के प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति बढेकाे हाे?

दुई वर्षअघि । ४ असोज २०७५ । यो मितिमा फरकधारमा एउटा समाचार प्रकाशन भएको छ– ओली तानाशाही पथमा छन् ।

पढ्नुहाेस् त्याे समाचार— ओली तानाशाही पथमाः भारतीय मिडिया

नेपालमा दुई तिहाई मत ल्याएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई चुनेको लामो समय भएको थिएन । 

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओली चीनसँग नजिकिएको अर्थ भारतीय विश्लेषकहरुले लगाउन थालिसकेका थिए । २०७२ सालमा गएको विनाशकारी भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीका कारण नेपाली जीवन, अर्थतन्त्र अस्तव्यस्त भएको थियो ।

त्यही समयमा भारतविरुद्ध चर्को अभिव्यक्ति दिएर राष्ट्रवादी नेताको रुपमा आफूलाई स्थापित गरिरहेका थिए, प्रधानमन्त्री ओली ।

तर, जब उनी प्रधानमन्त्रीमा निर्वाचित भए, भारतीयहरुले उनीमाथि निकै धेरै व्यंग्य गर्न थाले, उनको आलोचना गर्न थाले । ५ पुस २०७७ मा प्रधानमन्त्री ओलीले संसद विघटन नगर्दासम्म र त्यसअघि भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा उनको भेटघाट नहुँदासम्म पनि भारतीय मिडियाले ओलीको ‘खोइरो’ खनिरहेका थिए । 



तर, अहिले परिस्थिति बदलिएको छ । केहीअघि भारतीय मिडिया जी न्युजलाई प्रधानमन्त्री ओलीले अन्तर्वार्ता दिएपछि यो परिवर्तन आएको हो । जी न्युजलाई अन्तर्वार्ता दिएपछि प्रधानमन्त्री ओलीले दाबी पनि गरेका थिए– अहिले भारतमा मलाई सबैले चिन्छन् ।

एकातिर भारतीय मिडियामा ‘सफ्ट कर्नर’मा प्रधानमन्त्री ओली पर्न थालेका छन् । तर, उनले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली मिडिया तथा सामाजिक सन्जालका अधिकांश प्रयोगकर्ता उनको यो कदमको विरोधमा उत्रिएका छन् ।



अनि नेपाली समुदायमा टिप्पणी हुन थालेको छ, प्रधानमन्त्री ओलीमा तानाशाही प्रवृत्ति विकास हुँदै गएको छ ।

के साँच्चिकै प्रधानमन्त्री ओली तानाशाह हुन खोजेका हुन् ? फरकधारले यो प्रश्न राजनीतिक विश्लेषक हरि रोकालाई राखेको थियो ।

‘खासमा उहाँसँग क्षमता नै थिएन, उहाँ प्रधानमन्त्री हुन लायक मान्छे नै होइन,’ रोकाले भने, ‘कागतालीले उहाँ त्यो ठाउँमा पुगिहाल्नुभयो, अनि त्यहाँ पुग्न उहाँले अनावश्यक नाराहरुलाई साथ लिनु भयो ।’

रोकाको तर्क छ– अनेक नारा लिएर प्रधानमन्त्रीको पदमा पुगेका ओलीसँग ती नारा र योजना कार्यान्वयन गर्नका लागि कुनै पनि आधार थिएन । 

‘फेरि ती नारा कार्यान्वयन हुनसक्ने अवस्थाका नारा पनि थिएनन्,’ रोकाले भने, ‘उहाँ असफल हुनुभयो ।’

कुनै पनि नारा, योजना तथा समृद्ध हुने चाहना कार्यान्वयनका लागि सबैभन्दा पहिले सैद्धान्तिक जग चाहिने रोकाको बुझाइ छ । ‘कुनै पनि कार्यक्रम आउँदा त पहिले सैद्धान्तिक जग चाहियो नि,’ उनले भने, ‘त्यसपछि योजना कार्यक्रममा ढाल्न सकिन्छ, योजनामाथि कार्यक्रमहरु बनाउन सकिन्छ ।’

यसरी कार्यक्रम बनिसकेपछि मात्र त्यसको कार्यान्वयनमा जानका लागि विभिन्न संस्थाहरु विकास गर्नु पर्ने रोकाले बताए । ‘कार्यक्रमहरुलाई फ्लोरमा लैजान संस्थाहरु चाहिन्छ,’ यति भनिसकेपछि रोकाले भने, ‘तर, ओलीसँग यो केही थिएन । उहाँ असफल हुनु त्यसैले पनि स्वभाविक हो । के ओलीसँग यो योजना थियो ?’

आफू असफल भए पनि आफू नै प्रधानमन्त्री पदमा बसिरहनु पर्ने सपना देखेकाले ओलीमा सत्तामोह देखिएको प्रष्ट भएको रोकाले बताए । ‘असफल हुँदाहुँदै पनि उहाँलाई सत्तामोह छ, यो रोग हो,’ रोका भन्छन् । 

ओलीले आफू असफल भएको थाहा पाएर नै नेपालको संविधान भत्काएको र यसलाई साधरण रुपमा लिएको रोकाले आरोप लगाए । ‘ओलीले असफल भए पछि पनि जसरी संविधान भत्काएर अगाडि बढ्नुभयो,’ रोकाले भने, ‘यो एउटा रोग हो ।’

रोकाको तर्कमा यो यस्तो रोग हो जसले देशलाई अब थप बर्बादीतिर धकेल्न सक्छ । ‘भोलि फेरि कोही प्रधानमन्त्री भयो र आफू असफल भएँ भन्ने सोच्यो भने उसले संसद विघटन गरिदिन्छ, नयाँ चुनाव घोषणा गरिदिन्छ,’ रोकाले भने, ‘यसरी देशलाई रोगी बनाउने मान्छे तानाशाही प्रवृत्तितिर मोडिएको कसले नमाल्ला र ?’

सोमबार मार्च टु बालुवाटार कार्यक्रममा प्रहरीले प्रदर्शनकारी मानवअधिकारवादी, पत्रकार तथा प्रबुद्ध समुदायमाथि निर्मम प्रहार गर्यो । पछिल्लो समय प्रहरीले यसरी बल प्रयोग गर्नुलाई थप ओलीको असफलतासँग जोडिन थालेको छ । 

यही कारण पनि ओलीमा तानाशाही प्रवृत्ति विकास भएको थप विश्लेषण आइरहेका छन् । 

के साँच्चिकै ओली तानाशाह बन्न खोजिरहेका छन् त ? 

हामीले यो प्रश्न ओलीनिकट नेता तथा राष्ट्रिय सभामा नेकपाका सचेतक खिमलाल भट्टराईलाई सोध्यौँ ।

उनले यो प्रश्न खस्न नपाउँदै भनिहाले, ‘जसलाई तनाशाह भनेको के हो र तानाशाह कस्तो हुन्छ भन्ने थाहा छैन, जसले यसलाई बुझेका छैनन्, उनीहरुले यस्तो भनेका हुन् । जसले तानशाह भनेको को हो भन्ने बुझ्छन्, उनीहरुले यस्तो भन्दै भन्दैनन् ।’

यसका लागि उनको तर्क र प्रश्न थियो– के तानाशाह हुन खोजेको भए ओलीले चुनाव घोषणा गर्थे होलान् ?

आफ्नो प्रश्नको उत्तर भट्टराई आफैं दिन्छन्, ‘गर्थेनन्, ओलीले बारम्बार निर्वाचनमा जान्छु, जनतामाझ जान्छु भनिरहेका छन् । त्यही भएर पनि उनी तानाशाह हुनै सक्दैनन् ।’

मंगलबार कुराकानीको अन्त्यमा भट्टराईको फेरि पनि प्रश्न थियो– के तानाशाह भएको भए ओलीले जनतामाझ जान्छु भन्थे होलान् ?

भट्टराईको यो प्रश्न हामीले रोकालाई राख्यौँ ।

‘सबैभन्दा पहिले चुनावको प्रसंग होइन, केपी ओलीले संविधान भत्काएर देशमा रोग थोपरेका छन्, देश र जनतामाथि रोग थोपर्ने काम तानाशाहले मात्र गर्छन्,’ रोकाले भने, ‘तानाशाह भनेका तिनै हुन्, जसले देश र जनतामाथि रोग थोपर्छन् ।’

आफू असफल भएपछि पनि अर्को विकल्प नदेख्ने, आफू मात्रै प्रधानमन्त्री हुनुपर्छ भन्ने सोच राख्ने र अरु कोही प्रधानमन्त्री हुनै सक्दैन, हुनै पाउँदैन भन्नेहरु नै तानाशाही भएको र अहिले प्रधानमन्त्री ओलीमा यही प्रवृत्ति देखिएको रोका बताउँछन् ।

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १८:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया