ओली : जनयुद्धमा प्रचण्ड दिल्ली बस्थे, प्रचण्ड : ओली श्री ३ भए, अब लखेट्छौँ
माधवको आरोप : गोरु गाढा चढ्नेको भविष्यवाणी फेल खायो

काठमाडौं : सत्तारुढ नेकपा दुई समूहमा विभाजित भइसकेपछि व्यक्तितहमा झरेर गरिने आरोप प्रत्यारोप दिनदिनै बढिरहेको छ। खास गरी प्रधानमन्त्री केपी शर्मा ओलीको निशानामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल परिरहेका छन्। 

२०७४ को आमनिर्वाचनमा एकअर्काबीच हातेमालो गरेर खडा भएकै कारण उनीहरुले बहुमत ल्याउन सफल भएका थिए। तर सत्ताको लडाइँबीच पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेताहरुबीचको दोहोरीले जनतालाई भने बेमौसमी मनोरञ्जन दिइरहेको छ। 

यसअघिको पार्टी एकता नै गलत रहेको भन्ने लाइनबाट यतिबेला तीनजना नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। उनीहरुले एकअर्कालाई सन्तानलाई मात्रै पाले पोसेको देखि नि:सन्तान भएर बाँचेको भन्दै व्यक्तिगत तहमा झरेर गाली गलौजसमेत गरिरहेका छन्। 

बिहीबार पनि काठमाडौंबाट ओली र बुटवलबाट दाहाल-नेपालले दोहोरी खेले। उनीहरुको दोहोरी पार्टीको विचार, सिद्धान्तभन्दा एक अर्कालाई खुइल्याउने तर्फ मात्रै केन्द्रित भएको छ। 

यो दोहोरीमा एकातिर दाहाल-नेपाल दुईजना छन् भने अर्कातिर ओली एक्लै। ओलीले नेता नेपाल र प्रचण्डलाई भष्मासुर, कुलंगार र पिलोसमेत भनिसकेका छन्। अर्कातिर दाहाल-नेपालले पनि ओलीलाई भष्मासुर, श्री ३ महाराज, बयलागडे समेत भनिसकेका छन्। यी तीन नेताको दन्तबझान जनताका लागि केही बेरलाई सस्तो मनोरञ्जनको विषय मात्रै बनेको छ। सिद्धान्त र विचारभन्दा बाहिर गएर व्यक्तिगत आरोप प्रत्यारोपले जनतालाई मनोरञ्जन भए पनि नेपाली समाजमा यी तीनै नेताका कारण विभाजनको बिउ पनि रोपिएको छ। 

बिहीबारको दोहोरी 



आज (बिहीबार) प्रधानमन्त्री ओली आफूनिकट मजदुर संगठनलाई प्रज्ञाभवनबाट सम्बोधन गरिरहेका थिए। अर्कातिर दाहाल-नेपाल बुटवलमा आयोजित विरोधसमा बोलिरहेका थिए। ओलीले प्रज्ञा भवनमा बोलिरहँदा दाहाल-नेपाल ठूलो समूह बटुलेर बुटवलमा चर्को स्वरमा भाषण दिइरहेका थिए। 

बिहीबार संघीय राजधानी काठमाडौं र लुम्बिनीको अस्थायी राजधानी बुटवलबाट चलेको दोहोरीका क्रममा गाली र अपमानका पुरानै शब्द निकालेका थिए उनीहरुले । बुटवलबाट प्रचण्डले ओलीलाई श्री ३ भन्दा ओलीले जवाफमा जनयुद्धका बेला कपालमा तेलवाला जेल लगाएर दिल्लीमा लुकेको आरोप लगाए। अर्कातिर नेपालले ओलीलाई गोरु गाडा चढेर अमेरिका जान खोजेको भन्दै कटाक्ष गरे।



ओलीले के भने ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावमा आफूले जनतालाई नमस्कार गर्दै भोट मागिदिएर प्रचण्डलाई जिताएको बताए। उनले प्रचण्डलाई चटकेको संज्ञा पनि दिए। ओलीले जनयुद्धका समयमा गरिबका छोराछोरी मात्रै जंगलमा बसेको जिकिर गरे। 

'उहाँ (प्रचण्ड) जी हिजो कहाँ बस्नु भएको हो र? जंगलमा त न हिजो बस्नु भएको थियो न आज नै बसेको हो', ओलीले अगाडि भने, 'उहाँ त दिल्ली, नोयडा  र लखनउमा लुकेर बसेको हो नि! कार्यकर्ता र लडाकु मात्रै जंगलमा बस्नु भएको हो।'

ओलीले कार्यकर्तालाई जंगलमा राखेर प्रचण्ड दिल्लीमा बसेको पटक पटक दोहोर्‍याए। 'लडाकु र कार्यकर्तालाई जंगलमा राखेर उहाँ (प्रचण्ड) त जेलवाला तेलले जुल्फी कोरेर दिल्लीमा बस्नु भएको थियो', ओलीले भनेका छन्।

बत्ती निभाएर जिताइयो

ओलीले गत निर्वाचनमा आफूले चितवनमा गएर भाषण गरेर प्रचण्डलाई जिताएको बताए। 'चितवनमा त उहाँहरुलाई २०७४ हामीले जिताएको हो। ठूला ठूला सभामा जिताउनु भन्दै भाषण गरेका थियौँ', उनले भने, 'भोट हालिदिनुस् भनेर जिताएको हो। २०७० मा त बत्ती निभाएर बाकस साटेर जितेको हो उहाँले सिरहामा। त्यो भन्दा अगाडि कीर्तिपुरमा हारिसकेको हो। रोल्पाबाट सिरहा पनि पुगिसक्नु भयो। अब जाने ठाउँ कतै पनि छैन।'

नागरिक समाज

ओलीले दाहाल-नेपालको हैसियत थाहा भइसकेको बताउँदै तीन महिनामै नागरिक समाज बन्ने जिकिर गरे। 'तीन महिनामा प्रचण्ड-नेपाल नागरिक समाज हुन्छन्। पार्टी कोही चलाउने होइन, गरिखाने कुरा होइन', उनले भने, 'हामीले  ठीक गरेका छौँ । अस्थिरतामा जान देशलाई रोकेका छौँ।'

प्रचण्डका आफन्त मालामाल

ओलीले सम्बोधनका क्रममा प्रचण्ड र उनका आफ्नालाई मात्रै समाजवाद आएको बताएका छन्। 'प्रचण्डजीलाई समाजवाद आइसकेको छ। उनका आफन्त र आसेपासेलाई पनि समाजवाद आएछ', उनले भने, 'उनका घरबेटी ठेकेदारलाई पनि समाजवाद आएको छ। तर अरुलाई त आएको छैन। परिवार र आफन्तले पाएको समाजवाद रक्षाका लागि उहाँहरु हुरुक्क हुनु भएको छ।'

ओलीले प्रचण्डको नेतृत्वमा चलाइएको जनयुद्धका लडाकुलाई भने अझै समाजवाद नआएको उनले बताए। 'जनयुद्धमा मारिएका, लडेका, घाइते भएका र बेपत्ता व्यक्तिका परिवारलाई अझै पनि समाजवाद आएको छैन', उनले भने, 'हामी जनताका लागि समाजवाद ल्याउने अभियानमा छौं। गरिब जनताका लागि, लडाकुहरुका लागि समाजवाद ल्याउन खोज्दैछौँ।'

दाहालको जवाफ 

नेकपा दाहाल-नेपाल समूहका प्रचण्डले ओलीलाई पनि कडै जवाफ फर्काए। उनले ओली श्री ३ महाराज बन्‍न चाहेको भन्दै अब धरासायी पार्ने चेतावनी दिए। दाहालले ओलीप्रति लक्षित गर्दै श्री ३ महाराज बन्नेहरूलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए।

ओलीले संविधानको घाँटी रेट्ने काम गरेको आरोप उनले लगाए। ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीको चुट्कीमा अन्त्य हुनेछ’, दाहालले भने, अगाडि भने, 'श्री ३ बन्‍ने ओलीको चाहना समाप्त पारेर बाँकी दुई वर्षभित्र देश समृद्ध बनाउँछौं।'

दाहालले ओलीलाई आफ्नै प्रस्तावमा पार्टीको अध्यक्ष बनाएको बताए । उनले आफैँले समर्थन गरेर प्रधानमन्त्री बनाएको बताउँदै अहिले सामन्ती निरङ्कुशताको एजेन्ट बनेको देख्दा दु:ख लागेको पनि उल्लेख गरे।

नेपाल झन् आक्रोशित

बुटवलमै बोल्दै दाहाल-नेपाल समूहका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आन्दोलन र संघर्ष भनेपछि सधैँ भाग्ने गरेको बताए। नेपालले ओली कामभन्दा धेरै बकबक गर्ने व्यक्ति भएको आरोप पनि लगाए।

उनले २०६२/०६३ को गणतन्त्रको आन्दोलनमा ओली कुनै कार्यक्रममा सहभागी हुन नमानेको जिकिर गरे। 'कुनै पनि कार्यक्रममा सहभागी भएनन्। बोल्न पनि चाहेनन् । राजा ज्ञानेन्द्रलाई फाल्न आन्दोलन गर्ने ? गोरु गाढा चढेर गणतन्त्रमा जाने ? भनेर प्रश्न उठाएका थिए' नेपालले भने, ‘यो संघर्ष सफल हुन सक्दैन भनेर भविष्यवाणी गरे। तर ओलीको भविष्यवाणी २०६३ मा फेल खायो।’ 

केपी ओली अरुको बद्ख्वाइँ मात्रै गर्ने मान्छे भएको आरोप नेपालले लगाए। ‘बद्ख्वाइँ मात्रै होइन अरुको खुट्टा तान्ने काम गर्नुहुन्छ’ नेपालले भने,  ‘उहाँ सधैँ मेरो खुट्टा ताने भन्नुहुन्छ। जहिले पनि खुट्टा मात्रै देख्नु हुन्छ उहाँ।’ 

आफ्नो आलोचना गर्नेमाथि तुच्छ शब्दमा गाली गर्न उत्रिने ओलीले संस्कार सिक्न नसकेको नेपालले बताए  ।‘उहाँलाई रिस उठ्यो पत्रकारलाई गाली गरेको छ । ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई अत्यन्तै तल्लो दर्जामा उत्रिएर गाली गर्‍या छ। नागरिक अभियन्तालाई अपमान गर्या छ । आफ्नै मन्त्रीलाई पनि गाली गर्या छ’ नेपाल भन्छन् ‘उहाँलाई राम्रो कुरा गर्नै आउँदैन । 

उनले २०६२/२०६३ को आन्दोलनमा कहीँ कतै सहभागी नभएका ओलीलाई आन्दोलन सकिएपछि आफैँले उपप्रधानमन्त्री बनाएको नेपालले बताए।

‘२०६३ सालको जनक्रान्तिपछि केन्द्रीय कमिटीमा सबैले विरोध गर्दा गर्दै पनि गणतन्त्र विरोधी मान्छेलाई मैले उपप्रधानमन्त्री बनाएकै हो’ नेपालले भने, 'अलिअलि त ती कुरा पनि बोले हुने नी।’

  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १८:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया