मतपत्र च्यातेर जितेकी मेयर पिकनिक खान गइन् होला : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालमाथि कटाक्ष गर्दै आज पिकनिक खान गएको बताएका छन्। भरतपुरमा आयोजित आफुपक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'यस महानगरपालिकामा अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि! खोइ तपाईंहरुको मेयर यहाँ त छैन?', ओलीले सभामा सहभागीप्रति लक्षित गर्दै भने, 'तपाईंहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्। सायद मेयर पिकनिक खान जानु भयो होला कतै?' 

उनले संघीय सरकारले दिएको बजेटमा बन्दै गरेका सिटी हल र सडक शिलान्यासको प्रसंग पनि जोडे। 'संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त?', उनले भने।

विवाद 

जनसभाअघि ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गरेका थिए। उनले पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक-गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गरेका थिए। 

भरतपुर महानगरपालिका-१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटी हल निर्माण सुरु भएको छ। संघीय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी यो आयोजना सुरु गरेको हो।



२०७५ पुस १७ गते भरतपुर महानगरपालिकाको नाममा उक्त जग्गाको लालपुर्जा आएपछि सिटी हल निर्माण अघि बढेको हो। यस्तै गोद्राङ्ग-नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ।

नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको ६ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ।



उक्त शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड-नेपाल समूहले आपत्ति जनाएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले यी आयोजना महानगरपालिकाको पहलमै बजेट ल्याएर अघि बढाएको बताएकी थिइन्।

  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १६:५६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया