सकसमा कांग्रेस

तीन वर्षअघि सम्पन्न निर्वाचनपछि नेपाली कांग्रेसको हरेक विषयमा आन्तरिक रुपमा विवादमा पर्दै आएको छ । पार्टीको बैठकदेखि एजेन्डासम्ममा विवाद हुँदा कांग्रेसमा बैठक नै सार्ने डरलाग्दो रोग देखिएको छ । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पनि कांग्रेसमा पुनः त्यही अवस्था देखियो । प्रधानमन्त्रीको उक्त कदमबारे त्यही दिन विज्ञप्ति जारी गरेर असंवैधानिक भने पनि त्यसपछि कसरी अघि बढ्ने भन्नेमा कांग्रेस विभाजित हुन पुगेको छ ।  

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पार्टीको पदाधिकारी बैठक बोलाए । बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै थप निर्णय गर्नेका लागि ७ गते केन्द्रीय समिति बैठक बोलाए । 

७ पुसमा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक ८,९,१०, र १९ गते बसेर २७ गतेसम्मका लागि स्थगित भयो । ७ र ८ गतेको बैठकमा सभापति देउवा आन्दोलनमा जान तयार नदेखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत इतर समूहका नेताहरु ९ गतेको बैठकमा जान नै नमान्ने अवस्था सिर्जना भयो । त्यसपछि मात्रै बल्ल सभापति देउवा विरोध प्रदर्शनका लागि सहमत भए । ९ गतेको बैठक सुरु हुनुअगावै कांग्रेस पार्टी कार्यालयले विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सबै संघीय निर्वाचन क्षेत्रमा १३ पुसमा विरोध प्रदर्शन गर्ने घोषणा गर्यो । 

विरोध प्रदर्शनका लागि निरन्तर दबाब बढ्न थालेपछि १९ पुसमा पुनः कांग्रेसले प्रादेशिक निर्वाचन क्षेत्रदेखि वडा तहसम्म विरोध कार्यक्रम गर्ने घोषणा गर्यो । यद्यपि, २७ गते बोलाइएको बैठक भने बस्न सकेन । २४ गते नै पार्टी कार्यालयले विज्ञप्ति जारी गरेर २७ गतेको बैठक ६ माघमा बस्ने गरी स्थगित गर्यो । तर, नेताहरुबीचको मतभेद सार्वजनिक रुपमै देखिन थालेपछि कांग्रेसले ६ गतेका लागि तोकिएको बैठक पनि ५ गते विज्ञप्ति जारी गरेर १३ माघ अर्थात् भोलि मंगलबार बस्ने गरी स्थगित भयो । 

मंगलबार केन्द्रीय समिति बैठक बस्ने भएपछि पुनः सभापति देउवालाई आन्दोलनको पक्षमा तान्न वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालासहितका इतर समूहका नेताहरुले सोमबार महामन्त्री कोइराला निवासमा अनौपचारिक बैठक गरेर आफ्नो रणनीति बनाएको छ । महामन्त्री निवासमा बसेको सोमबारको बैठकमा सहभागी नेता नवीन्द्रराज जोशीले पछिल्लो परिस्थितिबारे नेताहरुको बीचमा कुराकानी भएको बताए । फरकधारसँग जोशीले भने, ‘हामीले कुनै पनि निर्णय गर्दा पार्टीलाई क्षति नहोस् भन्नेमा सचेत हुनुपर्छ भन्ने मुख्य कुरा हो ।’ ‘हामीले असंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन गरिरहेका छौँ,’ जोशीले भने, ‘त्यही भएर उहाँसँग कुनै पनि तहमा मिल्दा पार्टीलाई फाइदा होला जस्तो लाग्दैन ।’

यता, सभापति देउवा पनि आफ्ना निकटका पदाधिकारीसँग सोमबार बिहान अनौपचारिक छलफल गरेका छन् । देउवानिकट सहमहामन्त्री डा. प्रकाशशरण महतले मंगलबारको केन्द्रीय समिति बैठकका लागि सोमबार बिहान सभापतिसँग छलफल भएको बताए । ‘भोलिको बैठकबारे हामी अझै छलफलमा नै छौँ,’ महतले फरकधारसँग भने, ‘अब कसरी अघि बढ्ने भन्नेमा हामी भोलिको बैठकबाट निर्णय गर्न सक्छौँ ।’



यसबीचमा सभापति देउवा आफैँ वरिष्ठ नेता पौडेलको निवास पुगेर ‘वन टु वन’ वार्ता गरेका छन् भने महामन्त्री कोइरालासँग दुईपटक छलफल गरेका छन् । 

प्रतिनिधिसभा विघटनसँगै कांग्रेस दुई खेमामा विभाजित भएपछि प्रदेशमा पनि त्यसको असर पर्न थालेको छ । प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि ती प्रदेशमा कांग्रेसको महत्व बढेको छ । मंगलबार बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकले त्यसबारे पनि ठोस निर्णय लिनुपर्ने भएकाले शीर्ष तहका नेताको दौडधुप बाक्लिएको छ । 



नेकपाका प्रचण्ड र नेपाल पक्ष तथा प्रधानमन्त्री ओली पक्षले पनि कांग्रेससँग त्यसबारे छलफल गरेका छन् । भोलिको बैठकमा कांग्रेसले कता जाने निर्णय लिन्छ भनेर महत्वका साथ हेरिएको छ । यद्यपि, सभापति देउवाले प्रदेश एक र बागमती प्रदेशका केन्द्रीय नेतासँगको छलफलमा ओली पक्षतिर ढल्किने संकेत गरेपछि वरिष्ठ नेता, महामन्त्रीसहितको पक्ष त्यसविरुद्ध उभिएको छ । उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको पक्षमा नजान दबाब दिइरहेका छन् ।

देउवाइतर समूहले मंगलबार बस्ने बैठकबाट प्रदेश एक र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा उभिनुपर्ने निर्णय गराउन चाहेका छन् । अविश्वास प्रस्ताव असफल भएपछि प्रचण्ड र नेपाल पक्षको साथ उभिँदा कांग्रेसलाई दीर्घकालीन रुपमा फाइदा हुने इतर समूहको निष्कर्ष छ । 

  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १७:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया