माधवको मूल्याङ्‍कन : प्रचण्ड साह्रै सोझो, केपी ओली गतिछाडा, जालीझेली
झलनाथ र आफू ओलीको भुक्तभोगी भएको टिप्पणी

काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साह्रै सोझो नेताका रुपमा चित्रित गरेका छन्। पेरिस डाँडामा आयोजित प्रदेश २ का कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन्। 

'पार्टीको पत्रमा प्रचण्ड कमरेडले हस्ताक्षर नै गर्नु भएनछ, निर्वाचन आयोगले एकजना अध्यक्षको मात्रै हस्ताक्षर अमान्य भन्दै फर्काइदिएको छ', नेपालले भने, 'प्रचण्ड कमरेडले सही नै नगरेका रहेछन्। दुईटा अध्यक्षको सही हुनुपर्नेमा एउटाको मात्रै छ भनेर पठाइदियो। प्रचण्ड कमरेडले केपी ओलीको जालसाजी बुझ्नु भएनछ।'

नेता नेपालले आफू ओलीको भुक्तभोगी भएको बताउँदै प्रचण्डले नबुझ्दा बिग्रिएको उल्लेख गरे। 'प्रचण्ड कमरेड साह्रै सोझो हुनुहुन्छ, जालझेल बुझ्नु हुन्न हामी त भुक्तभोगी हौँ नि पूर्व एमालेका मान्छे', उनले भने, 'कमरेड झलनाथ खनाल पनि भुक्तभोगी होनि! म त महाभुक्तभोगी, मैले त एउटा एउटा घटनाबाट थाहा पाउँछु। सिंगै कसौंडीमा भात पाकेको छ कि छै भनेर भित्रको एउटा दाना छाम्दा थाहा हुन्छ। मान्छे बेइमान छ कि इमान्दार छ एउटै घटनाबाट थाहा हुन्छ।'

पदको लडाइँ होइन

अध्यक्ष नेपालले नेकपामा देखिएको विवाद र विभाजन पदका लागि नभएको टिप्पणी गरे। 'अहिलेको तनाव पदको मारामार हुँदै होइन, पार्टीलाई विचार र विधिबाट चलाऊँ भनेको हो', उनले भने, 'पार्टीलाई राम्रो ढंगले क्रान्तिकारी शैलीमा चलाऊँ भनेको हो। उपयुक्त जिम्मेवारी दिऊँ भनेको हो। तर केपी कमरेड कसैको कुनै पनि आलोचना सुन्न नचाहने प्रशंसाको भोको मात्रै हुनाले यो समस्या आयो।

ओलीको पार्टी धुलो छाप



नेपालले केपी ओलीको समूहलाई धूलो छापको संज्ञा दिएका छन्। 'केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए। ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन्', उनले भने, '४४३ केन्द्रीय सदस्यहरूमा उनीहरूसँग जम्मा जम्मी १ सय जना होलान्।'



सम्बोधनका क्रममा नेता नेपालले केपी ओलीलाई गतिछाडा मानिसको संज्ञा दिए। 'केपी ओली गतिछाडा मान्छे हुन्, उनी पार्टीको नियम र निर्देशन मान्दैनन्, एकलौटी चल्न रुचाउँछन्', उनले भने, 'अहिले उनी जिल्ला जिल्लामा पुगेर डम्मरु बजाइरहेका छन्। हरेकलाई केन्द्रीय सदस्य बाँड्दैछन्। अब १० हजारको केन्द्रीय सदस्य बनाउने रे!'

ओली कुनै गुनासा सुन्न नचाहने मान्छे भएको भन्दै उनलाई कसैको सुझावले काम नगर्ने बताए। ओली ओम्नी र यती प्रकरणमा फसेको बताउँदै ती कुराको छानबिन र छलफल गर्न पनि तयार नभएको बताए। 

प्रचण्ड मात्रै अध्यक्ष 

सम्बोधनका क्रममा अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष बनाउन अस्वीकार गरेको बारे पनि बोलेका छन्। आफूलाई अमान्य भनेमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष मानेर जान सकिने उनले बताए। 

‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिनँ भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।’ उनले भने, ‘केपी ओलीको अध्यक्ष त गइसकेको छ भने म त आइहाल्छु ।' केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् । ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी १०० जना होलान् ।’ 

भिडियो

  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १४:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया