जनताको चाहना संसद पुनर्स्थापना हो, निर्वाचन होइन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले जनताको चाहना र मुलुकको आवश्यकता निर्वाचन नभई प्रतिनिधिसभाको पुनःस्थापना रहेको बताएका छन् । जनता समाजवादी पार्टी जिल्ला कार्य समिति दाङले शनिबार घोराहीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासनको नयाँ बादशाहका रुपमा आफूलाई उभ्याउन निर्वाचनको चारो छरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘वैशाखमा निर्वाचन हुँदैन, नेपाली जनता ढुक्क भए हुन्छ, लोकतान्त्रिक संविधानको हत्या गर्न प्रधानमन्त्री ओलीले निर्वाचनलाई चारोका रुपमा ल्याएका हुन् ।’ तर, त्यो चारोको सिकार प्रधानमन्त्री स्वयं बन्ने उनले बताए । 

ओलीको बादशाह बन्ने सपना नेपाली जनताले तुहाइदिने चेतावनी दिँदै उनले भने, ‘संसद पुनस्र्थापना हुन्छ, नभए हामी प्रतिगमनविरुद्धमा लागेका दल सहकार्य गरेर बहुमतको सरकार निर्माण गर्छाैं । अनि जनता अधिकार स्थापित गर्छाैं ।’ 

संविधानविरोधी व्यक्तिलाई  नै संविधानको रक्षक बनाउँदा संविधानको हत्या भएको उनले बताए । उनले भने, ‘दूध कुर्न बिरालोलाई दिएजस्तै हो ।’ प्रधानमन्त्रीको तानाशाही प्रवृत्तिले मुलुकको स्वाधिनता र सार्वभौमिकता खतरामा पर्दै गइरहेको र मुलुकलाई अन्त्यहीन द्वन्द्वमा फसाउन खोजिएको उनको आरोप छ ।  

प्रतिपक्षमा रहेको कांग्रेस लोकतन्त्रको रक्षाका लागि जागरुक बन्न नसकेको भट्टराईले आरोप लगाए । राष्ट्रवादी शक्ति एकजुट बन्दै संघर्षमा उत्रनुपर्नेमा कांग्रेसले यता न उताको ढुलमुले व्यवहार देखाएको उनको आरोप छ । उनले थपे, ‘रामचन्द्रले विरोध गर्ने, देउवा दाउ कुर्ने के चाला हो ?’ 

प्रतिपक्ष दल मात्रै नभई प्रतिगमनको विरोधमा रहेको प्रचण्ड–माधव नेतृत्वको नेकपा समूहले पनि प्रधानमन्त्रीसँग वैधानिक सम्बन्ध च्युत गर्न नसकेको आरोप उनको छ  । प्रचण्ड–माधवले ओलीसँग निर्णायक सम्बन्धविच्छेद गरेर जनाधिकारका लागि जनआन्दोलनको मोर्चाको नेतृत्व गर्न तम्तयार हुनुपर्ने उनले बताए ।



जनता समाजवादीका कार्यकारिणी सदस्य नवराज सुवेदीले हिजो मुलुकलाई कांग्रेसले र आज कम्युनिस्टले नाजुक बनाउन लागेको आरोप लगाए । ओली राष्ट्रवादी खोल ओढेको तानाशाह रहेकाले त्यसको पछि नलाग्न उनले आग्रह गरे । 



  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १८:४४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया