जीर्ण छाप्रो अगाडि मुस्कुराइरहेका बेसहारा भजन
राम्रो घरमा बस्ने सपना
आफ्नो झुपडीको दैलोमा भजन साउँद। तस्वीर : कैलाश जोशी

प्लाष्टिकले बेरिएको भित्ता, घाँस र परालले ढाकिएको छाना, बसेर मात्रै भित्र छिर्न मिल्ने सानो दैलो। त्यही दैलोमै थुचुक्क बसेर मुस्कुराइरहेका छन भजन साउँद। जीवनमा अनेकौं दुःख अनि हण्डर खाएका भजन भन्छन् ‘गीत गुनगुनाउँदै दुःख भुल्छु।’ 

मानिस देख्नेबित्तिकै मुस्कुराइहाल्छन् भजन। धनगढीसँग जोडिएको कैलाली गाउँमा बच्चादेखि वृद्धसम्म उनलाई नचिन्ने कोही छैन। 


कैलाली गाउँले निरन्तर मुहार फेरिरहेको छ।

खेती हुने कैलाली गाउँका जमिनमा बस्ती दिनप्रतिदिन बाक्लिँदै छ।

खर र टायलले छाएका घरलाई गगनचुम्बी महलहरुले विस्थापित गरिरहेका छन्। 

तर, भजनको झपडीको छाना फेरिएको छैन। मुलसधारे झरी होस् वा कठ्यांग्रिने चिसो, यही झुप्रोमा टाउको लुकाएर सास धानिहरेका छन् उनी।



भजनको विगत

भजन बालक हुँदै आमा बितिन्, दिमागी समस्याले ग्रस्त भएका बुबा उपचार नपाएरै बिते। जेठो दाइले पनि उमेर नपुग्दै संसार छाडे।
यी र यस्तै पीडाबाट विक्षिप्त भएर जन्मस्थान डोटीको जोरायल छाडेर कैलाली झरेका थिए भजन। 



‘बाल्यकालकै आमा र बुबाको माया पाइन’ ‘भाव विह्वल मुद्रामा भजनले भने, ‘आमा, बुबा र दाइको मायाले सताउन थालेपछि डोटी छोडेर यहाँ आएको हुँ।’

परिवारमा कोही नभएपछि उनी केही वर्षसम्म आफन्तका घरमा काम गरेर पेट पाल्दै पाले। त्यसरी अर्काको घरमा काम गरेर गाउँमा रुची भएन उनलाई गाउँ छाडेर आजभन्दा २० वर्ष अगाडि कैलाली झरेका थिए भजन। 

कैलाली आएर पनि उनी लामो समय अरुको खेतबारीमा काम गरेरै जीविकोपार्जन गरे। शरीर कमजोर हुँदै गयो। गाह्रो–गह्रुंगो काम गर्न नसक्ने भए। 

उनी आफू ५० वर्ष भएको बताउँछन्। हेर्दा त्यो भन्दा धेरै उमेरका देखिन्छ। 

तपाईको उमेर ५० मात्रै होर ? ‘खोइ ! ५० नै होकी ?’ उनी हाँस्छन् ।

उनको नागरिकता पनि छैन। तीन वर्षदेखि खोला छेउमा छाप्रो बनाएर बसिरहेका छन्।  

छाप्रो निकै जीर्ण रहेकाले ठूलो पानी पर्दा उनी कसैको घरमा सहारा लिन पुग्छन्।

कसैले सहयोग गरेर घर भए व्यवस्थित भएर बस्ने धोको छ। टहरा बनाएको नजिकैको खोला किनारको जमिन देखाउँदै उनले भने, ‘सरकारले यही जमिनमा घर बनाइदिए हुन्थ्यो।’ आफूसँग नागरिकता समेत नभएको सरकारी राहत, भत्ता पाउन नसकेको उनले सुनाए। 

भजन अर्काको खाली जमिनमा सानो झुप्रो बनाएर बस्दै आएको स्थानीय टंकदेवी आले बताउँछिन्। ‘भजनको परिवारका कोही छैनन्, वर्षौदेखि यहीँ बस्दै आएका छन् हामी सबै उनका आफन्त भएका छौँ।’टंकदेवी भन्छिन्।

उनको गत वर्षौँ याममा उनको छाप्रोमा पानीले बस्नै नमिल्ने भएपछि उसलाई छिमेकीले बास दिएको टंकदेवीले जानकारी दिइन्। 

वर्षायाम सकिएपछि उनी यही छाप्रोमा बस्दै आएका छन्। स्थानीयहरुले चामल, दाल, तरकारी सहयोग गर्दै आएको टंकदेवीको भनाइ छ। 

‘भजनलाई खाने कुराको कमी हुन नदिन हामी गाउँका सबैले सहयोग गर्दै आएका छौँ’ टंकदेवी सुनाउँछिन्, ‘तर पनि उनलाई सरकारले व्यवस्थित रुपमा बस्ने व्यवस्था गरिदिए हुने।’ 

भजन बिरामी हुँदा स्थानीयले पैसा संकलन गरेर उपचारसमेत गराउने गरेको अर्का स्थानीय नरबहादुर थापाले बताए।

भजनका लागि उपयुक्त स्थानको खोजीमा रहेको वडा नम्बर १३ का वडाध्यक्ष विजय जोशीले जानकारी दिए ‘वर्षौदेखि यही गाउँमा बस्दै 
आएका भजनको व्यवस्थित बसोबासका लागि केही सोच्दैछौँ’ वडाध्यक्ष जोशी भन्छन्। 

वडाबाट केही सहयोग गरिरहेको भन्दै उनले घर बनाउनका लागि कोही दाता पाए सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

दुखः कष्ट भुलेर जीर्ण छाप्रो ढोकामा बसेर मुस्काइरहने भजन अलि राम्रो घरमा बसेर बाँकी जीवन काट्ने आशमा छन्। 

  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार ८:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया