कर्णालीका ८ जिल्लामा कोरोनाविरुद्धको खोप, हुम्ला र डोल्पामा भोलि पुग्ने
सोमबार सुर्खेत आइपुगेको कोरोनाविरुद्धको खोप ।

भारत सरकारबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको खोप कर्णालीका ८ वटा जिल्लामा पुगेको छ । भोलि (बुधबार) बाट लगाउने तयारी गरिएको खोप हवाई तथा स्थलगत मार्गबाट सम्बन्धित जिल्ला अस्पतालमा पुर्‍याइएको हो । हिमाली जिल्ला डोल्पा र हुम्लामा भने बुधबार बिहानसम्म खोप पुग्ने बताइएको छ । 

काठमाडौँबाट सुर्खेतमा सोमबार नै खोप आइसकेको छ । मेडिकल स्टोर नेपालगञ्जमा राखिएको खोप जुम्ला र मुगमा जहाजमार्फत् र कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा स्थलमार्गबाट पठाइसकिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

प्रदेशभरका १२ वटा अस्पतालबाट बुधबार बिहान १० बजे खोप लगाउन सुरु गरिने निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । आठ जिल्ला अस्पताल, दुईवटा सामुदायिक अस्पताल, एउटा शिक्षण अस्पताल र एउटा प्रदेश अस्पताल गरी १२ वटा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने उनको भनाइ छ । ती अस्पतालमा ‘कोरोना खोप केन्द्र’ तोकिएको छ । 

निर्देशनालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, प्रदेश अस्पताल सुर्खेत, मेहलकुना सामुदायिक अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुम पश्चिमबाट कोरोनाविरुद्धको खोप लगाइने छ । त्यस्तै मुगु, कालीकोट, हुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम, सल्यान र दैलेखमा रहेका जिल्ला अस्पतालहरूबाट पनि कोरोनाविरुद्धको खोप लगाइने निर्देशक डा. खड्काले जानकारी दिए । 

कर्णालीलाई ११ हजार ७८० डोज

कर्णालीका लागि पहिलो चरणमा ११ हजार ७८० डोज खोप पठाएको छ । जसमध्ये सुर्खेतमा सबभन्दा बढी अर्थात् २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालीकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँड गरिएको निर्देशनालयले जानकारी दिएको छ ।



पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाउने बताइएको छ । खोप कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकामध्ये इच्छुकले मात्रै लगाउन सक्नेछन् ।

पहिलो खोप लगाएको चार सातापछि दोस्रो खोप लगाइने डा. खड्काले जानकारी दिए । कर्णालीमा दोस्रो चरणका लागि करिब २४ हजार डोज खोप माग गरिएको निर्देशनालयले जानकारी दिएको छ ।



७ देखि १० दिन भित्र लगाइसकिने

कर्णालीमा पहिलो चरणको खोप ७ देखि १० दिन भित्र लगाइसक्ने तयारी गरिएको छ । भोलि (बुधबार) बिहान १० बजेबाट लगाउन सुरु गरिने खोप आफूहरूले ७ देखि १० दिनभित्र लगाइसक्ने तयारी गरिएको निर्देशक डा. खड्काले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि खोप संयोजकमा डा. अनुज भट्टचनलाई नियुक्त गरेको छ । खोप संयोजकको टोलीसँगको सहकार्यमा खोप लगाइने डा. खड्काको भनाइ छ ।

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया