प्रचण्डलाई ओलीले भने : सिङ भाँचिएको तिल्केले फाँ फू नगरे हुन्छ, धम्की नदिए हुन्छ (भिडियोसहित)
दाहाल-नेपाललाई दिए कुलंगार र भष्मासुरको संज्ञा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरेमा फेरि हिंसा हुन सक्ने भनेर पुष्पकमल दाहाल प्रचण्डले माघ ९ मा दिएको अभिव्यक्तिको प्रतिवाद गरेका छन्। 

दाङको देउखुरीमा आफ्नो नेतृत्वको नेकपाको वृहत् जनसभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेमा प्रक्रिया 'डिरेल' हुने भनेर दिएको प्रचण्डको उक्त भनाइलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ को संज्ञा दिएका हुन्। 

‘मैले पनि सुनेँ, प्रतिनिधिसभा पुन:स्थापना नभए अशान्ति हुन्छ रे फेरि हिंसा हुन्छ रे!', ओलीले अगाडि भने, 'सिङ भाँच्चिइसकेको तिल्केले धेरै फुर्ति नगरे हुन्छ। भित्तो देख्यो कि सिंगौरी खेलिजाने तिल्के गोरु एक दिन बहरसँग जुधेपछि सिङ भाँचिएर हिँडेथ्यो। त्यही तिल्के जस्तै यिनीहरुले पनि धेरै फाँ फू गर्नुको कुनै अर्थ छैन। यिनका पनि सिङ फुक्लिसकेका छन्, अब यस्ता डर धाकधम्कीले कोही डराउनेवाला छैन।'

उनले प्रचण्डलाई जवाफ दिँदै सिङ फुक्लिसकेका अब यिनीहरुसँग हिंसा र अशान्ति मच्चाउने तागत पनि नरहेको टिप्पणी गरे। 'अब यिनीहरुसँग अशान्ति मच्चाउने क्षमता छैन, दम पनि छैन', ओलीले अगाडि भने, 'यिनीहरूले अब केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ, धम्की नदिए हुन्छ। धेरै तिघ्रा नठटाए हुन्छ, सिङ  भाँच्चिइसकेकाले अब खुट्टा भ्याट भ्याट नगरे हुन्छ।'

दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार रत्नपार्कको सडकमा गरिएको आमसभामा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरे शान्ति प्रक्रिया 'डिरेल' हुन सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए। दाहालले एक पटक युद्ध गरेर आइसकेकाले फेरि अशान्ति र हिंसा गर्ने पक्षमा नरहेको बताएका थिए। तर उनले अदालतले प्रतिनिधिसभा विघटन सदर गरेमा युद्धसम्मको अवस्था आउने भन्दै चेतावनी शैलीमा बोलेका थिए। 

अदालतलाई धम्की दिएर प्रतिनिधिसभा पुन:स्थापनाको सपना नदेख्न चेतावनी दिँदै ओलीले अब यस्ता कुराको कुनै अर्थ नरहेको जिकिर गरे। 'बुढो तिल्के गोरु बहरसँग झर्याप्य जुधेको मात्रै के थियो, उसको सिङ नै भाँचियो', ओलीले भने, 'अब कसैले पनि तिल्केले जसरी अदालतलाई जनतालाई धम्की नदिए हुन्छ। अब यिनमा अशान्ति मच्चाउने दम पनि छैन, क्षमता पनि छैन।'



प्रधानमन्त्री ओलीले अदालतप्रति भरोसा छ भन्नेले धम्कीको भाषा बोल्न नहुने बताए। 'अदालतप्रति भरोसा छ भन्नेहरु आफ्नो पक्षमा फैसला आएन भने नत्र..के भन्या? शाकाहारी आन्दोलनले भएन भनेर के भनेको ?', ओलीले सोधे, 'बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको? एउटा जमाना हुन्छ कुनै पनि कुराको। तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन नि!'



ओलीले आफू असफल भए पनि देश असफल हुन नहुनेमा जोड दिए। 'म असफल भएर केही हुँदैन तर देश असफल हुनु भएन', उनले भने, 'मैले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको छु।'

ओलीले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको पनि बताएका छन्। ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ प्रधानमन्त्रीले भने।  प्रधानमन्त्री ओलीले आफूले विकसित र समृद्ध देश निर्माणका लागि अधिकतम प्रयास गरिरहेको बताए। उनले शिक्षा, सडक, विद्युत्, खानेपानी, सिँचाइका क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको बताए। ‘देशलाई आधुनिक र विकसित बनाउन सक्छौं,’ उनले भने।

ओली जनगायक जीवन शर्माको नाम लिँदै पिलो निचोरिँदै पार्टीलाई केही फरक नपर्ने पनि दोहोर्याए। 'एकजना कलाकार छन् जीवन शर्मा जसले पिलो निचोरिँदैमा ओजन घटेको हुँदैन भनेर गीत गाएका छन्', उनले भने , 'पिलो निचोरिँदा खिल पनि निस्किन्छ अनि घाउ निको हुन्छ। एक दुईजना कुलंगार र भष्मासुरहरुले पार्टी छाड्दैमा केही फरक पर्दैन। पार्टी झन् गतिशीलताका साथ अघि बढ्छ।'

सरकारले काम गर्न खोजे पनि खुट्टा तानेको तान्यै गरेर रोकिएको उनले बताए। 'सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरेको हुँ', उनले भने, 'आगामी निर्वाचनले देश विकास नचाहने तत्वहरूलाई जनताले पराजित गर्ने छन्।'

  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १८:३७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया