एजेन्सी : कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रस्थित ‘सिरम इन्स्टिच्युड अफ इन्डिया’को कार्यालयमा बिहीबार दिउँसो भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाले ज्यान गुमाएका छन्।
लाखौँ परिमाणमा खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो। आगलागीबाट अहिलेसम्म पाँच जनाले ज्यान गुमाएका छन्। आगलागीबाट करोडौं मूल्यको औषधि र बिसिजी खोप उत्पादनका लागि राखिएका सामान पनि जलेर नष्ट भएका छन्।
भारतसहित दक्षिण एसियाका विभिन्न देशमा समेत कोभिसिल्ड कोरोना भ्याक्सिन उपलब्ध गराइरहेको सिरम इन्स्टिच्युट अफ इन्डियाको पुणेस्थित उद्योगमा दिउँसो ३ बजेदेखि आगो लागेको थियो। कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको हो।
आगोलाई नियन्त्रणमा लिन १५ वटा दमकलले डेढ घण्टासम्म खटिनु परेको थियो। दमकलले आगो निभाएपछि पुगेको उद्धार टोलीले उक्त ठाउँबाट पाँचवटा शव निकालेको छ। यी सबैजना त्यहाँका मजदुर थिए।
मृतकहरुमा तीनजना उत्तर प्रदेश-बिहार र २ जना पुणेकै बासिन्दा थिए। आगलागीमा जलेर ज्यान गुमाउनेमा रमाशंकर र विपिन सरोज उत्तर प्रदेशका बासिन्दा हुन्। सुशील पाण्डेय बिहारबाट त्यहाँ मजदुरी गर्न पुगेका थिए। महेन्द्र इङ्गाले र प्रतीक पश्ते पुणेकै बासिन्दा थिए।
त्यहाँ साँझ करिब सात बजे पनि फेरि आगलागी भयो। जसलाई निभाउन ठूलै प्रयास गर्नुपर्यो। उद्धार टोलीले त्यहाँबाट ९ जनालाई उद्धार गर्न सफल भएको छ।
पुणेका मेयर मुरलीधर मोहोलका अनुसार मजदुरको शव उक्त भवनको माथिल्लो तलामा भेटिएको हो। आगो लाग्नुको कारण खुलिसकेको छैन। आगलागी भएको भवनमा वेल्डिङको काम भइरहेको थियो। आगालागीको कारण यो पनि हुन सक्ने अनुमान छ।
आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित रहेको उनीहरुले जनाएका छन्।
एक अधिकारीले भने, 'आगलागीका कारण कोरोनाविरुद्धको खोप उत्पादन कार्यमा भने कुनै असर परेको छैन।' यो कम्पनीले उत्पादन गरेको खोप नै अहिले भारत अभियानका रूपमा लगाइराखिएको छ। यही कम्पनीको १० लाख थान कोभिसिल्ड खोप बिहीबार काठमाडौं आइपुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।