देशभर यसरी वितरण गरिँदैछ कोरोनाविरुद्धको खोप
स्वास्थ्यमन्त्री भन्छन् : तयारी अवस्थामा छौं, शंका नगर्नू

काठमाडौं : नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो लट भोलि काठमाडौं आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर कोरोनाविरुद्धको १० लाख डोज खोप भोलि (बिहीबार) नेपाल आइपुग्ने जाकारी दिएका हुन्। 

भारतले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप सुरुमै फ्रन्टलाइनमा खटिनेलाई लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले यसबारेमा जानकारी दिएका हुन्। भारतमा सिरम इन्स्टिच्युटले उत्पादन गरेको १० लाख डोज कोभिसिल्ड खोप बिहीबार काठमाडौं आइपुग्ने भएको हो।

मन्त्री त्रिपाठीका अनुसार यो खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिनेहरूलाई लगाइने छ। 'नेपालमा ७२ प्रतिशत जनसंख्या खोपका लागि उपयुक्त रहेको ठहर हामीले गरेका छौं', उनले भने, 'भारतबाट बिहीबार आउने यो खोप हाम्रो जनसंख्याको ३ प्रतिशत 'फ्रन्टलाइन'का योद्धाहरुलाई लगाइनेछ।'

त्रिपाठीका अनुसार यो खोप देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनकर्मी, चिकित्साकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलाई लगाइनेछ। त्यसबाट बाँकी भएको खोप उच्च जोखिमका अन्य समुदायलाई क्रमश: लगाउँदै जाने उनले बताएका छन्।

भारतले मंगलबार मात्रै नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। भारतमा सिरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा ल्याइसकिएको छ। त्यहाँ एक सातादेखि कोरोनाविरुद्धको खोप दिइन थालिएको छ। 



पहिलो चरणमा नौ लाखलाई 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतबाट बिहीबार आइपुग्ने कोरोनाविरुद्धको खोप पहिलो चरणमा कूल जनसंख्याको तीन प्रतिशतलाई दिइनेछ। यो नेपालको जनसंख्याको करिब ९ लाख हुन आउँछ। ९ लाख जनसंख्याभित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापनकर्मी, चिकित्साकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकसहित पर्छन्। 



स्वास्थ्य मन्त्री त्रिपाठीले ७७ जिल्लाका स्वास्थ्यकर्मीबाट खोप लगाउन थालिने बताएका छन्। उनका अनुसार कोरोनाविरुद्धका तीन प्रतिशत योद्धालाई लगाइसकेपछि जोखिम हेरेर अन्यलाई लगाउन थालिनेछ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभरका जिल्ला अस्पतालमा बुथ राखेर कोरोनाविरुद्धको खोप दिइनेछ। गौतमका अनुसार एक दिनमा एउटा बुथबाट १ सयजनालाई खोप दिने योजना बनाइएको छ। 

यो खोप लगाउन यसअघि अन्य खोप कार्यक्रममै खटिने स्वास्थ्यकर्मीले जिम्मेवारी पाउने भएका छन्। खोप दिनका लागि सरकारले यसअघि नै तालिम र अभिमुखीकरण कार्यक्रम चलाइसकेको छ। मन्त्रालयले अहिलेसम्म ८ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ।

कसले लाउन पाउँदैनन्

मन्त्रालयले खोप दिने मानिसको मापदण्ड पनि तय गरिसकेको छ। गौतमका अनुसार गर्भवती र स्तनपान गराइरहेकाहरुलाई यो खोप दिइने छैन। कोरोना खोप १८ वर्षमुनिका, गर्भवती, स्तनपान गराइरहेका र एलर्जी देखिएकाहरुलाई लगाइने छैन।  तर कोभिड भएका गर्भवतीलाई भने यो खोप दिइने भएको छ। 

निगरानी
मन्त्राालयले यो खोप दिइसकेपछि ३० मिनेटसम्म स्वास्थ्यकर्मीबाट निगरानी गर्ने छ। पहिलो खेपमा ०.५ मिलिलिटर खोप दिने तयारी छ। खोप लगाइसकेपछि कुनै स्वास्थ्य समस्या देखिएमा तत्कालै उपचारका लागि लगिने स्वास्थ्य केन्द्रबारे पनि मन्त्रालयले टुंगो गरिसकेको गौतमले बताए।

‘खोप लगाइसकेपछि ३० मिनेट स्वास्थ्यकर्मीले निगराीन गर्नेछन्', प्रवक्ता गौतमले भने, 'खोप लगाइसकेपछि समस्या देखिएमा कहाँ लाने, कहाँ सम्पर्क गर्ने, त्यो सबै हामीले टुंगो लगाइसकेका छौं।'

मृत्यु भए व्यक्ति नै जिम्मेवार

खोप लगाइसकेपछि स्वास्थ्यमा समस्या देखिएमा सरकारले नै उपचार गरिदिने भएको छ। यदि मृत्यु भएको अवस्थामा भने सरकारले त्यसको जिम्मेवारी लिन नसक्ने गौतमले जानकारी दिए। 'कोरोना खोप स्वेच्छाले लाउनुपर्छ, कसैलाई पनि बाध्यतामा पारेर लाउनु भन्दैनौँ', उनले भने, 'यदि खोप लगाइसकेपछि केही समस्या भए सरकारले उपचार गर्छ तर मृत्यु भएमा त्यसको जिम्मेवारी लिन सकिँदैन।'

कसरी राखिन्छ खोप?

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार  २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खोप भण्डारण गर्ने पूर्वाधार बनाइसकिएको छ।  यो खोपलाई सरकारले न्यूनतम् तापक्रममा राख्ने गरी भण्डारण पूर्वाधार बनाइसकेको छ।

गौतमका अनुसार २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने भ्याक्सिन आएमा अहिलेकै कोल्ड रुमले पुग्छ। त्यसका लागि ७ हजार ५ सय र ३ हजार ७ सय ५० लिटर भण्डारण क्षमता तयारी अवस्थामा छन्  मन्त्रालयले भ्याक्सिन राख्‍ने क्षमता, भ्याक्सिन स्टोर र काठमाडौं बाहिर भ्याक्सिन लैजान रेफ्रिजिरेटर भ्यान पनि तयारी अवस्थामा राखेको गौतमले बताए।

मन्त्रालयले तयार पारेका कोल्ड रुममध्ये पहिलोमा २८ लाख ७३ हजार ५ सय ६० डोज राख्न सकिन्छ। दोस्रोमा १३ लाख ४१ हजार डोज भ्याक्सिन भण्डारण गर्न सकिने गौतमले बताए। सरकारले काठमाडौं बाहिर पनि भ्याक्सिन राख्ने पूर्वाधार बनाइसकेको छ।

जस अनुसार बाराको पथलैया तीन कोल्ड रुममा कोभिड भ्याक्सिन राखिँदैछ। त्यहाँबाट प्रदेश ३ को राजधानी हेटौंडा र प्रदेश २ मा भ्याक्सिन वितरण हुनेछ। प्रदेश १ को राजधानी विराटनगरका तीन कोल्डरुममध्ये एउटामा कोभिड भ्याक्सिन राखिनेछ। २ हजार २ सय ५० लिटर क्षमताको उक्त कोल्ड रुपमा ८ लाख ६२ हजार डोज भ्याक्सिन राख्न सकिने गौतमले जानकारी दिए।

सरकारले पश्चिमतर्फ पोखरा, बुटवल र धनगढीमा एक एक वटा कोल्ड रुममा कोभिड भ्याक्सिन राख्ने तयारी गरेको छ। नेपालगन्ज र सुर्खेतमा पनि कोल्ड रुम तयार भइसकेको गौतमले बताए। यी कोल्ड रुमबाट देशका अन्य जिल्लामा भ्याक्सिन वितरण गरेर लगाइने तयारी भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्। 

मन्त्रीका कुरा 

स्वास्थ्य मन्त्री त्रिपाठीले बिहीबार १० लाख डोज खोप अनुदानमा आउन लागेको बताउँदै यो काम नेपाल र भारतबीचको अनुपम उदाहारण रहेको पनि बताए। 'यो खोप उपलब्ध गराएकोमा हामी भारत सरकारलाई धन्यवाद दिन्छौँ', उनले भने, 'बाँकी खोप खरिदमा पनि भारत सरकारको सहयोग महत्वपूर्ण हुनेछ।'

उनले सरकारले फागुनसम्ममा खोप ल्याउने योजना बनाए पनि माघमै आएकोमा खुसी व्यक्त गरे। 'हामीले खोप फागुनसम्म आउँछ भन्ने अनुमान गरेका थियौँ। तर पहिलो खोपको पहिलो खेप भोलि नै आउँदैछ', उनले भने, 'मलाई विश्वास छ अब कारवाही हुँदैन होला !'

त्रिपाठीले यो स्थिति यतिकै नरोकिने बताए। 'यो स्थिति यहीँ थामिँदैन, बाँकी खोप खरिद प्रक्रिया अघि बढाएर दिँदै जानेछौँ', उनले भने, 'म कुनै अपारदर्शी काम गर्दिनँ। अपरादर्शी हुने त्यस्तो फाइलमा म ओम पनि लेख्दिनँ।'

त्रिपाठीले सरकारको अहिलेको प्राथमिकता संक्रमणलाई रोक्ने र संक्रमित भइसकेकालाई बचाउने रहेको पनि बताए। 'अब भारतबाट खोप आइसकेपछि पहिलो चरणमा 'फ्रन्टलाइन'मा खटिनेहरूलाई दिँदैछौं', उनले भने, 'खोप खरिददेखि वितरणसम्मको सबै प्रक्रियालाई म एकदमै पारदर्शी बनाउँछु।'

  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १५:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया