इजलासमा शम्भु थापाको सायरी : जला है जिस्म जहाँ दिल भी जल गया होगा
न्यायाधीशको प्रश्न : सरकारलाई सघाएको त देखिएन नि?

काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि मंगलबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ। आज नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङसहितले हालेको रिटमाथि सुनुवाइ भइरहेको छ।

उक्त रिटमाथि वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरुमै बहस गरिरहेका छन्। उनले बहसका क्रममा उर्दु भाषाका साहित्यकार मिर्जा गालिबको गजललाई प्रतिनिधिसभा विघटनसँग जोडेका छन्।

'जला है जिस्म जहाँ दिल भी जल गया होगा' लाई थापाले प्रतिनिधिसभा विघटनसँग जोडेर व्याख्या गरेका हुन्। जला है जिस्म अर्थात् जहाँ शरीर जलेको छ, दिल भि जल जया होगा अर्थात् त्यहाँ दिल पनि जलेको हुन्छ।

थापाले बहसका क्रममा थप स्पष्ट पार्दै भने, 'जहाँ प्रतिनिधिसभा जल्यो, त्यहाँ संविधान अर्थात मन पनि जल्यो। प्रतिनिधिसभा नै विघटन भएपछि संविधान पनि जल्यो नि।' थापाले बहसका क्रममा जिस्म (शरीर) लाई प्रतिनिधिसभा र दिललाई संविधानसँग जोडेका थिए।

न्यायाधीशको प्रश्न 

बहसका क्रममा थापालाई न्यायाधीशहरूले  सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरिएकोबारे सोधेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले घेराबन्दी गरेकाले काम गर्न नसकेको गुनासो गरिरहेका बेला बेन्चबाट यो प्रश्न उठाइएको हो। 



वरिष्ठ अधिवक्ता थापालाई न्यायाधीश अनिल सिन्हाले आफैंले चुनेको प्रधानमन्त्रीलाई काम गर्न नदिएको बारे सोधेका थिए। ‘आफैँले निर्वाचित गरेको व्यक्तिलाई सरकार चलाउन सहयोग गरेको त देखिएन नि?', न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे। 

तर बहसका क्रममा अधिवक्ता थापाले त्यस्तो नभएको भन्दै जवाफ दिएका छन् । ‘कुनै मन्त्रीले पद त्यागेका  छैनन्, नेकपा फुटेको छैन, नीति कार्यक्रम  र बजेट पनि आइरहेको छ। सरकारले राजदूत पनि नियुक्ति गरिरहेको छ', उनको तर्क थियो, 'सबै काम भएकै छन् त कसरी प्रधानमन्त्रीलाई काम गर्न दिइएन?'



प्रधानमन्त्रीले नेकपाका नेताहरुले पद र शक्ति खोजेर संसद् विघटन गरेको भनी गरेको तर्कलाई उनले नकारिदिए। 'नेताहरुले पद-प्रतिष्ठा खोजेको भनेकै भरमा संसद विघटन गर्न पाइन्छ?', थापाले बहसका क्रममा प्रश्न गरेका छन्। 

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १३:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया