामा बहस गर्न ३ सय ६३ जना बढी वकिलले वकालतनामा भरेका थिए।  विघटनविरुद्ध बहस गर्नेहरूको संख्या १८८ पुगेको थियो। तीमध्ये ८० भन्दा बढी वरिष्ठ अधिवक्ता छन्।





  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १२:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया