घडीमा दिउँसोको सवा २ बजेको छ। पृष्ठभूमिमा डर लाग्दो बिगुल बज्छ। बिगुलको आवाजसँगै मञ्चमा देखा पर्छन्, काँधमा बन्दुक भिरेका सेता बस्त्रधारी दुई सैनिक। सैनिकले सेतो बस्त्रधारी एक युवकलाई च्याप्प समातेर यताउता घुमाउँदैछन्।
एकछिनपछि सैनिकहरुले युवकलाई झुन्ड्याउन ठिक्क पारिएको सुलीमा चढाउँछन्। युवकलाई सुलीमा टाँगिएपछि अलि परको अर्को सैनिकले रस्सी खिच्छ। आफूलाई फाँसी हुँदा पनि युवक थोरै डगमगाएका छैनन्। बरु उनी मुसुक्क मुस्कुराउँछन्। र, त्यही मुस्कानसँगै उनी अस्ताउँछन् सधैँलाई। पृष्ठभूमिबाट फेरि आवाज आउँछ, त्यो फाँसी दिइएका युवकको आवज हुन्छ।
तानाशाही राणाहरूले ज्यानको सजाय सुनाएपछि मलाई दुई वर्षसम्म सेन्ट्रल जेलमा कडा नजरबन्दमा राखियो। सुत्केरी श्रीमती र नवजात छोरीलाई पनि भेट्न दिएनन्। उपचार नपाएर दुवैको मृत्यु भयो। मभन्दा अगाडि कलिली छोरी र श्रीमतीले दर्दनाक मृत्यु भोगे। कयौं नागरिकको हालत यस्तै थियो। नागरिकमाथि अत्याचार गर्ने
राणाहरूको सत्ता त ढल्नु नै थियो...
युवकको कुरा सकिएपछि पुत्र शोकमा विक्षिप्त उनकी आमा देखा पर्छिन्। र, आँखाभरी आँसु पार्दै पीडाले दबिएको स्वरमा भन्न थाल्छिन्, छोरो गुमाउनु परेकोमा मलाई एक रत्ति दुःख छैन, तर मेरो छोराले आफ्नो ज्यानै फाँसीमा चढाएको कुरा हरेक पुस्ताले सम्झिनुपर्छ। मेरो छोरोको योगदान त्यसै खेर जान दिनु हुन्न।
मञ्चबाट आमा विलीन भएपछि युवकको शवलाई सैनिकले हटाउँछन्। त्यसपछि मञ्चमा कालो पर्दा देखिन्छ। कालो पर्दामा लेखिएको छ–साँच्चै हामीप्रति सहानुभूति दर्साउने हो भने जुन उद्देश्यका लागि हामी शहीद हुन लागेका छौँ, हामीले छाडेर जान लागेको आदर्शलाई पूरा गरियोस्। त्यो नै हाम्रा लागि ठूलो श्रद्धाञ्जली हुनेछ।
माथि चर्चा गरिएको दृश्य माघ १६ गते अर्थात शहीद दिवसका दिन टेकुस्थित शुक्रराज वृक्षमुनि मञ्चन गरिएको नाटकको हो। यो त्यही रुख हो, जुन रुखमा झुण्याएर जहानियाँ राणा शासनविरुद्ध बोलेकोमा राणाहरूले विं.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई फासी दिएका थिए। र, आज यो जीर्ण भइसकेको रुखमा प्रतिकात्मक फासी दिइएका मान्छे थिए शुक्रराज शास्त्री।
जीर्ण भइसके पनि खरीको यो रुख जिउँदो इतिहास बनेर उभिइरहेको छ।
०००
विभिन्न कालखण्डमा देशका लागि वीरगति प्राप्त गर्ने शहीदहरुको सम्झनामा आज देरभर विभिन्न कार्यक्रम गरी उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ। शहीद दिवस मनाउन वि.सं २०१२ सालदेखि सुरु गरिएको हो ।
यसै क्रममा ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ नामक नागरिक समूहले पनि शुक्रबार टेकुस्थित शुक्रराज वृक्षमुनि विभिन्न कार्यक्रम गरेर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्यो। नागरिक अगुवाको एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि आन्दोलनरत छ।
संसद विघटन भएको एक सातापछि नै नागरिक समाजले आन्दोलन गर्दै आएको छ। शुक्रबारको यो आन्दोलन यसैको निरन्तरता हो। नागरिक समाजले आज विभिन्न कार्यक्रम गर्दै संसद विघटनविरुद्ध विरोध जनाएको छ।
शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजको परिकल्पनामा आधारित नाटक मञ्चन गरी सुरु गरिएको आजको विरोध प्रदर्शन विभिन्न नागरिक अगुवाहरुले मन्तव्य तथा प्रस्तुति दिएका थिए।
नाटक मञ्चन लगत्तै अभियन्ता तथा आजका लागि कार्यक्रम प्रस्तोता प्रकृति भट्टराई बस्नेतले मन्तव्यका लागि मञ्चमा लेखक नारायण ढकाललाई बोलाइन्।
नारायण ढकालले सर्वप्रथम शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरे। त्यसपछि ढकाल प्रम ओलीको कदमतर्फ केन्द्रित भए। प्रधानमन्त्री ओलीले संविधानलाई च्यातेर चुनावमा जाने निर्णय गर्नु एकदमै गलत भएको बताए।
‘यो एकदमै गलत निर्णय हो। उनले संविधानको बलात्कार गर्ने काम गरेका छन्,’ ढकालले आरोप लगाए।
ढकालले केपी शर्मा ओलीले प्रतिगमन र भ्रष्टाचारको विरुद्धमा बोल्नेहरूलाई राष्ट्रघाती भनेको प्रसङ्गलाई कोट्याए। ‘उनले संसद विघटनविरुद्ध बोल्नेलाई राष्ट्रघाती हुन् भने,’ ढकालले थपे, ‘म पनि संसद विघटनविरुद्ध छु, मलाई पनि जेल हाल।’
ढकालले आफू पटक–पटक जेल गइसकेको बताउँदै फेरि जानु परे तयार रहेको बताए। उनले ओलीसँगको आफ्नो सम्बन्ध धेरै पुरानो भएको बताउँदै राम्रोसँग चिनेको चर्चा गरे।
‘उनी जहाँ पनि आँखा चम्काउने मान्छे हो। उनी नियत ठीक नभएको मान्छे हो,’ उनले भने।
ढकालपछि मञ्चमा सामाजिक अभियन्ता तथा गायक पवित्र कसा देखा परे। कसाले नेवारी भाषाको गीत गाए।
भीड अलि तितरबितर भएको देखेपछि प्रस्तोताले जुक्ति लगाउँछिन्। भन्छिन्, ‘हाम्रो जोश सेलाएको जस्तो देखिन्छ, हामी पनि तितरबितर भयौँ। ल सबैजना संगठित भएर एउटा नारा लगाऔँ।’
लोकतन्त्र
जिन्दावाद !
लोकतन्त्र
जिन्दावाद !!
माहोल गुञ्जायमान भयो।
त्यसपछि प्रकृतिले कार्यक्रममा उपस्थितलाई सडकमै सुतेर विरोध गर्न आग्रह गरिन्। यस प्रकारको विरोधलाई ‘डाई इन प्रोटेस्ट’ भनिने प्रस्तोताले जानकारी दिइन्। करिब एक मिनेट चलेको यो विरोधपछि मञ्चमा देखा परिन् अभियन्ता रश्मिला प्रजापति। उनले पनि नेवारी भाषामै सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिन्।
रश्मिलालगत्तै मञ्चमा आफ्नो कविता सुनाउन आए, अभियन्ता तथा कवि शैलेन्द्र शाक्य। शाक्यले पनि नेवारी भाषामै कविता सुनाए।
कार्यक्रम एक घण्टा चल्यो। कार्यक्रमको अन्त्यमा प्रकृतिले नागरिक समूहका आगामी आन्दोलनमा सरिक हुन आग्रह गरिन्।
यही समूहले माघ १८ गते धर्मभक्त माथेमालाई फासी दिइएको सिफलको रुखमा कार्यक्रम गर्दैछ । २० दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानिएको शोभा भगवतीमा प्रदर्शन गर्ने जानकारी दिइएइको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।