प्रचण्डलाई ओलीको प्रश्न : हिजो युद्धमा होमिएका जनताका छोराछोरी हेर्नुपर्दैन?
छोरीलाई मेयर बनाउन मतपत्र च्यातेको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नि:सन्तान भनेको कुरालाई लिएर पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य गरेका छन्। प्रेस संगठन नेपाल दोस्रो राष्ट्रिय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले प्रचण्डले जनताका छोराछोरी युद्धमा होमेर आफ्ना छोराछोरीलाई काखी च्यापेको आरोप लगाए। 

'एकजना नेता (प्रचण्ड) ले केपी ओलीका छोरा छोरी छैनन्, मेरा त छोरा बुहारी छन् हेर्नै पर्यो भनेको सुनेँ', ओलीले भने, 'उहाँका त छोराछोरी छन्। छोरीलाई मेयर बनाउनैपर्यो, मतपत्र च्यातेर पनि जिताउनै पर्यो। उहाँका त ज्वाइँ छन्, घर घडेरी र गाडी किन्दिनै पर्यो।'

उनले आफूलाई सन्चै रहेको बताउँदै देशका सबै केटाकेटीलाई छोराछोरी मानेको बताए। 'मलाई त सन्चै छ, यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु, सबैलाई आफ्नै ठानेर माया गरेको छु', उनले भने, 'उहाँलाई त्यो ठाउँमा पुर्‍‍याउने योद्धाहरु कहाँ छन्? उनीहरुको हेक्का राख्नुपर्दैन? छोरीहरु ज्वाइँ आफन्त मात्रै भए हुने हो?'

प्रचण्डसहितका नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्नालाई भने विदेशमा पढाएको आरोप उनले लगाए। 'लड्ने बेलामा अरुका छोराछोरी लडाउने अनि आफ्ना छोराछोरी विदेश पढाउने। अरुका छोरा छोरीको ज्यान चाहिँ काठको हो?', उनले भने, 'अरुका छोराछोरी खेलाउने पुतली हुन् र? त्यति पनि भाउ छैन जनताका छोराछोरीको।'

उनले देश बनाउन युद्धमा होमिएकाहरुलाई प्रचण्डले हेर्दै नहेरेको टिप्पणी गरे। 'देश बनाउन युद्धमा होमिएकालाई हेर्नु पर्दैन?', उनले भने, 'उनीहरु काला बेलुन, कालै झण्डा, कालै सपना र कालै मनासय लिएका छन्।' 





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १५:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया