विकराल बन्दै बाल बिछोड

काभ्रेकी शकुन्तला तामाङ (नाम परिवर्तन) को उमेर ९ वर्ष मात्रै भयो । उनलाई बाबुआमाले पढाइको आशमा सहरमा आफन्तको घरमा काम गर्न राखिदिए । पढ्ने आशमा नातेदारको घरमा पुगेकी शकुन्तलाले त्यहाँ बसे बापत घरको सबै काम गर्नुपर्छ । उनी बसेको घरमा २ कक्षामा पढ्ने भाइ छन् । उनी चकचक गरिरहन्छन् । लड्यो भने सबै जनाले उसलाई बोक्छन्, सुमसुम्याउँछन् ।

तरकारी काँट्दा कहिलेकही शकुन्तलाको हात चुलेसीले काट्छ । तर, उनले मायाको साटो गाली पाउँछिन् । उनका नातेदारले उनलाई ‘काम गर्ने ढंग छैन’ भन्दै हप्की र दप्की गर्छन् । आमाबाबुसँग बस्न नपाउँदा र यस्तो गाली खाँदा शकुन्तलाको मन दुख्छ । उनी एक्लै-एक्लै लुकेर रुन्छिन् ।

दाङका सुदिन चौधरी पनि १२ वर्षको उमेरमै आमाबाबुबाट बिछोडिन पुगे । उनलाई ४ वर्षअघि उनका पिताले घरको आर्थिक अवस्था कमजोर भएका कारण खाने बस्ने प्रबन्ध मिलाएर दाङबाटै काठमाडौं पसेका एक धनाड्यको घरमा पठाएका थिए ।

घरबाटै रुँदै काठमाडौं आएका भवीन्द्र त्यसको ६ महिनापछि काम गर्न बसेको घरबाट भागे । उनी करिब ५ महिनापछि काठमाडौंकै सडकमा भेटिए । यो खबर दाङमा रहेका भवीन्द्रका बुवाले थाहा पाए । उनले काठमाडौं आएर छोरालाई घर त लगे । तर, भवीन्द्र घर बस्नै मानेनन् । उनी पुनः सडकमै फर्किए ।

आमाबाबुबाट छुट्टयाइएर अरूका घरमा काम गर्दै सुखद भविष्यको आशामा हुर्कंदै गरेका बालबालिकाको दुःखद् वर्तमान अभिभावकले बुझ्नु पर्ने बाल–अधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन् । बालबालिकाका यस्ता बिछोडप्रति सबै संवेदनशील हुन जरूरी रहेको उनको भनाइ छ ।

उच्च खानदानमा बालबिछोड



हेटौंडाकी आरोही अधिकारी २ वर्ष पुग्ने बित्तिकै मन्टेश्वरी पुगिन् । सरकारी स्कुलमा पढाउने उनका आमाबाबुले उनलाई मन्टेश्वरीमा ‘डे बोडर्स’ गरिदिए । आरोही सानो फुच्चे झोला बोकेर हरेक दिन बिहान मन्टेश्वरी पुग्थिन् । राति अबेर फर्किन्थिन् ।

हुर्कंदै गर्दा उनलाई परिवारको भन्दा मन्टेश्वरीको माया लाग्न थाल्यो । घरमा आमाबुवासँग रमाउनै नसक्ने । पिर्ने, खाना नखाने, नपढ्ने गर्न थालिन् । परिवारका कसैसँग नबोल्ने । आफ्नो कुराहरु सेयर नगर्ने । आफूमा भएको समस्या पनि स्कुल गएपछि आफ्ना साथी तथा म्यामहरुसँग सेयर गर्न थालिन् ।



पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिडका कारण देशव्यापी लकडाउन भयो । आरोहीको स्कुल बन्द भयो । उनका आमाबाबु पनि फुर्सदिला भए । तर, उनलाई परिवारसँग घुलमिल हुन निक्कै गाह्रो भयो । लामो समयपछि स्कुल खुलेसँगै आरोहीको खुसी फर्किएको छ । उनी अहिले ६ कक्षामा पढ्छिन् ।

राम्रो शिक्षाको प्रलोभनका कारण पनि थुप्रै उच्च खानदान तथा जागिरे परिवारका बालबालिकाले आफ्ना परिवारसँग बिछोडिनु परेको बाल-अधिकारकर्मी कादम्बरी बताउँछिन् । पछिल्लो समय राम्रो शिक्षाको लोभ तथा आफ्नो व्यस्त समयले बच्चाको केयर गर्ने समय भएन भनेर होस्टलमा बच्चा राख्ने क्रम बढ्दो छ ।

परिवारको माया पाउनु पर्ने बाल उमेरमै परिवारबाट बिछोडिन पुगेका बालबालिमा एक्लोपन, कम अपनत्वको फिल लगायत कुलतमा फस्न सक्ने सम्भावना बढी रहेको कादम्बरीको भनाइ छ । व्यस्त जीवनशैली, एकल परिवारका कारण सम्भ्रान्त परिवारमा बालबिछोड झन् विकराल बन्दै गएको बालअधिकारकर्मीहरुको भनाइ छ ।

विपतले पनि परिवारसँग बिछोडिन्छन् बालबालिका

कोरोना महामारीका कारण पनि थुप्रै बालबालिका पारिवारिक बिछोडको जोखिममा रहेको राष्ट्रिय बालअधिकार परिषदले जनाएको छ । ज्यामी काम गर्ने, मजदुरी गरेर जीविकोपार्जन गर्ने लगायत सानो व्यवसाय गर्नेका छोराछोरी लुकेर, भागेर सडक बालबालिकामा रुपान्तरण भएका छन् ।

लकडाउनको समयमा सडकमा देखिएका ४० बालबालिकालाई परिवारसँग पुनर्मिलन गराएको परिषद्ले जनाएको छ । कोभिड कालमा देशभरका ६ बालगृहबाट ५५ जना बालबालिकालाई उद्धार गरिएको राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।

बिछोडिएका बालबालिका कुलतमा

विभिन्न कारणले आफ्ना परिवारसँग बिछोडिएका धेरै बालबालिका सडकमा पुग्ने गरेका छन् । परिवारसँग बिछोडिएका कयौं बालबालिका लागुऔषध बेचबिखन तथा वेश्यावृत्तिमा फस्ने जोखिममा हुन्छन् । यसरी परिवारबाट बिछोडिएका बालबालिका नै घरेलु श्रमिक, विभिन्न कलकारखानामा बाल मजदुरका रुपमा काम गर्न पुग्छन् ।

सरकारले बालबालिकालाई शिक्षा मात्रै भनेर नहुने उनीहरुको पारिवारिक बिछोडको पाटो तथा कारण तर्फ पनि ध्यान दिनुपर्ने कादम्बरीको ठम्याइ छ ।

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १९:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया