साताव्यापी ‘किताब जात्रा’ माघ १७ बाट

‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्ने ‘किताब जात्रा’ यस वर्ष माघ १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । फाउन्डेसनले आइतबार, थापागाउँस्थित कार्निभल रेस्ट्रोँ  एन्ड मिटिङ्समा ‘प्रेस मिट’ गरी यस वर्षको ‘किताब जात्रा’ एक साता चल्ने जानकारी दिएको हो ।

‘कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेको सन्दर्भमा यस वर्ष किताब जात्रा मास मिडिया र भर्चुअल मिडियामार्फत् सम्पन्न गरिनेछ’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा २०७७’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसका लागि एपी वान एचडी टेलिभिजन तथा किताब यात्रा डटकमको किताब यात्रा एपसँग सहकार्य गरिएको छ ।’

उनका अनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरूबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।   

प्रेस मिटमा ‘किताब जात्रा’को ‘टाइटल स्पोन्सर’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हिजोलाई सम्झिने होइन, भोलि हेरिने जात्राका रुपमा ‘किताब जात्रा’लाई आफूहरुले हेरेको बताए ।

किताबको शक्ति निकै महत्त्वपूर्ण भएकाले यससँग जोडेर गरिने उत्सवले भविष्यसँग जोड्ने उनको तर्क थियो । ‘किताब जात्रा’ ज्ञान र शिक्षाको उत्सव भएकाले यसले वर्तमान पुस्तालाई पूर्ण बनाउन सहयोग पुग्ने उनले बताए । अध्ययनबिना पूर्ण नागरिक बन्न नसकिने भएकाले यस्ता उत्सवले त्यसतर्फ डोर्‍याउने उनको भनाइ थियो ।

‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवा सहकार्य गरेका छन् ।



‘नबिल किताब जात्रा २०७७’ को ‘ब्रोडकास्ट पार्टनर’ एपीवान एचडी टेलिभिजनका ‘एडिटर इन चिफ’ टीकाराम यात्रीले जात्रा शब्दसँग पवित्रताको सम्बन्ध रहेको बताउँदै उत्सवले ज्ञानलाई पवित्रतासँग जोडेको बताए । विमर्शबाट ज्ञानको प्रसार तीव्र हुने भएकाले यसलाई प्रसार गर्ने माध्यमलाई पनि अद्यावधिक र विविधतापूर्ण बनाउनुपर्नेमा उनको जोड थियो ।

‘यस्ता विमर्शलाई टेलिभिजनको माध्यमबाट एकैपटक असंख्य दर्शकसँग जोड्न सकिन्छ । त्यसलाई मध्यनजर गरेर यस वर्ष हामीले किताब–जात्रासँग सहकार्य गरेका छौं’, उनले भने, ‘यसले जात्राको उद्देश्यलाई अझ प्रभावकारी रुपमा विस्तार गर्न सघाउनेछ भन्ने विश्वास छ ।’



‘प्रेस मिट’मा बोल्दै ‘किताब जात्रा’का प्रमुख सल्लाहकार तथा वरिष्ट चार्टर्ड एकाउन्टेन्ट भरत रिजालले सुपठित समाज निर्माणले हरेक क्षेत्रको विकासलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस्तो जात्रा निरन्तर भइरहनुपर्नेमा जोड दिए । ‘नबिल किताब जात्रा २०७७’को विमर्श सेसनको मोडरेटरको तर्फबाट बोल्दै कवि शकुन्तला जोशीले साहित्यलाई आम मानिसको जीवनसँग जोड्न यस्ता उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो सँस्करण हो । 

त्यसै गरी यसै अवसरमा नेपाली वाङ्‍मय क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिने उनले जानकारी दिए । नगदसहित प्रदान गरिने सम्मान सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो ।

  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १२:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया