लेखराजले प्रचण्डलाई मोटरसाइकलमा बोकेको त्यो फोटो
अनुमति थिएन तर लुकेर खिचेका थिए

२०६२/०६३ सालको जनआन्दोलन र नयाँदिल्लीमा भएको १२ बुँदे सहमतिपछि तत्कालीन विद्रोही नेकपा माओवादी खुला राजनीतिमा आउने तर्खरमा थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वमा भएको जनआन्दोलनबाट राजा ज्ञानेन्द्र शाहले घुँडा टेकेसँगै माओवादीले शान्ति प्रक्रियामा आउन खुट्टा उचालिरहेको थियो।

त्यसबेला राज्य पक्षबाट माओवादीलाई भूमिगत जीवनबाट बालुवाटारसम्म अवतरण गराउने जिम्मा गृहमन्त्री कृष्ण सिटौलालाई प्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाले दिएका थिए। शान्ति प्रक्रियामा आउन तयार भइसकेका माओवादी नेताहरुलाई विश्वास दिलाएर कास्कीको सिकलेसबाट काठमाडौंसम्म ल्याउने जिम्मेवारी निर्वाह गरेका थिए सिटौलाले। उनैले कास्की पुगेर त्यहाँबाट प्रचण्ड र डा. बाबुराम भट्टराईलाई बालुवाटारमा अवतरण गराएसँगै माओवादी जनयुद्धले पूर्णविराम पाएको थियो। 

काठमाडौंमा उत्रिएपछि असार २ गते साँझ बालुवाटारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक भएका प्रचण्ड, बाबुराम भोलिपल्ट यहीँ बसे। दुई दिन काठमाडौं बसेका उनीहरुलाई सरकारले अझै विश्वासमा लिनु थियो। असार २ र ३ गते काठमाडौंमा बसेका दुवै नेता सीधै सुदूरपश्चिम जाने भए। जहाँ माओवादीको तत्कालीन संरचना अनुसार बनाइएको भेरी-कर्णाली र सेती-महाकाली ब्यूरोको बैठक राखिएको थियो। सिकलेसबाट काठमाडौं लिएर आएका गृहमन्त्री सिटौलाले फेरि उनीहरुलाई हेलिकोप्टरमै डोटीको बिपी नगर पुर्‍याउने जिम्मेवारी लिए। 

बिपी नगरमा प्रचण्ड

गृहमन्त्री सिटौलासहित प्रचण्ड-बाबुराम असार ४ गते हेलिकोप्टरमा चढेर डोटीको बिपी नगर उत्रिए। हो त्यही बिपी नगरमै पर्खेर बसिरहेका थिए अहिलेका उद्योग मन्त्री लेखराज भट्ट। जो त्यतिबेला माओवादीले जनयुद्धको समयमा बनाएको सेती महाकाली स्वायत्त प्रदेश प्रमुखको जिम्मेवारीमा थिए। 

कैलालीको अत्तरियाबाट पहिले नै बिपी नगर पुगिसकेका थिए लेखराज भट्ट। शान्तिप्रक्रिया सुरु भएसँगै उनी आफ्नो क्षेत्रमा बाबुराम-प्रचण्डलाई स्वागतका लागि तयार थिए। शान्ति प्रक्रियामा आए पनि माओवादी नेताहरुलाई अझै पनि डर थियो। त्यही भएर उनीहरु सकेसम्म चनाखो भएर सेल्टर परिवर्तन गर्दै बस्थे। 



बिपी नगरमा माओ‌वादीले पार्टी कमाण्ड अन्तर्गतका दुईवटा ब्यूरको बैठक राखेकाले प्रचण्ड-बाबुरामसहितका शीर्ष नेता जम्मा हुने नै भए। लेखराज झन् आयोजक नै थिए। बिपी नगरमा भेरी-कर्णाली र सेती-महाकाली ब्यूरोको बैठकसँगै दुई दिने प्रशिक्षण पनि थियो।

उक्त प्रशिक्षणपछि प्रचण्डले भूमिगत राजनीतिबाट फर्किएयता पहिलो पटक बिपी नगरमा जनतासामु भाषण गरेका थिए। दुई दिनसम्म बिपीनगरमा बैठक चलेपछि प्रचण्ड आफ्ना लडाकु दस्तासहित कैलालीको अत्तरिया झरेका थिए। अत्तरिया लेखराजको घर भएको क्षेत्र पनि हो। अत्तरिया झरेपछि प्रचण्डलाई लेखराजको घरमा राखिएन। सुरक्षामा खतरा हुने भन्दै प्रचण्डलाई राति नै सुरक्षित सेल्टर मानिने एकजना छिमेकीको घरमा राखियो। त्यसबेला पनि माओवादीहरु बास बस्न प्रयोग गर्ने घरलाई सेल्टर भन्थे।



फोटो कथा 

जनयुद्धकालदेखि नै 'युद्ध पत्रकार'को परिचय बनाएका भोजराज भाट पहिले नै माओवादी लडाकुको छैटौँ र सातौँ डिभिजनको कैलालीस्थित अस्थायी ब्यारेक क्षेत्र पुगिसेका थिए। त्यहाँबाट अघि बढेका उनी सहजपुर छिचोल्दै खोलै खोला बिपीनगर पुगे। लेखराज भट्टसँग भूमिगत कालदेखि नै राम्रो सम्बन्ध बनाएका कारण उनलाई त्यहाँसम्म पुग्न गाह्रो थिएन।

बिपीनगरमा दुईवटा ब्युरोको बैठक हुने जानकारी पाएपछि काठमाडौंबाट त्यहाँ पुग्न उनलाई सहज थिएन। कैलालीको सुख्खडबाटै माओवादी लडाकुहरुको इन्क्वायरी सुरु हुन्थ्यो। अन्य पत्रकारलाई सहज पहुँच नभए पनि लेखराजसँगको विशेष सम्बन्धका कारण भोजराजलाई बिपी नगरसम्म पुग्न कठिन भएन। 

बिपी नगरको प्रशिक्षणण सकिएपछि अत्तरिया फर्किएका प्रचण्डको उपस्थितिमा असार ६ गतेका लागि पत्रकार सम्मेलन राखिएको थियो। बिहान ९ बजेका लागि पत्रकार सम्मेलन राखिए पनि भोजराज उज्यालो नहुँदै त्यहाँ उपस्थित भइसकेका थिए। 'बिहान पत्रकार सम्मेनल गर्ने भनेर कार्यक्रम राखिएको थियो। पत्रकार सम्मेलन नौ बजे भनिए पनि म उज्यालो नभइ बिहानै पौने ५ बजे त्यहाँ पुगिसकेको थिएँ', भोजराजले फरकधारसँग भने, 'लेखराज वरिपरी मेरो सहज पहुँच थियो, तर अरुलाई सजिलो पहुँच थिएन। त्यहीकारण उनीहरुको फोटो पनि कैद गर्न सफल भएँ ।

प्रचण्डलाई बोकेको फोटो  

बिपी नगर प्रशिक्षणपछि प्रचण्ड माओवादी लडाकुको दलबलसहित बिपी नगरबाट अत्तरिया ओर्लिए। उनी त्यस रात लेखराजको घरमा बसेनन्, उनलाई गाउँकै अर्को घरमा सेल्टर बनाएर राखियो।

त्यसबेला लेखराजले प्रयोग गर्ने मोटरसाइकल थियो कावासाकी बक्सर। उनले एक्सेल पनि प्रयोग गर्थे। बिपी नगरबाट झरेपछि गाउँकै एक छिमेकीको घरलाई सेल्टर बनाएर बसेका प्रचण्डलाई पत्रकार सम्मेलनका लागि लेखराज आफैँले मोटरसाइकल पछाडि राखेर ल्याउँदै थिए।

नेपालमा डिजिटल प्रविधिले फड्को मारिनसकेको अवस्थामा भोजराजसँग त्यसबेला सोनीको सानो डिजिटल क्यामेरा थियो। जसलाई उनले जिन्स पाइन्टको पकेटमा बोकेर हिँड्थे। तर बिपी नगर पुग्दा उनलाई एक दिनसम्म फोटो खिच्न दिइएन। अत्तरियामा प्रचण्ड झरिसकेपछि बाटोमा बसिरेका उनले एउटा मोटरसाइकलमा दुईजना आएको देखे। जसलाई हाँक्ने लेखराज भट्ट थिए भने पछाडि बसेका थिए पुष्पकमल दाहाल प्रचण्ड। संयोग के थियो भने दुवै सर्ट पाइन्टमा सजिएर खुट्टामा चप्पल लाएका थिए।

लडाकुले अनुमति नदिए पनि लेखराजले थाहा नपाउने गरी उनले प्रचण्डसहितको फोटो तत्कालै खिचे। अर्थात् भोजराजका लागि त्यो अप्रत्यासित फोटो थियो। 'मलाई फोटो खिच्न अनुमति दिइएको थिएन, मैले लेखराज-प्रचड दुवैले थाहा नै नपाउने गरी कावासाकी बक्सर मोटरसाइकलमा उनीहरु सवार फोटो तत्कालै खिचेँ', उनले सुनाए, 'तर त्यो फोटो अहिले आएर यति धेरै भाइरल होला भन्ने मलाई लागेकै थिएन। अहिले प्रचण्डसँग लेखराजको सम्बन्ध बिग्रिएका बेला मैले खिचेको फोटो भाइरल भएछ। तर कसैले पनि मलाई क्रेडिट दिएको देखिनँ।'

कसरी बाहिरियो?

लेखराजले थाहै नपाइ खिचेको उक्त फोटोसहित भोजराजले नेपाल साप्ताहिकमा एउटा कभर स्टोरी लेखे। त्यसबेला त्यो फोटो उनीसँग मात्रै थियो।  तर माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भूमिगत अवस्थाका फोटोसहित अन्य दस्तावेज केन्द्रीय कार्यालयमा बुझाउन भनियो।

नेपाल साप्ताहिकमा छापिइसकेकाले लेखराजले भोजराजसँग उक्त फोटो मागे। 'उहाँ (लेखराज) ले त्यो फोटो मसँग माग्नु भएको थियो। मैले सचिवालयमा उपलब्ध गराइदिएको थिएँ', उनले भने, 'सायद उहाँकै सचिवालयबाट त्यो फोटो अरुलाई पनि बाँडियो। एकबाट अर्को हुँदै भाइरल भयो, मैले खिचेको फोटोको क्रेडिट नदिइ चर्चित अनलाइन र अन्य सञ्चारमाध्यमले धमाधम प्रयोग गरे।' जुन फोटो विश्वप्रसिद्ध सञ्चारमाध्यमले पनि प्रकाशित गरेका थिए। 

प्रचण्डको नजरमा दलाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्डले आफूलाई छाडेर हिँडेका नेता लेखराज भट्टलाई शनिबार धनगढीमा आयोजित विरोधसभा दलालको पनि दलाल भएको बताए। आक्रोशित मुद्रामा उनले जनयुद्धका एक सहयोद्धालाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा दलाल भएको टिप्पणी गरेसँगै यो फोटो भाइरल भएको हो। 

अध्यक्ष दाहालले भट्टको नाम नलिई आफैँले हुर्काएको मान्छे छोप्न नसकिने गरी दलाल बनेर गएको टिप्पणी गरे। त्यसपछि उनी अहिले माओवादीकै नेता कार्यकर्ताको आलोचनाको तारो बनिरहेका छन्। 

प्रचण्डले भट्ट अहिले दलालको पनि दलाल बनेर प्रधानमन्त्री ओलीको वरिपरी घुमिरहेको बताएका थिए। 'केपी ओली दलाल हुन्', उनले शनिबार भनेका थिए, 'उनी (लेखराजको नाम नलिइ) दलालको पनि दलाल भए।’

जनयुद्धका समयमा भट्ट सुदूरपश्चिम कमाण्डका नेता थिए। त्यसबेला उनी प्रचण्डका प्रिय पात्र थिए। तर ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रचण्डलाई करिब एक वर्षदेखि छाडिसकेका थिए। उनी पार्टी विभाजनपछि ओली समूहमा आइसकेका छन्। हाल भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन्। उनकै क्षेत्रमा आएका बेला प्रचण्डले दलालको टिप्पणी गरेका हुन्। आफूले लेखराजलाई पटक पटक मन्त्री बनाएर अहिले पछुताउनु परेको पनि बताएका छन्। 

  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १५:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया