प्रधानमन्त्रीको पशुपतिनाथ यात्रा : धार्मिक कि राजनीतिक ?
आगामी चुनावको एजेण्डा बन्‍न सक्छ हिन्दु धर्म

३ फागुन २०७४ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको सपथ लिने क्रममा केपी शर्मा ओलीले ईश्वरलाई सम्झिएनन्। कम्युनिष्टका ईश्वर कार्ल मार्क्स हुन् भन्दै आएका ओलीले त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिँदा जनतालाई सम्झिएका थिए। 

ओलीले जनताको नाममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेयता पहिलोपटक यही सोमबार भगवान् शिवको दर्शन गर्न पशुपतिनाथ मन्दिर पुगे। आफ्ना सहयोगीको लावालस्करसहित पशुपतिनाथ पुगेपछि ओलीले अब धर्मको कार्ड पनि फ्याँक्न खोजेको टिप्पणी धेरै गरेका छन्। 

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिदिएपछि राष्ट्रपतिमार्फत वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका ओली त्यसयता निरन्तर इतर पक्षको घेराबन्दीमा छन्। उनीविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सबैभन्दा चर्को आक्रमण गरिरहेको छ।

अर्कातिर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि ओलीको कदमविरुद्ध आन्दोलित छन्। भित्रभित्रै चुनावी तयारीमा जुटे पनि दलहरुले सडकमा आन्दोलन पनि तताइरहेका छन्। ओलीविरुद्ध पछिल्लो समय नागरिक अगुवाहरुको एउटा समूह पनि आक्रमक भएर आएको छ। उनीविरुद्ध नारायण वाग्लेसहितका नागरिक अगुवाले तेस्रो जनआन्दोलन नै घोषणा गरिदिएका छन्।

अनेक घेराबन्दीबीच ओली पछिल्लो समय तनावमा रहेको देख्न सकिन्छ। विशेषगरी प्रचण्ड र माधव नेपालविरुद्ध उनी बढी आक्रमक देखिन्छन्। उनले दाहाल-नेपाललाई भष्मासुर, कुलङ्गार र पिलोसम्मका उपनाम दिइरहेका छन्। हास्य रस मिसिएका भाषण गरे पनि उनका यी अभिव्यक्तिले उनी तनावको उच्च बिन्दुमा रहेको देखाउँछ। 

जनताको नाममा सपथ



ओलीले प्रधानमन्त्रीका रुपमा दुई पटक सपथ लिने क्रममा ईश्वरलाई बिर्सिएका थिए। उनले दुवै पटक जनताको नाममा पद तथा गोपनीयताको सपथ लिए। ईश्वरलाई नमानेर नास्तिक व्यवहार देखाएको भन्दै दुवै पटक उनको चर्को आलोचना भएको थियो।

क्रिश्चियन मुलुकहरुमा राष्ट्र तथा सरकार प्रमुखहरुले बाइबल छोएर सपथ खाइरहँदा नेपालका प्रधानमन्त्रीले हिन्दुहरुको धार्मिक ग्रन्थ गीता छोएर सपथ लिनुपर्ने मत आलोचकले राखेका थिए। तर नेपालका कम्युनिष्ट नेताहरुले सरकारी ओहदामा जाँदा ईश्वर बिर्सिएको टिप्पणी नयाँ होइन। यो कुरा पटक पटक दोहोरिने गरेको छ। तर संकटको अवस्थामा कम्युनिष्ट नेताहरुले ईश्वरलाई नै सम्झिने गरेका दृष्टान्त धेरै छन्।  



कम्युनिष्टका देउता मार्क्स 

झापामा भएको हिंसात्मक आन्दोलनसँगै उदाएका ओलीले दोस्रो कार्यकाल प्रधानमन्त्री भइसकेपछि ९ वैशाख २०७५ एउटा विवादित टिप्पणी गरे। सन्दर्भ थियो, काठमाडौंमा तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रले गरेको लेनिन जयन्ती कार्यक्रम।

त्यसबेला उनले ईश्वर नभएको बताउँदै कसैले ईश्वर छ भन्छ भने काल मार्क्स भएको बताएका थिए। अप्रिल २२ मा पर्ने लेनिन जयन्तीको अवसरमा सम्बोधन गर्दै ओलीले मार्क्सबारे भनेका कुरा विवादमा पनि परेको थियो। 'महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समेत काल मार्क्सलाई ईश्वर भनेका थिए’, ओलीले त्यसबेला भनेका थिए, ‘ईश्वर छैनन्, तर कसैले यदि ईश्वर छ भन्छ भने काल मार्क्सलाई भने हुन्छ।’ 

त्यसबेलाको सम्बोधनमा ओलीले ईश्वरले न्यायोचित काम गर्न नसकेको भन्दै आलोचनात्मक टिप्पणी पनि गरेका थिए। 'पुरानो ईश्वरले न्यायोचित काम नगरेकाले शोषित, पीडित जनताका लागि काम गर्ने मार्क्सलाई ईश्वर मान्न सकिन्छ', उनले भनेका थिए। 

मोदीसँगै जानकी मन्दिरमा पूजा

पछिल्लो समय भारतमा पनि धर्मको मुद्दा प्रमुख बन्दै गएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दुवादी नेता मानिन्छन्। नेपाललाई पनि भारतले हिन्दु धर्मले जोड्न खोजेको कुरा पुरानो होइन। २०६२/६३ को आन्दोलनसँगै आएको गणतन्त्रका कारण विस्थापित भएको हिन्दु राज्य फर्काउने अभियानमा केही भारतीय नेताहरु अझै पनि लागिरहेका छन्। 

नेपाल र भारतबीच पनि कयौँ धार्मिक समानता छ। भाजपा नेतृत्वको सरकारले नेपालमा पनि हिन्दु धर्मको मुद्दालाई बोक्न खोजेको देखिन्छ। २८ वैशाख २०७५ मा दिल्लीबाट आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले जनकपुरस्थित जानकी मन्दिरमा पूजा गरेका थिए। 

प्रधानमन्त्री ओलीले त्यसबेला मोदीसँग मिलेर जानकी मन्दिरमा पूजा मात्रै गरेनन् जनकपुर र अयोध्यालाई जोड्ने बस सेवासहितका सम्झौतामा हस्ताक्षर पनि गरे। तराई-मधेसमा निकै अफ्ठ्यारो अवस्थामा रहेका ओली त्यसबेला जानकी मन्दिर कार्डलाई नै प्रयोग गरेर सजिलै अवतरण भएका थिए। 

भगवान् राम कार्ड

ओलीले सोमबार गरेकाे पशुपतिनाथको दर्शनलाई अप्रत्याशित मान्न नसकिने हिन्दु धर्मका अभियन्ताहरु बताउँछन्। उनले पछिल्लोपटक गत असार २९ गते अर्को धार्मिक कार्ड फ्याँकेका थिए। भारतले भगवान् रामको जन्मभूमि अयोध्या भनिरहेका बेला ओलीले नेपालको पर्सा भएको दाबी पेस गरे। 

गत असार २९ गते सोमबार प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा एउटा अप्रत्याशित अभिव्यक्ति दिएका थिए। करिब ३० वर्ष लामो विवादपछि हिन्दुहरुको पक्षमा विवादित भूमि ल्याएको उत्तर प्रदेशस्थित राम मन्दिर रहेको अयोध्या राम जन्मभूमि नभएर नेपालको पर्सास्थित ठोरीमा भएको प्रधानमन्त्रीले बताएका थिए। 

यसलाई लिएर उनीमाथि उनका विरोधीले अनेक कोणबाट आक्रमण गरे। भारतीय जनता पार्टीले त ओलीको अभिव्यक्तिको निन्दा नै गर्यो। नेपालमा पनि ओलीले हचुवाको भरमा बोलेर भारतसँगको सम्बन्ध बिगारेको भन्दै उनी घेराबन्दीमा परे। 

कमल थापादेखि डा. बाबुराम भट्टराईसम्मले प्रधानमन्त्रीले अल्पज्ञानका भरमा यस्तो कुरा बोलेको आरोप लगाएका थिए। प्रधानमन्त्री ओलीले यसबारे त्यतिकै बोलेका थिएनन्। यसबारेमा एउटा समूहले अभियान नै चलाएको थियो। चितवनको माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसमा नै श्रीरामको जन्म भएको कुरा प्रमाणित गर्ने अभियान लामो समयदेखि चलाइएको थियो।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान थालेको थियो। त्रेता युगमा भगवान् रामको जन्म नेपालकै चितवनस्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा भएपछि विभागले विज्ञसँग छलफल थालेको प्रवक्ता रामबहादुर कुँवरले बताएका थिए। तर, विभागले अहिलेसम्म अनुसन्धान कहाँ पुर्‍यायो? केही खुलाइएको छैन।

दोस्रोपटक पशुपतिमा 

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार प्रधानमन्त्री ओली पहिलोपटक पशुपति पुगेका होइनन्। उनी २०७२ असोज २४ गते पहिलोपटक नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। त्यसबेला पनि ओली पशुपतिनाथ दर्शनका लागि पुगेको टण्डनले बताए। तर, त्यसबेला उनले लाखबत्ती बालेका थिएनन्। 

पहिलोपटक प्रधानमन्त्री भएका बेला एकपटक पशुपतिनाथ दर्शनमा पुगेका ओली दोस्रोपटक पत्नी राधिका शाक्यसहित सोमबार त्यहाँ पुगे। उनले पशुपतिनाथमा पूजा मात्रै गरेनन्, लाखबत्ती पनि बाले। धर्मलाई अफिम मान्ने र भन्ने गरेका नेपाली कम्युनिष्ट जमातलाई लाखबत्ती प्रज्वलन तातो विषय भएको छ । गैर-कम्युनिष्टले पनि प्रधानमन्त्री ओलीको धार्मिक अनुष्ठानलाई व्यंग्य गरेका छन्।

२०६२/०६३ को जनआन्दोलनमा निरपेक्ष बसेका ओलीमाथि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको अभिभावकत्व ग्रहण गर्न नचाहेको आरोप लागिरहेको छ। चौतर्फी घेराबन्दीबीच प्रधानमन्त्री ओली यही माघ २३ गते आफ्नो शक्ति देखाउने तयारी गरेका छन्। यस्तोमा हिन्दु धर्मका गुरुहरूले संकटका बेलामा हिन्दुहरुका आराध्यदेवमा पुगेर पूजा गर्नुलाई शक्ति आर्जनका रुपमा व्याख्या गरेका छन्। 

राजनीतिक र धार्मिक दुवै अर्थ 

प्रधानमन्त्री ओलीको पशुपति यात्रालाई हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मानिस गल्दै, थाक्दै गएपछि भगवानकै शरण पुग्ने अन्य घटनाजस्तै व्याख्या गरेका छन्।

'यसलाई सजिलो रुपमा हेर्नुपर्छ, मानिस आकाशमै उडे पनि, हेलिकोप्टरमै सयर गरे पनि अन्तिममा धरातलीय सतहको सहारा लिनैपर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि अन्तिममा 'आखिर श्रीकृष्ण रहे छ एक', भनेकै थिए', उनले फरकधारसँग भने, 'जब मानिसका इन्द्रीयहरू गलित हुँदै जान्छन्,निराशा बढ्दै जान्छ। तब अन्तर हृदयमा झल्किएको कुरा अदृश्य शक्तितिर झुक्न बाध्य हुन्छ। प्रधानमन्त्रीमा पनि त्यही भएको हो।'

उपाध्यायले ओली कम्युनिष्ट भए पनि उनमा पूर्वीय दर्शनको प्रचुर ज्ञान रहेको बताए। 'कम्युनिष्ट भए पनि उहाँमा पूर्वीय दर्शनको भरपूर ज्ञान छ। एकदमै सकारात्मक ऊर्जा पनि छ। अहिलेसम्मका प्रधानमन्त्रीमा मैले त्यस्तो ज्ञान देखेको थिइनँ', उनले भने, 'उहाँले भगवान् रामको जन्मथलोबारे राम्रो अध्ययन गरेर बोलेको देखिन्छ। कोरोना संकटमा हाम्रो पूर्वीय संस्कारअनुसार उहाँले बेसार पानी खानु भन्नुभएको हो। बेसार त हाम्रो औषधि नै हो नि !'

उनले जतिसुकै मैलो भए पनि पानीलाई नचलाएपछि निर्मल हुने तर्क गरे। 'पानी जतिसुकै मैलो भए पनि नचलाएपछि निर्मल हुन्छ। जो मानिस पनि अन्तिममा आर्यघाट नै पुग्ने हो। कम्युनिष्ट भनिने हाम्रा नेताहरु जोसुकैलाई पनि आर्यघाटमै दागबत्ती चाहिन्छ। सबैलाई आर्यघाटमै लगेका छन्, ईश्वर मान्दिनँ भन्नेलाई गाडेका छैनन्, पशुपतिनाथकै ब्रह्मनालमा लगेर अन्त्येष्टि गरिएको छ।'

पण्डित उपाध्यायले ओलीको पशुपति दर्शनलाई राजनीतिक र धार्मिक दुवै कोणबाट हेर्न सकिने बताए। 'हामीले अनुमान लगाएर अर्थ हुँदैन। हाम्रो रगत रगतमा धर्म जोडिएको कुरा सत्य हो। अहिलेको संकटपूर्ण अवस्थामा उहाँ पशुपतिनाथ गएको कुरालाई राजनीतिक रुपमा पनि हेर्न सकिन्छ। उहाँले हिन्दुवादीहरुको सेन्टिमेन्ट तान्न खोज्नुभएको हुन सक्छ', उपाध्यायले भने, 'लाखबत्तीको तात्पर्य पनि गहिरो छ। लाखबत्ती पितृहरूको उद्धार अनि आफू अफ्ठ्यारोमा या अँध्यारोमा रुमल्लिएको बेला बाल्ने गरिन्छ। हामीले 'तमसोमा ज्योतिर्गमय' भनिरहन्छौँ। अर्थात् संकटको बेला या अँध्यारोमा फसेका बेला उज्यालोतर्फ जान भगवानको सहारा लिनु अनौठो होइन।'

उपाध्यायले कोरोना कारण चैतदेखि बन्द पशुपतिनाथको गर्भगृह खुलाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गर्दै लाखबत्ती बालेको स्मरण गरे। नेपालका नेताहरुले पशुपतिनाथलाई नजिकको भूत ठानेर हेला गरेको तर्क उने गरे। 'मोदी आएर दर्शन गर्न मिल्ने तर नेपाली नेताहरुले दर्शन नगर्ने? यसरी हेला गरिएको थियो', उनले भने, 'प्रधानमन्त्रीले अहिले आफ्नै भित्रबाट धक्का खानुभएको अवस्था छ। आपत् परेका बेलामा भगवानको सहारा लिनुलाई राजनीतिक रुपमा मात्रै हेर्नुहुँदैन। अन्य कम्युनिष्ट नेताहरुले पनि ग्रहशान्ति पूजा गरेका छन्। धर्म मान्दिनँ भन्ने कुरा भोटको राजनीति मात्रै हो।'

हिन्दु धर्म चुनावी एजेण्डा 

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डन प्रधानमन्त्रीको पशुपति यात्रालाई यसअघि गरिएका गल्तीको प्रायश्चितका रुपमा व्याख्या गर्छन्। नेपालीहरु धर्म संस्कृतिबिना बाँच्नै नसक्ने तर्क उनले गरेका छन्। 

'जीवनभर जे जे गल्ती भए त्यसको प्रायश्चित प्रयास प्रधानमन्त्रीले पशुपति गएर गर्नु भएको हो', उनले फरकधारसँग भने, 'जुन देशमा हामी धर्म संस्कृतिबिना बाँच्न सक्दैनौँ, त्यस देशमा मार्क्‍सवाद ल्याएको प्रायश्चित्तका लागि उहाँले पशुपति दर्शन मात्रै गर्नु भएन लाखबत्ती नै बाल्नु भयो।'

हरेक मानिसले उमेर र बैंसमा जे जे गरे पनि बुढेसकालमा प्रायश्चित गर्ने उनले बताए। 'प्रधानमन्त्रीले मठमन्दिर नधाए पनि उहाँका आमाबुवा र पुर्खाहरू त जानुभएकै थियो। अब उहाँले पनि बुढेसकालमा प्रायश्चित गरेको हो', टण्डनले भने।

प्रधानमन्त्रीको पशुपति यात्रालाई टण्डनले अहिलेको राजनीतिक संकटसँग पनि जोडेर हेरेका छन्। 'संसद विघटन गरेर देशमा नयाँ चुनावको मिति घोषणा भइसेको छ। तथापि उहाँ पनि चर्को घेराबन्दीमा पर्नु भएको छ। अहिलेको संकटपूर्ण राजनीतिक माहोलमा उहाँले पशुपति पुगेर शक्ति आर्जनका लागि पूजा गर्नु भएको हो', उनले भने, 'म धर्म पनि मान्छु, संस्कृति पनि मान्छु भनेर उहाँले यसलाई चुनावी एजेन्डा पनि बनाउनु खोज्नु भएको छ। अदालतले सरकारको पक्षमा निर्णय गरिदियो भने हिन्दु धर्म चुनावी एजेन्डा बन्ने अवस्था आउन सक्छ।'

टण्डनले वाम विचारधाराका मानिसहरु मन्दिरमा गएर दर्शन गर्नु सकारात्मक भएको  बताए। 'एकथरी मान्छेहरु मन्दिरमा जाँदै गएनन्। तर प्रधानमन्त्री ओली त जानुभयो नि! यसले राम्रै सन्देश दिन्छ। उहाँले प्रायश्चित पनि गर्नु भएको छ। उहाँले पशुपति गएर चुनावलाई पनि सन्देश दिन खोजेको हो', उनले भने, 'हिन्दुहरुको अभियान पनि चलिरहेको छ। नेपाल दोस्रो जनआन्दोलनसम्म हिन्दु धर्मसहितको राष्ट्र थियो। तर गणतन्त्र आएसँगै त्यो गुम्यो, उहाँले अब हिन्दु धर्मावलम्बीको पनि सेन्टिमेन्ट तान्न खोज्नु भएको देखिन्छ।' 

पशुपति जानु राजनीतिक कुरा

हिन्दु राज्य र राजतन्त्र पुन:स्थापना अभियान चलाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना नेता मोहन श्रेष्ठ प्रधानमन्त्रीको पशुपतिनाथ यात्रालाई धार्मिकभन्दा राजनीतिक रुपमा व्याख्या गर्छन्। उनले प्रधानमन्त्रीले श्रीमतीसहित पशुपतिनाथ जानुलाई धार्मिक आस्था भनेका छन्। तर त्यहाँ गएर पूजा लाउनु र लाखबत्ती बाल्नुलाई राजनीतिक कुरा भनेका छन्। 

'श्रीमतीसहित लिएर पशुपतिनाथ जानु भनेको आस्थाको कुरा हो। तर त्यहाँ गएर प्रधानमन्त्रीले पूजा लाउनु, लाखबत्ती बाल्नु राजनीतिक कुरा हो। उहाँ अहिले एकदमै अफ्ठ्यारो अवस्थामा हुनुहुन्छ', श्रेष्ठले भने, 'जब मान्छे अफ्ठ्यारो अवस्थामा पर्छ तब भगवानको खोजी गर्ने हो। भुइँचालो जाँदा क्रिश्चियनहरुले राम राम भने जस्तै हो प्रधानमन्त्रीको पशुपतिनाथ दर्शन।'

प्रधानमन्त्रीले पशुपति गएर एउटा राजनीतिक परिदृश्य देखाएको पनि उनले बताए। 'यो एकदम सकारात्मक कुरा हो, आगामी राजनीतिको परिदृश्य प्रधानमन्त्रीले देखाउनु भएको छ। हिन्दु जनमतलाई उहाँले क्यास गर्न खोजेको देखिन्छ', श्रेष्ठले फरकधारसँग भने, 'भारतीयहरुलाई पनि म्यासेज दिन खोजिएको देखिन्छ। यो धार्मिक आस्थाको कुरा त हो नै तर यसलाई उहाँले राजनीतिक फाइदाका लागि चालेको कदमका रुपमा हामीले बुझ्नुपर्छ।'

नेपालमा करिब ८० प्रतिशत जनसंख्या हिन्दुहरुको रहेको बताइन्छ। यस्तोमा प्रधानमन्त्रीले बहुसंख्यक नेपालीको समर्थन लिन खोजिरहेको देखिएको उनले बताए। 'हिन्दु राज्यको कुरा चुनावी एजेन्डा पनि हुन सक्छ। हिन्दु राज्यको पुन:स्थापना र राजसंस्थाको कुरा हामीले उठाउँदै आएका हौँ', उनले भने, 'यो 'वादेवादे जायते तत्वबोध'  भनेजस्तै हो। महाकवि देवकोटाले पनि अन्तिम अवस्थामा भगवान् श्रीकृष्णलाई सम्झिनुभएको थियो।'

प्रधानमन्त्रीको यो कदमलाई राप्रपाले सकारात्मक रुपमा लिने श्रेष्ठले बताए।  'हामीले हिन्दु राज्यको मुद्दा उठाउँदै आएका थियौँ। यही मुद्दा लिएर हिँडेका राजनीतिक शक्ति भएकाले सकारात्मक रुपमा लिएका छौँ', उनले भने, 'भोलिका दिनमा सबै यही बिन्दुमा आइपुग्छन्। ईश्वरको नाममा सपथ नखाने पनि यही बिन्दुमा आइपुगेका छन्। अलिक पर हेर्दा ध्रुवीकरण बढ्दै गएर यसले चुनावी सहकार्य पनि गराउन सक्छ।'

नेताहरु के भन्छन्? 

प्रधानमन्त्रीको पशुपति यात्रालाई केही मानिसले आलोचनाको विषय पनि बनाएका छन्। दाहाल-नेपाल नेकपाका नेताहरुले प्रधानमन्त्रीको पशुपति यात्रालाई शासन ढल्दै गरेका बेला मठमन्दिर धाउने राजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन्। 

दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री ज्ञानेन्द्र शाहजस्तै ओलीको पनि नासिने बेला आएकाले मन्दिर धाउन थालेको तिखो प्रतिक्रिया दिएकी छन्। 'तत्कालीन राजा ज्ञानेन्द्र शाहका कारण राजतन्त्र नासिँदै थियो, ठीक त्यही बेला उनले  'नागरिक अभिनन्दन' खाँदै देशभरका शक्तिपीठ धाउँदै गरेको खूब याद आयो खड्गप्रसाद शर्मा ओलीले शक्तिपीठ धाएको देखेर', उनले कडा कटाक्ष गर्दै भनेकी छन्, 'अब उनको दिनगन्ती सुरू भयो। कागजी तानाशाह ढल्न समय लाग्दैन।'

पाप पखाल्न गए :  मिश्र 

प्रधानमन्त्रीको पशुपति यात्रालाई विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पाप पखाल्ने प्रयास भनेका छन्। मिश्रले किसानहत्यारासँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्‍याएको आँच, सबै पापका लागि प्रायश्चित गर्न प्रधानमन्त्री पशुपतिनाथ गएको खरो टिप्पणी गरेका छन्। 

'ओली पशुपतिनाथ ‘संकल्प’ पूजाका लागि नगई हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्‍याएको आँच र सबै पापका लागि प्रायश्चित गर्न गएका हुन्', उनले भनेका छन्, 'राज्य कोषको दोहन, भ्रष्टाचारका कारण विदेशबाट लाश बनेर फर्किन वाध्य नेपाली, केही लाख रूपैयाँ पाउन काठमाडौँ आएर मर्ने किसान, हत्याराहरूसँग गरेको साँठगाँठ, देशको स्वाभिमानमा पुर्‍याएको आँच, सबै पापका लागि प्रायश्चित गर्न पनि गइन्छ।'

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार २०:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया