नेपालको दोस्रो लामो पुल उद्घाटन गरे प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदी निर्मित नेपालको दोस्रो लामो पक्की पुल उद्घाटन गरेका छन् । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले सोमबार मध्याह्न उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिमात्र सहभागी भएका थिए । प्रधानमन्त्री ओलीको आगमनको विरोध जनाउन आइतबार बेलुकी नेकपा प्रचण्ड–माधव समूहले देउखुरी क्षेत्रमा मशाल जुलुस निकालेको थियो भने, महदेवा र सिसहनिया गाउँका कांग्रेस तथा पूर्वमाओवादी समर्थक गाउँलेले यसअघि नै ओलीले पुल उद्घाटन गर्ने कार्यक्रममा नजाने निर्णय गरेका थिए । 

यसअघि २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सो पुलको शिलान्यास गर्न जाँदा तत्कालीन एमालेका कार्यकर्ताहरूले दाङ बन्द आह्वान गरेका थिए । 

यो नेपालको दोस्रो लामो पक्की पुल हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने उक्त पुलको लम्बाइ १ हजार १५ मिटर छ । राप्ती र गेरुवा दुवै पुल एएनके लुम्बिनी वाइपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो ।

पुल उद्घाटन कार्यक्रम सकाएर प्रधानमन्त्री ओली राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको आगमनलाई मध्यनजर गर्दै देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १४:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया