अन्तर्राष्ट्रिय बजारमा प्रशस्त ठाउँ पाएको नेपाली फेल्टका वस्तुको निर्यात तथा बजारीकरणमा समस्या भएको व्यवसायीको भनाइ छ । निर्यातको उच्च सम्भावना बोकेको फेल्टका वस्तुको निर्यात तथा बजारीकरणमा सरकारी स्तरबाट खासै चासो नरहेको उनीहरु बताउँछन् ।
नेपाली फेल्ट प्रडक्टले हार्मोनाइज्ड सिस्टम (एचएस) कोड नपाउँदा निर्यातमा समस्या भोग्नुपरेको व्यवसायीले बताएका छन् । नेपालबाट वार्षिक अर्बौ रुपैयाँको फेल्टका उत्पादन निर्यात गर्न सकिने सम्भावना भए पनि सरकारी स्तरबाट जारी हुने एचएस कोड नपाउँदा निर्यात तथा बजारीकरणमा समस्या भएको नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष अमृत खड्काले बताए । सरकारले स्वदेशी वस्तु उत्पादन तथा प्रवद्र्धनमा साखै चासो नदेखाउँदा निर्यातमा समस्या भएको अध्यक्ष खड्काको भनाइ छ ।
वार्षिक ४ अर्बको निर्यात
नेपालबाट वर्षेनी ठूलो परिमाणमा फेल्टका वस्तु निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा करिब १ अर्ब रुपैयाँ बराबरको फेल्टका सामग्री विभिन्न देशमा निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यद्यपि, चालु आव २०७७/७८ को सोही अवधिमा भने उक्त वस्तुको निर्यात वृद्धि भई २ अर्ब १७ करोड रुपैयाँ पुगेको तथ्याङ्कमा उल्लेख छ ।
‘हामीले अहिलेको अवस्थामा पनि करिब ४ अर्ब रुपैंयाको फेल्ट प्रडक्ट अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेका छौं,’ अध्यक्ष खड्का भन्छन्, तर, सरकारी तथ्याङ्क हेर्दा यसको सही विवरण देखिँदैन । यसको मुख्य कारण नै सरकारद्वारा जारी गरिने एचएस कोड प्राप्त नहुनु हो ।’ सरकारी तथ्याङ्कमा फेल्ट प्रडक्ट निर्यातको तथ्याङ्कलाई अन्य वस्तुको तथ्याङ्कसँगै समावेश गरिएको हुँदा यसको यकिन विवरण नदेखिएको उनको भनाइ छ ।
विश्वका ७० देशमा निर्यातको सम्भावना
नेपालबाट वर्षेनी ठूलो परिमाणमा निर्यात हुने वस्तुमध्ये फेल्टका सामग्री पनि अग्रस्थानमा रहेको छ । फेल्टका सामग्रीको मुख्य बजार अमेरिका, युरोप, क्यानडा, तथा जापान रहेको व्यवसायी बताउँछन् । फेल्टका ब्याग, जुत्ता, पर्स, मोजा, टोपीलगायत सामग्री विश्वभर निर्यात हुने गरेको छ भने स्वदेशी बजारमा पनि उत्तिकै विक्री हुन्छ ।
हाल विश्वका २५ देशमा नेपालमा बनेका फेल्ट प्रडक्ट निर्यात हुँदै आएकोमा सरकारी सहयोग हुने हो भने ७० भन्दा बढी देशमा पठाउन सकिने व्यवसायीको दाबी छ । हाल सरकारको सहयोग बिना नै व्यवसायीले आफैले फेल्टका नयाँनयाँ डिजाइनका सामग्री उत्पादन गरी निर्यात गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा फेल्टका थुप्रै वस्तुहरुको माग रहेको हुँदा आगामी दिनमा सरकारले सहयोग गरे वार्षिक करिब १५ अर्ब रुपैयाँको निर्यात गर्न सकिने व्यवसायी बताउँछन् ।
फेल्ट प्रडक्टका लागि छुट्टै एचएस कोड जरुरी
आफैले भेडा पालन गरेर फेल्टका प्रडक्ट उत्पादन तथा निर्यात गर्नुपर्ने नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ बताउँछन् । नेपालमै भेडा पालनको उच्च सम्भावना भएकाले हिमाली जिल्लामा सो कार्यलाई अघि बढाउन सकिने उनको दाबी छ । ‘यदि हामीले नेपालमै उत्पादित भेडाको ऊनबाट फेल्टका वस्तु बनाएर निर्यात गर्न सके अझै बढी भ्यालु एड हुनेछ,’ उनले भने । यसबाहेक सरकारले पनि फेल्ट प्रडक्टका लागि छुट्टै एचएस कोड जारी गर्नु जरुरी रहेको श्रेष्ठको ठम्याइ छ ।
नेपालमा फेल्टको सम्भावना उच्च भएकाले यसको निर्यात बढाउन नीतिगत सहयोग आवश्यक रहेको संघका निवर्तमान अध्यक्ष श्रेष्ठले बताए । ‘विश्व बजारमा अन्य वस्तुको निर्यात घटिरहेको अवस्थामा फेल्टको बढिरहेको छ,’ उनले भने, ‘फेल्टको निर्यात बढाउन सके व्यवसायीलाई मात्र नभई राज्यलाई समेत ठूलो फाइदा हुनेछ ।’ कोरोनाको समयमा पनि फेल्टको निर्यात बढेको जानकारी दिँदै उनले यस क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।
व्यवसायीले निर्यात गर्दा पाउने नगद अनुदान एक हप्ताभित्रै अनलाइन प्रणालीबाट व्यवसायीको खातामा आउनुपर्ने अध्यक्ष खड्काको भनाइ छ । उनका अनुसार हाल उक्त नगद अनुदान व्यवसायीको खातामा आउन लामो समय लाग्ने हुँदा व्यवसाय गर्ने उत्साहमा कमी आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।