‘आयातनिर्यात सहजताका लागि भन्सारलाई पूर्ण अनलाइन बनाउनु जरुरी’
फाइल फोटो

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषिजन्य वस्तुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारमा अनलाइन प्रणाली विकास गर्नुपर्ने बताएकी छन् ।

कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्सजस्ता प्रक्रिया पूरा गर्न भन्सार विभाग र मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच अनलाइन प्रणाली सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गर्न मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले प्रविधिको विकास गरी आयात निर्यातलाई सन्तुलित पार्नुपर्नेमा जोड दिइन् । 

भन्सार जाँचपास गर्दा हुने असहजतालाई अनलाइन प्रणालीले सहजता सिर्जना गर्ने र आयात निर्यात सन्तुलन कायम गर्न सहयोग पुग्ने मन्त्री अर्यालको भनाइ थियो । प्रविधिको विकास र कार्यान्वयनका लागि प्रविधिमा रुचि भएका दक्ष कर्मचारीलाई सम्बन्धित निकायमा राख्ने व्यवस्था गर्नु आवश्यक रहेको पनि उनले बताइन् ।

मन्त्रालयका निकाय र भन्सार विभागबीच भएको सम्झौताले आयात निर्यात प्रक्रिया अनलाइन प्रविधिको कार्यान्वयनको चरणमा प्रवेश भएको मन्त्री अर्यालको भनाइ थियो । 
अनलाइन प्रणाली लागु भएसँगै बाह्य मुलुकबाट कुनै पनि वस्तुको आयात गर्दा सम्बन्धित विभागबाट भौतिक रुपमा उपस्थित भई अनुमति लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि मन्त्री अर्यालले बताइन् । 

निकासी पैठारीमा समय र लागत कम पर्ने, पैठारीकर्ता भौतिक रुपमा उपस्थित हुनुनपर्ने, सिफारिस पत्रसाथ भन्सार विन्दुमा पुग्नुपर्ने झन्झटको अन्त्य हुने, निर्णय प्रक्रिया द्रुत हुने, काम कारबाही पारदर्शी हुने र शुल्क समेत न्यून हुने भएकाले आयात निर्यातमा सहजीकरण हुने विश्वास गरिएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७७ आइतबार १४:५५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया