काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका लडाकुलाई लिएर प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै भनेका थिए, ‘अहिले केपीले कालीबहादुर खाम खोइ अरे? ती कालीबहादुर खाम आफैँले केही गरेको त होइन। उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०/११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु । अहिले त काली बहादुर तपाईंलाई प्रचण्डले हेर्दैनन् केपीले भन्नु लाजमर्दो अरु के हुन्छ? ’
उनले शुक्रबार रत्नपार्कमा जनयुद्धका घाइते, अपाङ्गहरूलाई आफूले ऋण र सापटी गर्दै पालेको बताएका थिए। ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे! केपीले...लाजै मर्दो। त्यसैले जनयुद्धका कमाण्डर, साथीहरु ओलीको कुरामा गम्भीर नुहुनुहोला। कमरेडहरू तपाईंहरुको योगदानको इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिएको छ। त्यसलाई कसैले कालो नपोत्नुहोला।’
उनले सम्बोधनका क्रममा अझै अघि बढेर जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा बेवास्ता गरेको तर अहिले राजनीतिक स्वार्थका लागि ओलीले लडाकुका कुरा उठाएको बताए। आफूले धेरै पटक भन्दा पनि ओलीले टेरपुच्छर नलगाएको बरु उल्टो मासिक भत्ता खोसेको दाबी गरे। 'अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि म कहिलेकाहीं सुन्छु, ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्ने तिनै केपीले ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्न पनि कस्तो दिमाग हो?’
दाहालले यसो भनेर फकाएको भोलिपल्टै लडाकुहरुको एउटा समूह प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पसेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले पूर्व जनमुक्ति सेनासँग शनिबार बालुवाटारमा छलफल गरेका छन्।
थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा कमान्डरहरूसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले विगतमा पार्टी नेतृत्वले धोका दिए जस्तो आफूले नदिने आश्वासन दिएका छन्। 'विगतमा तपाईंहरूलाई पार्टीको नेतृत्वले धोका दिए जस्तो हामी दिँदैनौँ', प्रधानमन्त्रीले छलफलमा भने, 'राजनीतिक रूपमा सबै समस्याको समाधान सरकारले गर्ने छ।'
प्रधानमन्त्री ओलीले जनमुक्ति सेनाले जनयुद्धको अवधिमा गरेको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति पनि सम्मान व्यक्त पनि गरेको थापाले बताए। ‘जनयुद्धको अवधिमा तपाईंहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईँहरूका भावनाको दुरूपयोग गर्यो', उनले भने, 'यो तथ्य बुझेर यहाँहरु जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाईहरु ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’
उनले विगतमा पार्टी नेतृत्वले धोका दिएको निष्कर्षसहित आफूकहाँ आएको बाटो सही भएको पनि बताएका छन्। 'यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं', उनले भने, 'नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।'
ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) द्वारा गरिएको युद्धमा सहभागी केही कमाण्डरहरु पुगेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा विवाद जारी छ। यस्तोमा ओली समूह र दाहाल-नेपाल समूहबीच नेता, कार्यकर्ता तानातान चलिरहेको छ। पूर्व लडाकुहरुलाई ओली समूहमा ल्याउन गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुले भूमिका खेलिरहेका छन्।
दुवै समूह ओलीतिर
माओवादी लडाकुहरुले बनाएका पूर्व जनमुक्ति सेना तथा बहिर्गमित बाल सेनाहरूको संगठन बालुवाटार पुगेर ओली नेतृत्वको नेकपामा लाग्ने निर्णय लिएका छन्। शनिवार प्रचण्ड-माधव पक्षधर नेकपा केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्व लडाकु कमाण्डरहरु प्रधानमन्त्री निवास बालुवाटारबाट ओली नेतृत्वमा समाहित भएका हुन्।
पूर्व लडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीहरुले ओली पक्षमा लागेको घोषणा गरेका हुन्। घाइते, अपांग पूर्व लडाकुहरुको उपचार सरकारले व्यहोर्ने निर्णय यसअघि नै मन्त्रिपरिषद् बैठकबाट भइसकेको छ।
के भन्छन् लेनिन विष्ट?
पूर्व जनमुक्ति सेनाको ठूलो टिम ओली समूहतिर लागेको पूर्व बाल सेना लेनिन विष्टले बताएका छन्। उनका अनुसार बालुवाटारले स्वागत गरेसँगै लडाकुहरुको ठूलो समूहले ओलीलाई रोजेको बताएका छन्। 'पूर्व जनमुक्ति सेनाको नाममा लुट्न पल्केका लुटेराहरूले पूर्व जनमुक्ति सेना नेपाल घोषणा कार्यक्रम षडयन्त्रपूर्वक असफल बनाए', उनले भनेका छन्, 'अध्यक्ष (प्रचण्ड) सकरात्मक भएता पनि लुटेराहरूले अन्तत: उहाँहरुलाई पार्टीबाट नै लखट्न सफल भए।'
विष्टले तिनै लुटेराहरूका कारण प्रचण्ड पनि सकिने बताएका छन्। 'ती लुटेराहरूलाई प्रचण्ड सकियोस् मतलब भएन तर उनीहरु सकिन भएन भन्ने नै हो', उनले भनेका छन्, 'एक महिनादेखि काठमाडौंमा बसेका पूर्व जनमुक्ति सेनाहरु अपमान सहनुभन्दा बालुवाटार नै ठीक भन्दै टोपबहादुर रायमाझीको नेतृत्व रोज्न पुगे।'
उनले पूर्वलडाकुहरुलाई रोक्न नसकेको पनि बताएका छन्। 'हामीले उनीहरुलाई रोक्न सकेनौँ', उनले भनेका छन्, 'हाम्रो प्रयास असफल भयो। प्रचण्ड कमरेड! तपाईंका वरिपरिका झुण्डले नै तपाईंलाई समाप्त पार्ने छन्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।