मार्च टु बालुवाटार : ...अनि नागरिक आन्दोलनमा बर्सियो प्रहरीको लाठी
ओलीविरुद्ध सबैभन्दा आक्रमक नारायण वाग्ले

सोमबार, दिउँसोको २ बजे। कमलपोखरी पूर्वतर्फको डिलमा केही मानिस जम्मा भए। उनीहरुका साथमा थिए, कमलपोखरी संरक्षण र संसद् विघटनविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर। अधिकांशका निधारमा ‘कू’ लेखिएको कालो पट्टी र मुखमा ‘असंवैधानिक’ लेखिएको मास्क थियो। निधारमा बाँधिएको कालो पट्टी मुन्तिर कमलपोखरीको कालै टीको थियो। 

उनीहरु सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरको हातबाट टीका ग्रहण गरिरहेका थिए। प्रदर्शनकारीहरूलाई तुलाधरले कमलपोखरीकै माटो निधारमा लगाइदिएका थिए। पृष्ठभूमिमा विभिन्न बाजाहरू बजिरहेका थिए। विभिन्न सांस्कृतिक बाजाले उपस्थितको ऊर्जा बढाइरहेको प्रष्ट देखिन्थ्यो। 

उनीहरुको एकै स्वर थियो, ‘महानगरले कमलपोखरीको मौलिकता र ऐतिहासिक महत्व मेटिने गरी गरिरहेको पुनःनिर्माण तुरुन्त बन्द गर्नुपर्छ। पोखरीको कंक्रिटिकरण रोकेर पुरानै मौलिक शैलीमा फर्काउनुपर्छ।

कमल पोखरीमा जम्मा भएका यी मानिस त्यहाँबाट मार्च गर्दै बालुवाटारसम्म पुग्ने तर्खर गर्दै थिए। उनीहरुका दुई उद्देश्यमा पहिलो, कमलपोखरी संरक्षण, दोस्रो संसद विघटनविरुद्ध सडक आन्दोलन।

घडीमा साढे २ बज्दा बाजागाजासहित र्याली कमलपोखरीबाट अघि बढ्यो। सेतो ब्यानरमा लेखिएको थियो, ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन। लेखक तथा अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, राजन मुकारूङ, रिता परियार लगायत ब्यानर समातेर विस्तारै अगाडि बढे। र्यालीको दोस्रो भागमा कालो बस्त्र धारी महिलाहरु थिए। उनीहरु आखाँमा पनि कालो पट्टी बाँधेर हिँड्न थाले। 

छाडेनन् सुरक्षाकर्मीले 



‘उमन इन पोलिटिक्स’ नामक यो अभियान पछिल्लो समय सक्रिय छ। विभिन्न सामाजिक मुद्दामा आवाज बढाइरहेको। सोमबार पनि यो समूहले जोशसहित संसद विघटनविरुद्ध नाराहरू घन्काइरहे। त्यहीबीचमा नागरिक अगुवा युग पाठक कहिले झ्याली फिट्दै अगाडि बढ्थे त कहिले संसद विघटनविरुद्ध नारा लगाउँदै। 

उनीहरु नारा लगाउँदै गए, ‘कानुनमाथि को रहेछन् केपी ओली पो रहेछन्’, ‘संविधानलाई मिचेर नैतिकतालाई बिर्सेर’, ‘जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्’, ‘न्याय मार्न पाइँदैन, झुटो आश्वासन चाहिँदैन।’



नारा घन्काइरहेका उनीहरुसँगै बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए। सयौँको भीडलाई सुरक्षाकर्मीले घेरेका थिए। कमल पोखरीदेखि बालुवाटारको निषेधित क्षेत्रसम्म पुग्दा सुरक्षाकर्मीले एकक्षण साथ छाडेनन्, घेरिरहे। बालुवाटारको निषेधित क्षेत्र पुग्दा सुरक्षाकर्मीहरुको संख्या अझ बढ्दै गयो। 

पिपल बोट मञ्च

विभिन्न नारा र बाजागाजासहित र्याली नक्सालस्थित भाटभटेनी अगाडि पुग्यो। त्योभन्दा उता स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र भएकाले प्रहरीले प्रदर्शनकारीलाई रोक्यो। प्रदर्शनकारीले पिपलको बोटलाई नै आफ्नो मञ्च बनाएर त्यहाँ आउनुको उद्देश्यबारे भाषण गरे।

यो अभियानका अगुवा युग पाठक सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ललकार्छन्। त्यसपछि मञ्चमा अभियन्ता तथा मानव अधिकारकर्मी मोहना अन्सारीलाई आफ्नो विचार राखिदिनका लागि बोलाउँछन्।

अन्सारीले सरकारले नै आफूहरुलाई सडकमा आउन बाध्य बनाएको टिप्पणी गरिन्। उनले चारैतिरबाट आन्दोलनकारीलाई निगरानी गरिरहेका प्रहरीलाई हेर्दै भनिन्– प्रहरी यहाँ हाम्रो सुरक्षाका लागि आएको होइन। प्रहरी त बालुवाटारको गेटको रक्षामा तैनाथ छन्।' उनले आफ्नै गल्तीका कारण डराएको सत्ताले बालुवाटारको गेट देखाउनसमेत नसकेको तर्क गरिन्। 

अन्सारीको मन्त्ब्यलगत्तै मञ्चमा गायक प्रदीप देवान झुल्किए। प्रदीपले साहित्यकार गोपाल प्रसाद रिमालको कालजायी कवितामा बनेको गीत ‘एक युगमा एक दिन एकपटक आउँछ’ गाउँदा माइकमा समस्या आइरह्यो। देवानले फेरि त्यही गीत सुरु गरे। उनलाई प्रदर्शनकारीले राम्रो साथ दिए। उनीहरुले थपडी मात्रै बजाएनन्, स्वरमा स्वर पनि मिलाए।

अनि आए डाक्टर केसी

देवानले गीत गाएर ऊर्जा भरेपछि माहोल अझै तातेको थियो। देवान गुज्जिएपछि मञ्चमा उक्लिए डा. गोविन्द केसी। डा. केसीले बोल्दा उनका हातखुट्टा काँपिरहेका थिए। उनले सुरुमै ठट्यौली शैलीमा भने, ‘मलाई बोल्न आउँदैन है, मिलाएर सुनिदिनुहोला।’ 

डा. केसीले केपी ओलीले आफूलाई श्री ७ महाराजाधिराज बनाउने दिशातिर अग्रसर भइरहेको आरोप लगाए। उनले अहिले संविधानको रक्षा गर्ने दायित्व न्यायालयमा आएको बताउँदै नागरिकहरुले झक्झक्याइहरनु पर्नेमा जोड दिए। डा. केसीले विकासको नाममा विनाश भइरहेको भन्दै चिन्ता व्यक्त गरे। 

संग्रौलाको ठट्टा

डा. केसीपछि मञ्चमा झुल्किएका लेखक खगेन्द्र संग्रौलाले पनि सुरुमा हँसाए। ‘म यहाँ आउनुको दुई उद्देश्यमध्ये एउटा नागरिक आन्दोलनमा ऐक्यबद्धता हो’, उनले सुनाए, ‘अर्को चाहिँ नारायण वाग्लेको भाषण र हातको हाउभाउ हेर्ने रहर थियो।’

उनले ओलीलाई सम्झिने जतिले आलोचना मात्रै गरिरहेको बताए। ‘जस-जसले ओलीलाई सम्झिएका छन्, सबैले मुर्दावाद मात्रै भनिरहेका छन्’, उनले भने, ‘कम्युनिष्टको आवरणमा शहीदको बलिदानलाई मुर्दावाद भनेकाले नागरिक सडकमा आउनुपरेको छ।’

उनको ठट्टा यत्तिमै रोकिएन। संग्रौलाले बोल्दा पनि बीचबीचमा माइक चलेन। अनि उनले त्यहाँ पनि ठट्टा गर्दै भने ‘यसमा पनि षड्यन्त्र भएको हुनसक्छ’, उनले यति भनिसकेपछि प्रदर्शनकारी गलल्ल हाँसे।

आक्रमक वाग्ले 

पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले कार्यक्रमभर एकदमै आक्रमक देखिए। प्रदर्शनकारीमध्ये सबैभन्दा अग्ला उनले नै संग्राैलाको अनुमान अनुसार सबैभन्दा आक्रमक भाषण गरे, पटक पटक हात हल्लाउँदै।

वाग्लेले अब सबैखाले प्रतिगमनविरुद्ध लड्ने उद्घोष गरे। बालुवाटारलाई आफ्नो निजी निवास बनाएर ओलीले त्यहीँबाटै प्रतिगमन सुरु गरेको वाग्लेले आरोप लगाए। प्रधानमन्त्री ओलीले जनआन्दोलनलाई घात गरेर शासकीय शक्ति खल्बल्याउँदै बालुवाटारलाई राणाहरू जस्तो निजी निवास बनाउन चाहिरहेको आरोप लगाए। 

वाग्लेले ओलीलाई प्रश्न गरे, ‘अविश्वासको प्रस्ताव ल्याउँदैछ भनेर संसद विघटन गर्ने ?’ ओलीले संविधानमा भएको धर्मनिरपेक्षताको अधिकारलाई खलबलाउन चाहिरहेको आरोप लगाए। 

‘माघको महिना शहीदको महिना हो। नागरिक अभियानले अब शहीदलाई झुण्डिएको र मारिएको ठाउँमा गएर हामी आफूलाई समर्पित गर्छौँ’, उनले भने। वाग्लेको भाषणले प्रदर्शनकारीहरू अझै जुरमुराएर उद्वेलित भए। 

उनले आफूहरु ओलीको अहमताको श्रीपेच फस्काउन आएको प्रहरीले रोके पनि प्रदर्शनकारीलाई अगाडि बढ्न आह्वान गरे। उनले उपस्थित सबैलाई ‘ओली मन्दिर जाउन्। हामी बालुवाटार घेर्न जाऊँ’ भन्दै निषेधित क्षेत्र तोड्न अनुरोध गरे। 

अनि बिग्रियो अवस्था

वाग्लेले बालुवाटार जाऊँ भनेर उद्घोष गरेलगत्तै अग्रपंक्तिमा रहेका युवाहरु प्रहरीसँग धक्कामुक्की गर्दै निषेधित क्षेत्र तोड्न तम्सिए। 

केही अघिसम्म शान्त र सौम्य आन्दोलन निमेषभरमै रणभूमि बन्न पुग्यो। प्रहरीले प्रदर्शनकारी रोक्न खोज्यो, तर उनीहरु रोकिन मानेनन्। प्रहरीले पानीको फोहरा हान्ने गाडी तम्तयार अवस्थामा थियो। 

एकैछिनमा प्रहरीले लाठी चार्जसँगै पानीको फोहरा हान्यो। पानीको फोहोर लागेर गिरफ्तारी दिन गएको अगुवा नारायण वाग्ले, रघुजी पन्त लगायत लडे। 

प्रहरीसँगको मुठभेटमा एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भए। प्रहरीले लाठी बर्साउँदा केही आन्दोलनकारीले त्यसको प्रतिवाद गर्दै ढुङ्गा हाने। तर, ढुङ्गा हान्नेहरूलाई नागरिक अगुवाहरुले सम्झाउन खोजेका थिए।

भीडलाई तितरबितर पार्ने क्रममा केही पत्रकार पनि घाइते भए। पानीको फोहरा लागेर केही पत्रकारका क्यामेरा पनि ‘ड्यामेज’ भए। तितरबितर भएको भीड विस्तारै भाटभटेनी अगाडि जम्मा हुन थाल्यो। 

प्रहरीसँग भिडेर फेरि जम्मा भएका प्रदर्शनकारीलाई सम्बोधन गर्दै वाग्लेले भने, ‘हाम्रो शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको छ। भद्र अवज्ञा आन्दोलनका अगुवाइमाथि बर्बर शैलीमा दमन गरेको छ’, उनले अगाडि भने, ‘हामीले आन्दोलन शान्तिपूर्ण हुने पहिले नै बताइसकेको अवस्थामा पनि प्रहरीले दमन गर्यो। हाम्रा साथीहरुसँग न लाठी थियो न ढुंगा।’

तेस्रो जनआन्दोलन

प्रहरी दमनपछि वाग्लेले तेस्रो आन्दोलन सुरु भएको बताए। ‘हामीले जानकारी दिँदादिँदै दमन भएको छ,’ उनले भने, ‘प्रतिगमनविरुद्ध अब तेस्रो आन्दोलन सुरु गर्यौँ।
कार्यक्रममा प्रहरीले गरेको धरपकडको भत्र्सना गर्दै आयोजना बृहत् नागरिक समूहले झडपको केही घण्टापछि विज्ञप्ति सार्वजनिक गर्यो। नागरिक समाजका अगुवा युग पाठकले जारी गरेको विज्ञप्तिमा प्रहरीको लाठी लागेर १२ जना घाइते भए। 

घाइतेहरुको काठमाडौं मोडल अस्पताल, हेल्पिङ ह्यान्ड, हिमाल अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको थियो। घाइतेमध्ये निर्गराज जैसीको अवस्था साह्रै गम्भीर थियो। 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ नाममा नागरिक समाजले पुस १२ गतेदेखि माइतीघर मण्डलबाट आन्दोलन सुरु गरेको थियो। 

यो आन्दोलनका क्रममा कहिले कविता वाचन, कहिले गीत संगीत त कहिले नाटक पनि देखाइयो। सोमबार पनि शिल्पी थिएटरले नाटक देखाएको थियो। कार्यक्रममा नागरिक आन्दोलनलाई अगाडि बढाउन चन्दा पनि उठाइयो।

२०६२/०६३ को आन्दोलनका क्रममा बचेको २० हजार ५६ रुपैयाँ नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले केही दिनअघि आफूलाई हस्तान्तरण गरेको वाग्लेले बताए।

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १६:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया