जटिल बन्दै भूराजनीति : शक्ति राष्ट्रको तानातानमा नेपाल
नेकपा विभाजनले अस्थिरता बढ्ने चिन्ता

५ पुसमा प्रतिनिधिसभा विघटनपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले पटक पटक नेपालको भूराजनीति जटिल बन्दै भएको बताएका छन्। संसद विघटनपछि भट्टराईले मात्रै यो विषय उठाएका होइनन्। कुटनीतिक तथा राजनीतिक क्षेत्रका अन्य कयौँले यसलाई गम्भीरतापूर्वक उठाएका छन्। 

भारत र चीन जस्ता ठूला देशबीचमा रहेको नेपाल संयुक्त राज्य अमेरिकाका लागि पनि उत्तिकै रणनीतिक र सामरिक क्षेत्रमा पर्छ। कूटनीतिक मामिलाका जानकारहरुले पछिल्लाे समयमा चीन झन् शक्तिशाली रुपमा विश्व मञ्चमा प्रकट हुन थालेपछि परम्परागत कूटनीतिक आधार क्षेत्रहरुमा विभिन्न परिवर्तन आएका छन्। चीनको शक्ति बढ्दै जाँदा विश्वका राजनीतिक परिदृश्य पनि फेरिँदैछन्। यसबाट अनेक बाछिटा चौतर्फी देखिन थालेका छन्। 

चेपुवामा नेपाल

डा. भट्टराईले भने जस्तै नेपाल पनि पछिल्लो समयमा भूराजनीतिक चेपुवामा पर्न थालेकै हो त? विश्लेषक अजयभद्र खनाल आन्तरिक अस्थिरता भएको देशमा शक्तिकेन्द्रले विभिन्न रुपमा चलखेल गर्ने बताउँछन्। 

आन्तरिक अस्थिरता भएका ठाउँमा शक्तिकेन्द्रका औपचारिक भन्दा अनौपचारिक संयन्त्रहरु बढी सक्रिय हुने भएकाले यसको प्रभाव पर्ने गरेको खनाल बताउँछन्। ‘यो हाम्रो मात्रै समस्या होइन, विश्वका अन्य देशले पनि यस्तै भोगिरहेका छन्,’ उनी भन्छन्, ‘अस्थिर राजनीति हुँदाको हाम्रै एक दशक अगाडिको अनुभवले पनि धेरै कुरा सिकाएको छ।’

शक्ति केन्द्र सक्रिय



पछिल्लो तीन दिनयता काठमाडौंमा सबैभन्दा सक्रियता अमेरिकन राजदूत र्यान्डी बेरीले देखाएका छन्। अमेरिकन राजदूतले राष्ट्रपति, प्रधानमन्त्री, प्रचण्ड र माधव नेपाललाई भेटिसकेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन्। 

दुई हप्ताअघि मात्रै चिनियाँ राजदूत होऊ याङ्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको समाचार आएको थियो। प्रतिनिधिसभा विघटन भएपछि चिनिया कम्युनिष्ट पार्टीको एउटा उच्चस्तरीय टोली नै काठमाडौं आएर राजनीतिक भेट गरेका थिए। 



चिनियाँ टोली फर्किएको केही दिनपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा गएका थिए। पछिल्लो केही महिनायता भारतले टार्दै आएको ज्ञवालीको भ्रमण प्रतिनिधिसभा विघटनपछि सम्भव भयो।  

कूटनीतिक क्षेत्रका जानकारहरु अहिले अमेरिकी राजदूतको काठमाडौंमा चलिरहेको म्याराथन भेटघाट अमेरिकामा आएको नयाँ प्रशासनको बदलावको रुपमा मात्रै बुझ्न नमिल्ने बताउँछन्। अमेरिकामा एक साताअघि जोन बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। 

कूटनीतिक र सुरक्षा मामिलाका जानकार गेजा शर्मा वाग्लेले नयाँ अमेरिकी प्रशासनको प्राथमिकता मात्रैका लागि काठमाडौंमा अमेरिकन राजदूतको दौडधूप नभएको बताउँछन्। उनले फरकधारसँग भने, ‘अमेरिकी प्रशासनको परिवर्तन पनि एउटा विषय पक्कै हो तर समग्र भेटघाटका अरु पनि महत्वपूर्ण सन्देश हुन सक्छन्।’

नेकपा फुटको असर 

कूटनीतिक र सुरक्षा मामिलाका जानकार वाग्लेले नेपालमा साढे तीन वर्षअघि निर्वाचनमार्फत नेकपा बलियो पार्टी बनेर सरकार आएपछि चीन खुशी भएको बताए। नेकपा बलियो हुँदा चीनको प्रभाव पनि नेपालमा बढेको उनी बताउँछन्। 

‘नेकपा शक्तिमा आएको कुरा अमेरिका र भारतका लागि खुशीको विषय थिएन’, उनी  भन्छन, ‘अहिले अवस्था ठ्याक्कै उल्टो छ, नेकपा विभाजन मुखमा छ भने सरकार पनि कमजोर भएको छ।’ 

यस्तो अवस्थामा नेकपा बलियो हुँदा दुःखी भएकाहरु आज खुशी हुन थालेको उनले बताए। तर नेकपा बलियो हुँदा खुसी भएकाहरु अहिलेको अवस्थामा दुःखी हुनुलाई उनले स्वभाविक प्रक्रिया भनेका छन्। 

चीन कमजोर !

नेकपा विभाजनका कारण सरकार कमजोर भएसँगै नेपालमा तीन वर्षदेखि हाबी हुँदै गएको उत्तरी छिमेकी चीन कमजोर भएको विश्लेषक खनाल बताउँछन्। चीनको प्रभाव घट्दै जाँदा अमेरिका र भारतको प्रभाव फेरि बढ्दै गएको उनले बताए। 

‘ठ्याक्कै यस्तै बेला अमेरिकामा नयाँ सरकार पनि आएको छ। जसका हिजोभन्दा धेरै भिन्न प्राथमिकता हुन सक्छन्’, उनले भने, ‘अमेरिकामा नयाँ सरकार सामान्य रुपमा मात्रै आएको छैन। सैद्धानितक र वैचारिक आधारमा पनि फरकधारबाट आएको छ। यसले परराष्ट्र मामिलामा धेरै नभए पनि केही न केही प्रभाव पर्ने पक्का छ।’

नेपालमा चीनको प्रभाव कमजोर पर्न थालेको आँकलनसहित अमेरिका र भारत आफनो प्रभाव विस्तारमा जुटिरहेको विश्लेषण कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन्। भारत र अमेरिका सक्रिय हुँदा चीन रक्षात्मक बनेको ठम्याइ उनीहरुको छ। 

वाग्लेले प्रतिनिधिसभा विघटनपछि तत्काल उच्चस्तरीय टोली पठाएर नेकपालाई एक बनाउन सकिने कोसिस गरे पनि त्यो सम्भव नभएको  बताए। उनी भन्छन्, ‘अहिले भारत, चीन, अमेरिका तीनवटै देश महत्वपूर्ण रणनीतिक योजनासहित नेपालमा काम गरिरहेका देख्न सकिन्छ।’

प्रभाव रोक्ने प्रयास

वाग्ले र खनाल दुवैजना नेपालमा चिनियाँ प्रभाव रोक्ने कोसिस अमेरिका र भारतले गर्ने बताउँछन्।  सामरिक महत्वको विन्दुमा रहेको नेपालमा चीनको उपस्थिति कमजोर बनाउने योजनाका साथ नयाँ अमेरिकी प्रशासनले काम गर्न सक्ने उनीहरुको बुझाइ छ। ‘यसमा कुनै द्विविधा छैन,’ दुवैजनाको एउटै उत्तर छ।  

उता चीनले नेकपालाई फेरि एकै ठाउँ ल्याएर बलियो बनाउने योजनामै लाग्ने उनीहरुको तर्क छ। नेकपासँग चिनियाँ कम्युनिष्ट पार्टीले नजिकको सम्बन्ध कायम गरेको छ। परम्परागत रुपमा नेपाललाई आफ्नो प्रभाव क्षेत्र मान्ने भारत भने पछिल्लो समयमा कमजोर देखिएको थियो। 

तर संसद विघटनसँगै भारत पनि नेपालमा पुरानो साख फर्काउन सकिन्छ कि भन्ने ध्याउन्नमा देखिएको छ। यद्यपि भारत अहिले पनि प्रष्ट नरहेको विश्लेषकहरू बताउँछन्। खनाल भन्छन्, ‘नेपालबारे भारतमा सत्तारुढ भाजपाको एउटा, सरकारको अर्को र कर्मचारीतन्त्रको फरक बुझाई देखिन्छ।’

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १६:४१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया