काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसविरुद्धको खोप मागेर ल्याउनु पर्ने अवस्था आएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन्।
भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराएपछि डा. भट्टराईले सामाजिक सञ्जालबाट खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य गरेका हुन्। खोप मागेर लाउन खोजेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि कटाक्ष गरेका छन्।
‘मागेको धोतीले मेरो लाज छोपिन्न..’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! अहिले कोरोना माहामारीविरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ। त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे ! बाँकीलाई कहिलेसम्म होला?, कता हात थाप्ने होला ? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ!’
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप बिहीबार नेपाल आइपुगेको छ। कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका नेपालको जनसंख्याको ३ प्रतिशतलाई पहिलो चरणमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा आउने खोप कोभिडविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरूलाई दिइने स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।