नारायणकाजी भए 'फायर', विरोधसभामै फकाउन हम्मेहम्मे [भिडियोसहित]
आन्दोलनकै कमाण्डरले कार्यक्रममा गरेनन् सम्बोधन

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाका प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा विरोध सभा आयोजना गर्‍यो। रत्नपार्कस्थित सडकमा विरोधसभा आयोजना गरिएको थियो।

विरोध सभाअघि प्रचण्ड-माधव समूहका नेता कार्यकर्ताहरु राजधानीका विभिन्‍न ठाउँमा जम्मा भएर जुलुससहित सभास्थल आएका थिए। प्रतिनिधिसभा विरुद्धको आन्दोलनको संयोजक प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई तोकिएको थियो। 

शुक्रबारको सभामा नारायणकाजीको अनुहार हेर्दा उनी मुड अफजस्तो देखिन्थे। त्यसको कारण थियो विरोधसभा अघि जुलुसलाई खुलामञ्च-टुँडिखेल वरिपरि नघुमाइनु। दाहाल नेपाल समूहको कार्यक्रम तालिकामा भने सबै क्षेत्रबाट जुलुस आएपछि एक पटक घुमाएर रत्नपार्क आउने उल्लेख थियो।

त्यही अनुसार नारायणकाजी जुलुसलाई घुमाएर मात्रै कार्यक्रमस्थलमा ल्याउन चाहन्थे। तर अध्यक्ष पुष्पकमल दाहालसहितले भीड बढी भएकाले नघुमाउने भनेपछि उनी फायर भए। 

पूर्वनिर्धारित कार्यक्रम अनुसार जुलुस नघुमाइएपछि रिसाएका उनलाई फकाउन नेताहरुलाई हम्मेहम्मे पर्यो। नारायणकाजीलाई फकाउन स्वयम् प्रचण्ड, पम्फा भुसाल, लीलामणि पोखरेल र रामप्रसाद सापकोटासहितका नेताहरु जुटे। 

यसो भन्छन् दीपशिखा



युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाका अनुसार सबै जुलुस जम्मा भइसकेपछि शीर्ष नेताहरुसहित भद्रकाली–सुन्धारा–एनएसी–रत्नपार्क हुँदै पुनः कार्यक्रम स्थलमा आउने योजना  बनाइएको थियो। भीड धेरै भएकाले जुलुस नघुमाउने निर्णय गर्दै अन्य शीर्ष नेताहरु मञ्चमा चढे। 

यो कुरा नारायणकाजीलाई जानकारी भएन। उनी जुलुसको नेतृत्व गर्दै शहीदगेट पुगिसकेका थिए। त्यसपछि श्रेष्ठलाई पनि मञ्चमै बोलाइयो। यसै कारणले श्रेष्ठ रिसाएका हुन्। 



नेताहरूबीच तालमेल नमिलेकाले श्रेष्ठ केहीबेर रिसाएको दीपशिखाले बताए। आज सम्बोधन पनि नगरेका नारायणकाजीको अनुहार कार्यक्रम अवधिभर उदास देखियो। 

आन्दोलनका कमाण्डर रहेका श्रेष्ठले कार्यक्रममा सम्बोधन गरेनन्। रिसाएर नगरेका हुन् वा उनले सम्बोधन गर्ने कार्यक्रम नै नराखिएकोबारे केही खुलेको छैन। 

भिडियो

अब हेर्नुस् फोटोहरु

श्रेष्ठलाई कार्यक्रम सञ्चालक पम्पा भुसालले सम्झाइ रहेकी थिइन्। 

अध्यक्ष प्रचण्डले पनि उनलाई सम्झाउनका लागि केही भनिरहेका थिए। 

युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले निकैबेर श्रेष्ठलाई सम्झाए। 

श्रेष्ठभन्दा पछाडि बसेका स्थायी समिति सदस्य लिलामणी पोखरेलले पनि सिटबाट उठेरै सम्झाएका थिए। 

सूर्य सुवेदी पथिकले पनि  श्रेष्ठलाई सम्झाइरहेका थिए। 

सबैले सम्झाउँदा पनि आन्दोलनका कमाण्डर रहेका श्रेष्ठको अनुहार रिसाएकै देखिन्थ्यो। पछि उनी मास्क लगाएर बसे। 

 

  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार २०:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया