विकासमा पनि राजनीति : प्रधानमन्त्री ओली शिलान्यास गर्ने, मेयर रेणु बहिष्कार गर्ने
स्थानीय सरकारको अधिकारमा संघले हस्तक्षेप गरेको आरोप

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन पुगेका छन्। दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्लामा सरकारको पक्षमा शक्ति प्रदर्शन गर्न ओली त्यहाँ पुगेका हुन्। उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल पनि चितवन पुगेका छन्।

दुवै नेता चितवन आउने भएपछि ठाउँ ठाउँमा दाहाल-नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्। ओली-बादल आउने थाहा पाएपछि दाहाल-नेपालका कार्यकर्ताले सडकमा टायर बालेर अवरोध प्रयास गरेका छन्। 

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री ‘बादल’, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह र राज्यमन्त्री रामवीर मानन्धर पनि चितवन पुगेका छन्। 

ओलीले नेकपा चितवनले केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने छन्। जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा लगायतले सम्बोधन गर्ने छन्। 

ओली शिलान्यास गर्ने, रेणु बहिष्कार गर्ने

जनसभाअघि ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गरेका छन्। उनले पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक-गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गरेका छन्। 



भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटी हल निर्माण सुरु भएको छ। संघीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी यो आयोजना सुरु गरेको हो।

२०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपुर्जा आएपछि सिटी हल निर्माण अघि बढेको हो। यस्तै गोद्राङ्ग-नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ ।



नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ।

उक्त शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यी आयोजना महानगरपालिकाको पहलमै बजेट ल्याएर अघि बढाएको बताएकी छन्।

महानगरको दोस्रो नगरसभाले यी योजनाहरु पारित गरेको उनले बताएकी छन्। प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रममा महानगरसँग समन्वय र सहकार्य नगरिएको भन्दै उनले रोष प्रकट गरेकी छन्।

‘भरतपुर महानगरपालिकालाई निषेध गरेर संघीयताको मूल मर्मविपरीत केन्द्रीकृत शासनको झल्को दिने गरेर संघीय सरकारले गम्भीर विभेद गरेको छ', मेयर दाहालले विज्ञप्ति निकालेरै भनेकी छन्, 'प्रधानमन्त्रीको यो कदमले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएको छ।'

यसअघि शिलान्यासका लागि पटक पटक आग्रह गर्दा सुनुवाइ नभएको उनले बताइन्।  तर राजनीतिक परिस्थिति बिग्रिएको अवस्थामा शिलान्यास कार्यक्रम राखेकाले महानगरले बहिष्कार गरेको उनले बताएकी छन्।

रेणु नेकपा दाहाल-नेपाल समूहकी केन्द्रीय सदस्य हुन्। प्रधानमन्त्रीले गर्ने शिलान्यास कार्यक्रममा दाहाल-नेपाल समूहको चितवन जिल्ला कार्यसमितिले विरोध जनाएको छ। शिलान्यास कार्यक्रम ‘नौटंकी’ भन्दै विरोध गरिने दाहाल-नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित र सचिव कृष्णभक्त पोखरेलले निकालेको विज्ञप्तिमा भनिएको छ।

  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १४:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया