सर्वोच्चको बहसमा कृष्णभक्त पोखरेलले सोधे : म जिउँदै छु कि मरिसकेँ श्रीमान्!
प्रधानमन्त्रीले महेन्द्रकै शैलीमा संसद् विघटन गरेको आरोप

विघटित प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेलले राजा महेन्द्रकै शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसदको घाँटी निमोठिदिएको बताएका छन्। 

सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार भएको सुनुवाइमा बहस गर्दै एकजना रिट निवेदकसमेत रहेका पोखरेलले २०१७ सालमा राजा महेन्द्रले राष्ट्रिय हितको बहानामा जनप्रतिनिधिलाई अपदस्थ गरे जस्तै प्रधानमन्त्री ओलीले पनि जनहित भन्ने शब्द ल्याएको तर्क गरे। 

'राजा महेन्द्रले कू गर्दा पनि प्रतिनिधिसभाले सहयोग गरेन भनियो', अधिवक्ता समेत रहेका उनले भने, 'तर कसरी कुन कुन मुद्दामा प्रतिनिधिसभाले सहयोग गरेन भन्ने उत्तर आजसम्म आएको छैन।'

पोखरेलले निर्वाचनताका नेकपाले बनाएको घोषणा पत्र इजलासमा ल्याएर आएको बताउँदै पोखरेलले ती कुनै पनि पूरा नभएको टिप्पणी गरे। 'घोषणापत्रको प्रति मैले यहीँ ल्याएर आएको छु श्रीमान्। त्यहाँ उल्लेखित कुनै पनि पूरा भएका छैनन्। सरकारले तीन वर्ष खेर मात्रै फ्याँकेको देखियो,' उनले भने, 'चुनावमा आमा म तपाईंको हितमा काम गर्छु, यो गर्छु, त्यो गर्छु भनेर भोट मागिएको थियो। मासिक भत्ता बढाउछौं भनेर ५ वर्षका लागि हामी आएका हौँ । अब फेरि के का लागि दुईतिहाइ बहुमत चाहिने हो? श्रीमान्।'

विघटित प्रतिनिधिसभाका सांसदहरुको हैसियतबारे पनि अदालतमा कुरा उठाए। 'हामी ज्युँदो सांसद हौँ श्रीमान्। हामीलाई कसैले मृत घोषण गर्दैमा मृत्यु हुँदैन', उनले भने, 'मेरो मृत्यु भएको छ छैन श्रीमान्। मृत्यु नभएको मान्छेलाई मृतक घोषण गरिदिने काम प्रधानमन्त्रीबाट भएर राष्ट्रपतिले स्विकार्नु भयो श्रीमान्।'

नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर विघटन गरेका कारण कुनै पनि हालतमा संसद पुन:स्थापना हुनैपर्ने मत बहसका क्रममा राखेका छन्। आज नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ। त्यही  रिटमा निवेदक पोखरेलले बहस गरेका हुन्। अधिवक्तासमेत रहेका पोखरेलले बिहीबार पनि यसमाथि बहस गरेका थिए। 



शुक्रवार पोखरेलसँगै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित चारजनाले बहस गर्ने कार्यतालिका छ। सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो। 



  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १२:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया